टर्की भूकम्पको भयावहः ज्यान गुमाउनेको संख्या ८ हजार नाघ्यो, बन्दरगाहमा आगलागी हुँदा थप क्षति – Janadesh Daily | ePaper

टर्की भूकम्पको भयावहः ज्यान गुमाउनेको संख्या ८ हजार नाघ्यो, बन्दरगाहमा आगलागी हुँदा थप क्षति


जनादेश अन्तर्राष्ट्रिय वाच।

टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८ हजार जना नाघेको छ । अहिलेसम्म टर्कीमा ६ हजार एक सय र टर्कीमा एक हजार ९ सय जनाको ज्यान गएको सीएनएनले जनाएको छ । दुवै देशमा गरेर २५ हजार जना भन्दा धेरै घाइते भएका छन् । टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ । टर्कीमा उद्दार र राहतको लागि संसारभरका कयौँ देशले सामग्रीसहित जनशक्ति पठाएका छन् । हराइरहेका मान्छे खोज्ने कुकुर र अत्याधुनिक उपकरणसहितका विमान टर्कीमा अवतरण गरिरहेका छन् ।

 टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् । अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् ।

टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच, टर्कीको मूख्य बन्दरगाहमा भइरहेको भीषण आगलागीले अर्को समस्या निम्ताएको छ । बन्दरगाहमा लागेको आगोले सयौँ कन्टेनर जलेका छन् । धुवाँको कालो मुस्लोले इस्तानबुलमाथिको आकास ढाकेको छ । आगो निभाउन दर्जनौँ हेलिकप्टर र जहाजको पनि प्रयोग भइरहेको गरिएका छन् । राष्ट्रपतिले यो भीषण आगलागीलाई विपद् माथिको विपद् भनेका छन् ।

यो भूकम्प किन यति विनाशकारी?
टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८ म्याग्निट्यूडको थियो। नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निट्यूडकै थियो।

टर्कीमा परकम्पका रूपमा आएको दोस्रो भुइँचालो ७.५ म्याग्निट्यूडको थियो। यस्तो भुइँचालोलाई ठूलो मानिन्छ। टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो।

त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो। लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे-वाकर भन्छिन्,”विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन्।”

तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन। यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए। घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्