प्रधानमन्त्री प्रचण्डसँग नजिकिँदै माधव-उपेन्द्रः सरकारदेखि समाजवादी केन्द्रसम्मको तयारी! – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्डसँग नजिकिँदै माधव-उपेन्द्रः सरकारदेखि समाजवादी केन्द्रसम्मको तयारी!


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन्। मंगलबार सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो विकसित राजनीतिक परिस्थिति बताएका हुन्। स्रोतका अनुसार सत्ता साझेदार दलभित्र समस्या आउन नदिन प्रचण्ड लागिपरेका छन्।

गैर सांसदका रुपमा गृहमन्त्री बन्ने योजना असफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ। रास्वपाको सत्ता बहिर्गमनपछी कुनैपनि बेला सरकारमा समस्या आउने र त्यसबेला अस्थिरता हुने खतरा देखेर प्रधानमन्त्रीले जसपा र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन प्रयास थालेका हुन्।

तीन नेताबीच मंगलबार बेलुका ७ बजेदेखि २ घण्टा छलफल भएको थियो।

‘रविजीको पार्टी सरकारबाट बाहिरियो, कुनबेला समर्थन फिर्ता लिन्छ टुंगो छैन, कोलिसनभित्र समस्या आउन नदिन जसपा र एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन औपचारिक भनिएको हो,’ भेटबारे स्रोतले भन्यो, ‘भोलि अप्ट्यारो स्थिति नआओस, राष्ट्रपति चुनावको विषयमा पनि छलफल भयो।’ जसपाले प्रचण्डलाई सरकार बनाउन समर्थन गरेपनि सरकारमा सहभागी छैन।

प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको एकीकृत समाजवादी कांग्रेससहितको गठबन्धनमा छ। तर, प्रचण्ड एकीकृत समाजवादीलाई ल्याएर रास्वपाले पार्ने अप्ट्यारो साम्य पार्न चाहन्छन्। प्रधानमन्त्रीको योजनालाई नेकपा एमालेले भने पूरा हुन दिने सम्भावना कम छ।

जसपा सरकारमा सहभागी हुन तयार रहे पनि मन्त्रालयको भागबन्डामा चित्त नबुझ्दा बाहिर बसेको छ। रास्वपाको बहिर्गमनसँगै जसपाको मागअनुसार मन्त्रालय दिन सक्ने सम्भावना बढेको छ। यसैगरी नेकपाकालदेखि आम निर्वाचनसम्म साथ दिएको अर्को शक्ति एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउने अभ्यासमा प्रचण्ड छन्।

‘उहाँहरुलाई सरकारमा ल्याउन कोसिस भैराखेको छ,’ छलफलबारे जानकार ती नेताले भने,‘एमाले र उहाँहरुको कुरा मिलेराखेको छैन।’ एक नेताका अनुसार तीन शीर्ष नेताबीच समाजवादी मोर्चा बनाउने विषयमा पनि छलफल भएको छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्