प्रधानमन्त्रीको सम्वोधन समेटेर बन्यो एकीकृत कार्ययोजना, यस्तो छ प्रचण्डको निर्देशन – Janadesh Daily | ePaper

प्रधानमन्त्रीको सम्वोधन समेटेर बन्यो एकीकृत कार्ययोजना, यस्तो छ प्रचण्डको निर्देशन


जनादेश वाच।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिएको निर्देशन र गरेको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ।

प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो। प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृतमाथि बुधबार दिउँसो सिंहदरबारमा बृहत् छलफलसमेत भएको छ। नेपाल सरकारका मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको सो छलफलमा एकीकृत कार्ययोजनामाथि सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्रीले पुस १९ र २० गते नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, पुस २५ गते सरकारको तर्फबाट जारी नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रममा समाविष्ट विषयहरू, पुस २६ गते प्रतिनिधिभाबाट विश्वासको मत लिनेक्रममा प्रधानमन्त्रीले गरेको सम्वोधनमा उल्लेखित विषयहरू समावेश गरी एकीकृत कार्ययोजना तयार पारिएको हो।

छलफलपछि एकीकृत कार्ययोजनाको संश्लेषण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठन भएको करिव डेढ महिना पूरा भएको भन्दै अब निर्मित योजना कार्यान्वयनमा खरो उत्रिनुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्रीले भने, “आजको छलफल निकै नै फलदायी भयो। छलफलमा सक्रिय सहभागी भई तपाईहरूले निकै गम्भीरताका साथ आफ्ना, टिप्पणी, सुझावहरू राख्नुभएको छ। तपाईहरूको प्रस्तुतिमा जिम्मेवारीवोध देखेको छु, प्रतिवद्धता देखेको छु।”

 “प्रधानमन्त्री कार्यालयका सचिवहरूलाई निर्देशन सम्वोधन हुने गरी कार्ययोजना बनाउन भनेको थिएँ” प्रधानमन्त्रीले भने, “मेरो निर्देशनलाई तपाईहरूले गम्भीरतापूर्वक लिनुभएकोमा खुसी लागेको छ। छोटो समयमा जसरी व्यवस्थित कार्ययोजना प्रस्तुत भएको छ, यसले नेपालको कर्मचारी प्रशासन दक्ष र सक्षम छ भन्ने प्रमाणित भएको छ। अब कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गरेर आफ्नो अब्बलता थप प्रमाणित गर्नुहोस्।”

“यतिञ्जेल हामी समस्या पहिचान गर्ने, त्यसको समाधानको विधि र तरीका के हुन सक्छ भनेर घोत्लियौँ” प्रधानमन्त्रीले भने, “अब छलफलको अध्याय पूरा भएको छ। निर्देशन र सम्वोधनको चरण पूरा भएको छ। अब काम गर्ने चरण आएको छ। कामबाट परिणाम दिने, कामबाटै अब्बल सावित गर्ने समय आएको छ।”

“मैले देशलाई कसरी अगाडि बढाउने भन्ने कुरा यसअघि नै राखेको छु। त्यो स्प्रीडअनुसार नै हामी अगाडि बढ्छौँ” प्रधानमन्त्रीले भने, “मैले गरेका सम्वोधन र दिएका निर्देशन सिंगो देशले हेरेको छ, जनताले त्यसबाट ठूलो भरोसा राखेका छन्। जनताले त्यसको गहन मूल्यांकन पनि गरेका छन्। देश, राजनीति, अर्थतन्त्र सबै कुरा संक्रमणकालबाटै गुज्रिएको छ। अर्थतन्त्र र राजनीतिलाई सम्हाल्नुपर्छ। राष्ट्र र जनताको आवाज सम्वोधन गर्ने ठाउँमा छौँ। तसर्थ, देशलाई निकास दिने जिम्मेवारी हाम्रो हो। हामी सबै मिलेर संकल्प गर्दा देश अगाडि बढ्छ, जस्तासुकै चुनौती चिरेर अगाडि बढ्न सकिन्छ।”

छलफलका क्रममा अब कर्मचारीहरूको मूल्यांकन कामको आधारमा हुने उनले बताए। प्रधानमन्त्रीले भने, “व्यवहारिक योजना बनेको छ। अब यसको प्रभावकारी कार्यान्यवन गर्नुपर्छ। कसले कति काम ग¥यो भन्ने कुराको प्रधानमन्त्री कार्यालयमा चार्ट बनाइनेछ। त्यसका आधारमा मन्त्री र सचिवहरूको मूल्यांकन हुन्छ।”

“डेढ महिनामा सरकारले जे–जति काम गरेको छ। यसले जनतामा आशा जगाएको छ। अर्थतन्त्रमा पुनर्उत्थानको संकेत देखिएको छ। सामाजिक न्याय र समृद्धिको आधार खडा भएको छ। अब त्यसको जगमा उभिएर परिणाम दिनेगरि काम गर्नुपर्छ” प्रधानमन्त्रीले भने ।

“निजामती प्रशासन भनेको स्थायी सरकार हो। तपाईहरूसँग विषयगत ज्ञान र सीप छ। तपाईहरूको योग्यता र सहयोगका आधारमा सरकार सफल हुन्छ” प्रधानमन्त्रीले भने, “राम्रो कार्ययोजनाले परिणाम पनि राम्रो दिनुपर्छ। साधनस्रोतको उपलब्धता, त्यसको व्यवस्थापन, अन्तरनिकाय समन्वय पनि प्रभावकारी बनाएर लैजानुपर्छ।”
छलफलका क्रममा प्रधानमन्त्रीले नेपाल सरकारका मन्त्रीहरू जिम्मेवार भएर काम गर्नुपर्नेसमेत बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्