माओवादी मिलाउने मिसनः महरालाई साक्षी राखेर प्रचण्ड र विप्लवबीच ‘समाजवादी मोर्चा’को सहमति – Janadesh Daily | ePaper

माओवादी मिलाउने मिसनः महरालाई साक्षी राखेर प्रचण्ड र विप्लवबीच ‘समाजवादी मोर्चा’को सहमति


जनादेश वाच।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा समाजवादी मोर्चा बनाउन सहमत भएका छन् । आइतबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका दुई नेता माओवादी धाराका शक्तिबीच सहकार्य गरेर अघि बढ्न तयार भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जनादेशलाई बताए ।

‘नेकपाका दुई नेता र प्रधानमन्त्रीबीच आज बालुवाटारमा राजनीतिक छलफल भयो, माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता मनन गर्दै तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्ने कुरा भएको छ’ महराले भने, ‘एकता गर्नेगरी कुरा भएको छ। एकताको आधार बिस्तारै बनाउँदै जान्छौं।’

 माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए। उनका अनुसार नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणा सोधेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे। बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको प्रधानमन्त्रीले जानकारी गराएका थिए।

कम्युनिष्ट ध्रुवीकरणमा प्रचण्ड ढुक्क
प्रचण्डले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताएका छन्। आइतबार बेलुका विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए।

फेब्रुअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए। भेटका क्रममा प्रधानमन्त्रीले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकोमा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभारहरू सम्वोधन गरेको बताए।

नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्वोधन गर्न प्रयत्नशील रहेको जानकारी दिए। प्रधानमन्त्रीले आफूहरूकै पहलमा नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्वोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिवद्धता व्यक्त गरे।

उनले नेपालको रूपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत उल्लेख गरे। भेटमा क्युवा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बंगलादेश, इटाली, स्पेन लगायतका देशका कम्युनिस्ट एवं वामपन्थी पार्टीका प्रतिनिधिहरू उपस्थित थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्