प्रचण्डको सत्ता कति सुरक्षित, गगन थापाले गरेको प्रक्षेपण र अहिले दिएको समयसीमाको अर्थ के ! – Janadesh Daily | ePaper

प्रचण्डको सत्ता कति सुरक्षित, गगन थापाले गरेको प्रक्षेपण र अहिले दिएको समयसीमाको अर्थ के !


जनादेश वाच।

सत्ता पक्षीय दलहरूबीच असन्तुष्टि बढ्ने जोखिमका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन्। पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले झन्डै दुई महिनामा तीन वटा सहयात्री दलले छाडेपछि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिएर बसेका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।

अहिले नै मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने आशङ्काका कारण प्रधानमन्त्रीले महत्त्वपूर्ण मन्त्रालय पनि आफैले लिएर बसेका हुन्। विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री एक ढङ्गले बलियो अवस्थामा पुग्ने र त्यसपछि विस्तार पनि सहज हुने माओवादी नेताहरूको बुझाइ छ।

गगनको सन्देश र संकेत
‘१० पुसमा बनेको सत्ता गठबन्धन भत्किएर १० फागुनमा चुनाव अगाडिको ५ दलीय गठबन्धन ब्युँतिन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले १ फागुनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा यस्तो भाषण गर्दा धेरैले अस्वाभाविक मानेका थिए । एउटा जिम्मेवार नेताले निकै दाबीका साथ किन यसरी बोले भनेर उनको भनाइलाई अस्वाभाविक मान्ने धेरै थिए । किनकी १० पुसमा बनेको सत्ता गठबन्धनमा केही खटपट आए पनि दुई महिनामै भत्किहाल्ला भन्ने धेरैलाई लागेको थिएन ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर माओवादीलाई विश्वासमा लिन खोजे पनि एमाले गठबन्धनबाट बाहिरिहाल्ला भन्नेमा कोही पुगेका थिएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही न केही विकल्प ल्याएर सत्ता गठबन्धन टिकाउँछन् भन्ने पनि उत्तिकै थिए । तर, ठ्याक्कै १० फागुनमा होइन १३ फागुनमा राष्ट्रपतिमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएपछि तत्कालीन गठबन्धन भत्कियो । ठ्याक्कै दिन नमिले पनि उनको भविष्यवाणी भने सही सावित भयो । माओवादीले १० पुसको सहमतिमा धोका दिएको भन्दै १५ फागुनमा एमाले सरकारबाटै बाहिरियो ।

गगनले १ फागुनमा १० दिनमा गठबन्धन भत्किन्छ मात्रै भनेका थिएनन्, पुरानो ५ दलीय गठबन्धन ब्युँतेर ५ वर्ष संयुक्त सरकार गठन बन्छ र स्थिरता एवं समृद्धि लाग्छ पनि भनेका थिए । २५ फागुनमा चुनावअघिको पुरानै गठबन्धनका दल एक ठाउँमा उभिएर कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गराएलगत्तै गगनको बोली फेरिएको छ । नागरिकमा धैर्यताको अभाव रहेको भन्दै थापाले ५ महिनामाको नयाँ भाका सारेका छन् । यस अवधिभित्र सरकारमा बसेर डेलिभरी दिनसक्ने ग्यारेन्टी गर्नुपर्ने उनले बताएका छन् । नागरिकलाई भरोसा दिलाउन नसकिए गठबन्धनमा संख्या भए पनि अर्थ नहुने उनको भनाइ छ ।

हामीसँग स्रोतसाधनको अभाव छ, तर त्योभन्दा धेरै समयको अभाव छ । हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गर्नुभएको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौं । अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ,’ थापाले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा आइतवार भनेका थिए, ‘हामीसँग नागरिकलाई आशा जगाउनका लागि ५ महिनाको समय मात्रै छ । अबको ५ महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ, भन्ने अनुभूति गराउन सकिएन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि यसले केही अर्थ राख्दैन ।’ प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएर सरकार पुनर्गठन नगर्दै थापाले चुनौतीपूर्ण सबाल उठाएर दबाब बढाएका हुन् ।

कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्केपछि नयाँ गठबन्धन बनाउन थापाले पनि निकै मेहनत गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको दूतको रूपमा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि पटक–पटक वार्ता गरेका थिए । थापाले कांग्रेसले सत्ता सञ्चालन र गठबन्धनमा धोका नदिनेमा प्रधानमन्त्रीलाई आश्वस्त गराएको बताइन्छ ।

उनले प्रधानमन्त्री गठबन्धनको हैन, सरकारको नेता हुनुपर्ने पनि बताए । ‘हामी गठबन्धन सरकारको अभ्यास गरिरहेका छौं, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न मैले देखिरहेको छु,’ थापाले भनेका थिए, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्छ ।’

