हत्याको आठ वर्षपछि देवरलाई जन्मकैद – Janadesh Daily | ePaper

हत्याको आठ वर्षपछि देवरलाई जन्मकैद


भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाउनुभएको हो । अभियुक्तहरु दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ ।

आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए । पटकपटक पेसी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औँ पटक पेसी सारेर फैसला हुन सकेको थिएन । जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते रु २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते रु १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो । जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरुद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा हालसम्म आरोपित दुवै फरार छन् । सिसौको रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको २०७१ चैत १९ गते मृत्यु भएको थियो । छोरा बेचनले घटनाकै दिन २०७२ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा अभियोगपत्र दायर गर्नुभएको थियो ।

फैसलाका लागि मुद्दाका सबै अङ्ग पुगे पनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहनुभएका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गर्नुभयो । अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती विन्दुदेवी राय,उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले भने सफाइ पाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्