नेपाल उद्योग परिसंघको पहलमा नेपाल–चीन लगानी तथा विजनेस सम्मेलन आयोजना – Janadesh Daily | ePaper

नेपाल उद्योग परिसंघको पहलमा नेपाल–चीन लगानी तथा विजनेस सम्मेलन आयोजना


नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा ‘नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३’ आयोजना गरिएको छ । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’ ले समुद्घाटन गरेका हुन् ।

उनले फोरमले नेपाल चीनको विद्यमान व्यापारिक सम्बन्धलाई सुदृढ गर्न, आर्थिक तथा व्यापारिक साझेदारीका नयाँ क्षेत्रहरू खोज्न उत्कृष्ट अवसर प्रदान गर्ने बताए । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार रहेको भन्दै प्रधानमन्त्री दाहालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन भएकोे बताए ।

“हाम्रा छिमेकीहरूले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीको स्तरवृद्धि गरी नेपालको विकास र समृद्धिको अवसरका फराकिलो मार्गहरू खोल्नेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने, “हामी हाम्रा छिमेकीहरूको विशाल बजारहरूमा हाम्रा उत्पादनहरूको सजिलो र वृहद बजार पहुँचको आशा गर्छौं ।”

साथै उनले नेपालले लगानी प्रणालीमा ठूला सुधारहरू गरेको भन्दै प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन र संरक्षण गरेको बताए । उनले जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले नेपालको कानूनले लगानीबाट कमाएको आम्दानी लैजान कुनै समस्या नरहेको भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव नगरिने समेत बताए ।

प्रधानमन्त्री दाहालले नेपालको चीनसँगको बढ्दो व्यापार घाटा र चीनबाट आएको एफडीआईको प्रतिबद्धता र वास्तविक लगानीमा देखिएको कमीका केही समस्या यस्ता फोरमले व्यावहारिक समाधानका साथ सम्बोधन गर्ने प्रयास गर्नुपर्ने पनि बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई देशको हितमा पारस्परिक सम्बन्धलाई मजबुत बनाउन तथा नयाँ व्यापारिक सम्पर्क स्थापित गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको बताए ।

नेपालको लागि चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै अध्यक्ष अग्रवालले उत्पादनमुलक उद्योग, सूचना प्रविधि, सिमेन्ट, पर्यटन, जलविद्युतलगायतका क्षेत्र लगानीका लागि अत्यन्त उपयुक्त रहेको बताए । पूर्वाधार एवं निर्माणका क्षेत्रमा र उद्योगहरुमा भएको चिनियाँ लगानी सफल रहेको र थप चिनियाँ लगानी खोजिरहेको उनले बताए । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले नेपालमा चिनियाँ लगानी बढ्ने विश्वास उनले व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदुत छन् सोङले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताए । स्वच्छ ऊर्जा, जलविद्युत, विद्युतीय अटोमोबाइल लगायतका नयाँ विकासमा लगानी गर्न आवश्यक रहेको बताए । नेपालले चीनमा निर्यात विस्तार गरेको भन्दै उनले दुई देशबीचको सीमाहरुमा दुईतर्फी व्यापार र यात्रु आवागमन पुनः सुचारु गर्न सक्दो प्रयास गरिरहेको बताए ।

नेपाल चिनियाँ नागरिकका लागि सबैभन्दा आकर्षक गन्तव्य रहेको भन्दै उनले कोडिभ १९ पछि मार्च १५, २०२३ देखि चीनको समूह भ्रमणको गन्तव्यमा नेपाललाई समावेश गरिएको बताए । यसले सन् २०२३ मा नेपालको सुन्दर परिदृश्य र नेपाली जनताको न्यानो आतिथ्यताको अनुभव गर्न थप चिनियाँ पर्यटक नेपाल आउने उनले विश्वास व्यक्त गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्