५ महिनाको भाका खबरदारी कि सूचना ?
प्रमुख दलका जिम्मेवार नेता थापाको यो भनाइले पनि गठबन्धन सरकार कति संयम र कुशलतापूर्वक चलाउनुपर्छ भन्ने सन्देश दिन्छ । एकातिर गठबन्धन गर्ने र अर्कातिर खेल्ने अभ्यास भएका प्रधानमन्त्री प्रचण्डलाई थापाले सचेत गराएको हुन सक्ने कतिपय बताउँछन् । राजनीतिक विषयका जानकार शंकर तिवारी गगन थापाले गठबन्धनको आयुको कोणबाट भन्दा पनि नागरिकको धैर्यता विस्फोट हुनुभन्दा अगाडि नै सरकार सचेत होस् भनेर बोलेको हुनसक्ने टिप्पणी गर्छन् ।

‘चुनावपछि सरकार गठन भएको तीन महिला पुग्न लाग्दा गठबन्धन बन्ने, सरकार बन्नेजस्ता प्रक्रियामा नै मुलुकको समय समय खर्च भएको छ । सेवा प्रवाह र सुशासन, अर्थतन्त्रको सुधारमा कुनै काम भएको छैन । यसैले जनताको धैर्यता जतिखेर पनि विस्फोट हुन सक्छ भनेर थापाले समयमै सचेत हुनुपर्छ भन्नुभएको हो,’ उनी भन्छन्, ‘केपी ओलीलाई २०८४ पुग्दा छलफल गरौंला भनेर गठबन्धनको कित्ता उहाँले क्लियर गरिसक्नुभएको छ । यसमा अडिग हुनुुहुन्छ । कोरोना र डेंगुको कालमाजस्तै अहिले सरकारमा नभए पनि महत्त्वपूर्ण दलको नेताको नाताले सचेतना र खबरदारी गराउनुभएको हो । प्रधानमन्त्री र मन्त्री नबरालिऊन्, नागरिकमा आशा र विश्वास बढाऊन् भनेर नेताहरूले यसरी खबरदारी गरिरहनुपर्छ भनेर ५ महिनाको कुरा गर्नुभएको हो ।’

नागरिक पंक्तिलाई उत्साह भर्न, सकारात्क बनाइरहन प्रत्यक्ष सरकारमा नभए पनि दबाब बढाउनुपर्ने तिवारी बताउँछन् । माओवादीसँग सम्बन्ध तोडिएर विपक्षी कित्तामा पुगेको एमालेले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि यो गठबन्धनको उपादेयता सकिने बताउँदै आएको छ । यति मात्रै होइन, एमाले अध्यक्ष केपी ओलीले नै ‘कांग्रेस र एमाले मिल्नै हुँदैन भनेर कहीँ पनि नलेखिएको’ भन्दै नयाँ गठबन्धनको प्रयास हुनसक्ने संकेत गरेका छन् ।

१० पुसमा एमाले र माओवादी मिल्दा अन्य साना दल पनि सत्ता गठबन्धनमा लाइन लागेर उभिएका थिए । जब माओवादी र एमालेबीच फाटो आएर कांग्रेस मिसियो साना दल पनि फेरि नयाँ समीकरणमा जोडिए । एमाले र माओवादीसँगै रहेका साना दल सबैजसो राष्ट्रपति चुनावमा कांग्रेसको खेमामा उभिए । तर, गठबन्धनले आकार नलिँदै सरकार र सत्ताका लागि साना दलले बार्गेनिङ बढाइसकेका छन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति दलले मोर्चा नै बनाएर प्रदेशदेखि केन्द्रसम्मै गठबन्धनसँग बार्गेनिङ गर्ने तयारी गरेका छन् ।

जसपाले मधेशमा मुख्यमन्त्री र केन्द्रमा उपराष्ट्रपति पाएपछि मोर्चा बनाएर उनीहरूभन्दा ठूलो दल बन्ने तयारीमा समेत यी दल लागेका छन् । प्रतिनिधिसभामा उपेन्द्र यादव नेतृत्वको जसपाको १२ सीट छ, तर यी दल मिलेर १४ बनाउने र सरकारमा महत्त्वपूर्ण हिस्सा खोज्ने तयारीमा छन् । यही गणितका आधारमा सरकारमाथि दबाब बढाउने नीति उनीहरूको देखिन्छ । राजनीतिक ध्रुवीकरण बढाउने र सत्ता एवं शक्तिमा टिक्ने उनीहरूको तयारी छ । सरकारका जान लालयित भएका जसपा र नेकपा एसलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने अवस्थामा प्रचण्ड छन् । नयाँ गठबन्धन बने पनि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, विश्वासको मत, सरकार पुनर्गठन जस्ता प्रक्रियागत कामबाट नतिजा दिने कामतर्फ अगाडि बढ्नुपर्ने चुनौती प्रधानमन्त्री प्रचण्डलाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्