यसरी मनाइयो पेरिसडाँडामा जनयुद्ध दिवस (तस्वीरसहित) – Janadesh Daily | ePaper

यसरी मनाइयो पेरिसडाँडामा जनयुद्ध दिवस (तस्वीरसहित)


नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी माओवादीले दिवस मनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको छ । जनयुद्ध दिवस माओवादी घटकहरूले आज विशेष कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै उनले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको बताए।

जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले यसलाई वैधानिक तवरबाट स्थापित गरिनुपर्थ्यो । ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन सार्वजनिक विदा दिने निर्णय गरियो ।’

‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो क्याबिनेटबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन । यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।’

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले १ फागुन २०५२ मा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्