युक्रेनविरुद्धको लडाइँ रोक्ने चिनियाँ राष्ट्रपति सीको प्रस्ताव, पुटिनले भने- प्रस्ताव सम्मानपूर्ण – Janadesh Daily | ePaper

युक्रेनविरुद्धको लडाइँ रोक्ने चिनियाँ राष्ट्रपति सीको प्रस्ताव, पुटिनले भने- प्रस्ताव सम्मानपूर्ण


जनादेश अन्तर्राष्ट्रिय वाच।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको छ । राष्ट्रपति सीले चीन र रुस राम्रो रणनीतिक साझेदार मुलुक भएको भन्दै यो सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताएका थिए । यसबाट रुस पनि समृद्ध हुने सीको भनाइ थियो ।

सीलाई स्वागत गर्दै पुटिनले भनेका छन्, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा तपाईं र सबै चिनियाँ मित्रहरु अन्तर्राष्ट्रिय मुद्दाहरुमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ ।’

उनीहरुबीच रुसको आगामी चुनावबारे पनि कुराकानी भएको थियो । सो क्रममा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा पनि जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । सीले भनेका छन्, ‘मलाई भरोसा छ कि रुसका जनताले राम्रो कामका लागि तपाईंलाई समर्थन गर्नेछन् ।’

पुटिन सन् २००० मा रुसको राष्ट्रपति चुनिएका थिए । दुई पटकसम्म राष्ट्रपति बनिसकेपछि उनी चार वर्षसम्म प्रधानमन्त्री बने । त्यसपछि फेरि सन् २०१२ मा राष्ट्रपति चुनिए । सन् २०१८ मा फेरि अर्को एक कार्यकालका लागि उनी राष्ट्रपति बने ।

चीन युक्रेन सम्बन्ध
इरान र साउदीबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना हुँदा युक्रेनले दुवै राष्ट्रलाई शुभकामना पनि दिएको थियो । विकसित घटनाक्रमलाई नियाल्दा यतिबेला चीनले रुस र युक्रेनबीचको द्वन्द्व अन्त्य गर्न भूमिका खेल्नसक्ने अनुमान सुरु भएको छ । फुदान युनिभर्सिटीका रूसी मामिला विशेषज्ञ फेङ युजुनका अनुसार रुस र युक्रेनबीच शान्ति वार्तालाई प्रवर्द्धन गर्ने चीनको इच्छा छ । उनी भन्छन्, ‘यद्यपि, यस मुद्दाको समाधान चीनको इच्छा र क्षमताभन्दा स्वतन्त्र छ किनभने यो विषय रुस र युक्रेनको इच्छामा निर्भर गर्दछ ।’

लान्झाउ युनिभर्सिटीस्थित इन्स्टिट्युट फर सेन्ट्रल एसियन स्टडिजका पूर्वनिर्देशक याङ सु पनि चिनियाँ विदेशमन्त्री र युक्रेनी समकक्षीको फोनवार्तालाई सकारात्मक कदम ठान्छन् । उनी भन्छन्, ‘युद्धविराम र शान्ति वार्ताको चीनको प्रवर्द्धन झन् सकारात्मक र स्पष्ट भएको छ जसले द्वन्द्व रोक्न थप सक्रिय भूमिका खेल्नसक्छ ।’

चीन र रुसले बारम्बार आफ्नो व्यापारसँगै हरेक सम्बन्धको सीमा नै नभएको बताउँदै आएका छन् । चीनको रुससँग बलियो साझेदारी छ । यद्यपि, रुसको आक्रमणपछि पनि चीनले युक्रेनसँग सञ्चार र अन्तर्क्रिया कायम राखेको छ ।

रुस र युक्रेन अझै सक्रिय रूपमा युद्धमा छन् भने साउदी र इरानको अवस्था फरक थियो । वासिङ्टनस्थित थिंक ट्यांक संस्था स्टिमसन सेन्टरका चीन कार्यक्रम निर्देशक युन सन भन्छन्, ‘साउदी अरेबिया र इरान वास्तवमा वार्ता गर्न र सम्बन्ध सुधार गर्न चाहन्थे, रुस र युक्रेन भने कम्तीमा अहिलेका लागि वार्ता गर्न चाहँदैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्