पराजय विर्सँदै फेरि संसद छिर्ने उपेन्द्रको रहरः बारा २ मा छैन सजिलो, पहिलो चुनौति जनमत – Janadesh Daily | ePaper

पराजय विर्सँदै फेरि संसद छिर्ने उपेन्द्रको रहरः बारा २ मा छैन सजिलो, पहिलो चुनौति जनमत


जनादेश वाच।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा चर्चित मध्येको एक क्षेत्र थियो, सप्तरी- २। त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतकाबीचको प्रतिस्पर्धालाई ‘नेक टु नेक’ ठानिएको थियो। यद्यपि, त्यहाँ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ राउत र उनको पार्टी फराकिलो मतान्तरणसहित विजयी भयो।

२०७४ मा जितेकै क्षेत्रमा यादव पराजित भएपछि उनले त्यसलाई स्वाभाविक रुपमा लिन सकेनन्। बरु आफूलाई हराउन देशी–विदेशी शक्तिहरूले शक्ति खर्चिएको आरोप लगाए। जसपाका कतिपय प्रभावशाली स्थानीय नेताहरू नै यादवको हारबाट आश्चर्यचकित भए। तर, जनमत पार्टीका नेताहरूले आफ्नो पक्षमा जनलहर रहेको र त्यसलाई यादव र जसपाका नेताहरूले बेवास्ता गरेको टिप्पणी गरे।

यसरी सप्तरी- २ बाट प्रतिनिधि सभामा जान नपाएका यादव आउँदो वैशाख १० मा बारा- २ मा हुँदै गरेको उपनिर्वाचनबाट निर्वाचित हुने तयारीमा छन्। मंसिर ४ मा बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई आफ्नै जोडबलमा उपराष्ट्रपतिमा निर्वाचित गराएपछि यादव त्यहाँबाट उम्मेदवार बन्ने तयारीमा छन्।

बुधबार बसेको जसपा कार्यकारणी समिति बैठकले उपनिर्वाचनबारे छलफल गरेको थियो। बैठकले निर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ। त्यस्तै, स्थानीय समितिलाई सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ। जसपा कार्यकारणी समिति सदस्य राजकिशोर यादवले उपनिर्वाचनको सम्बन्धमा अहिले नै धेरै छलफल नभएको र यो विषय गठबन्धनसँग समेत सम्बन्धित भएकाले त्यहाँ हुने छलफलपछि निर्णय लिइने बताए।

जसपा नेताहरूले सार्वजनिक रुपमा जे बताए पनि बारा-२ मा उपेन्द्र नै उम्मेदवार बन्नेमा उनीहरू ढुक्क छन्। उपेन्द्र निकट कार्यकर्ताहरूले पनि सामाजिक सञ्जालमा सोही अनुसार अभिव्यक्ति व्यक्त गरिरहेका छन्। उपेन्द्रले बारा- २ बाट उम्मेदवार बन्ने संकेत पाइसकेको जनमत पार्टीले पनि आफ्नो रणनीति सुरु गरिसकेको छ। सो पार्टीका अध्यक्ष राउतकै उपस्थितिमा बुधबार मात्रै बाराको कलैयामा आमसभा र पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ। जनमत पार्टीले केही समयअघि नै यो आमसभा गर्ने तय गरेको थियो। तर, त्यतिबेला आयोजना नगरिएको कार्यक्रमलाई बुधबार सम्पन्न गरिएको हो। उपनिर्वाचन हुने सुनिश्चिततासँगै जनमतले आफ्नो कार्यक्रमलाई थप सान्दर्भिक बनाउन खोजेको हो।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफूहरूले बारा- २ मा हुने उपनिर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरेर रणनीति बनाउन लागिपरेको दाबी गरे। ‘पछिल्लो समयमा जनमत पार्टीप्रति मधेसमा आकर्षण पनि देखिएको छ’, साहले भने, ‘त्यही भएर हाम्रो त्यहाँ पनि माग आइरहेको छ। आजको आमसभा र पार्टी प्रवेश कार्यक्रम पनि त्यसकै परिणाम हो।’

मंसिर ४ को निर्वाचनबाट पहिलो पटक संसदीय राजनीतिमा आएको जनमत पार्टीले गएको निर्वाचनमा बारा तथा पर्सा क्षेत्रमा उल्लेखनीय मत ल्याउन सकेको थिएन। तर, निर्वाचनपछि राउत लागातार सो क्षेत्रमा सक्रिय भएर पार्टी प्रवेशदेखि अन्य कार्यक्रमहरू गर्दै आएका छन्।

अर्कोतिर, उपराष्ट्रपति निर्वाचनका क्रममा जनमत पार्टीले लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता गरेको थियो। जनमत पार्टीले बारा- २ को उपनिर्वाचनमा समेत त्यो कार्यगत एकतालाई शक्तिका रुपमा प्रयोग गर्न चाहेको देखिन्छ।

स्वाभाविक छ, जसपा अध्यक्ष यादव बारा- २ को उपनिर्वाचनमा सतारुढ दलहरूको तर्फबाट साझा उम्मेदवार नै बन्ने प्रयासमा छन्। तर, जनमत पार्टीका उपाध्यक्ष साहले केन्द्रमा सरकार बनाउन र सञ्चालनका लागि गठित गठबन्धनले सबै राजनीतिक गतिविधि तय नगर्ने दाबी गरे। ‘गठबन्धनले के गर्छ, त्यो म भन्न सक्दिनँ’, साहले भने, ‘बारा- २ मा हाम्रो उम्मेदवारी हुन्छ भन्नेमा हामी प्रष्ट छौँ।’

जनमतले जसपा अध्यक्ष यादवविरुद्ध उम्म्मेदवारी दिने तयारी गरिरहँदा लोसपा र उन्मुक्ति पार्टीले के गर्छ, त्यो भने प्रष्ट भइसकेको छैन। तर, पछिल्लो समयमा जनमत पार्टीको बढ्दो प्रभावले जसपा अध्यक्ष यादवलाई बारा- २ मा समेत कठिनाइ थप्ने निश्चित जस्तै छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्