प्रचण्ड-ओली फेरि एक ठाउँमा आउन सम्भव छ ? किन बढिरहेको छ नेकपा व्यूँताउने चर्चा – Janadesh Daily | ePaper

प्रचण्ड-ओली फेरि एक ठाउँमा आउन सम्भव छ ? किन बढिरहेको छ नेकपा व्यूँताउने चर्चा


जनादेश वाच।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युताइ दिएपछि अहिले एमाले र माओवादी दुवै अस्तित्वमा छन्। तर नेताहरु बेला बेलामा फेरि नेकपा ब्युँताउनु पर्ने अभिव्यक्ति दिन भने छोडेका छैनन्।

प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ब्युँताउनु पर्ने बताएका थिए। एमालेलाई राष्ट्रपति दिनु परे नेकपा ब्युँताउनु पर्ने उनको प्रस्ताव थियो। एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पछि राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गरेका थिए। योसँगै एमालेसँगको गठबन्धन तोडेर प्रचण्ड कांग्रेससँगको गठबन्धनमा पुगेका छन्।

त्यसपछि नेकपा ब्युँताउने विषय सेलाएको थियो। तर शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फेरि नेकपा ब्युताउन प्रस्ताव गरे। अध्यक्ष नेपालले शुक्रबार बिहान प्रचण्डसँग नेकपा ब्युँताउन प्रस्ताव गरेको सार्वजनिक गरेका हुन्। उक्त प्रस्तावमा प्रचण्ड पनि सकारात्मक रहेको अध्यक्ष नेपालको भनाइ थियो। नेताहरुले सार्वजनिक रुपमा बेला बेलामा नेकपा ब्यँुताउने विषयमा भाषण गरे पनि त्यस विषयमा ठोस कदम भने चालेका छैनन्।

एमालेसँगको गठबन्धन तोडेर प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमाले र माओवादीबीच आरोप प्रत्यारोको शृंखला सुरु भएको छ। यद्यपि उनीहरुमा नेकपा ब्युँताउने विषयमा सैद्धान्तिक विमति भने देखिएको छैन। २०७५ जेठ ३ मा दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएर नेकपा गठन भएको थियो। तर, नेकपा २९ महिना पनि टिक्न सकेन।

अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै सर्वाेच्च अदालतले २०७७ साल फागुन २३ गते ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो। दुई दलबीच एकता भएपछि २०७४ को निर्वाचनबाट नेकपाले बहुमत पाएको थियो। उक्त निर्वाचनमा नेकपाले प्रतिनिधिसभाका २७५ मध्ये १७४ र छवटा प्रदेशमा दुईतिहाइ बढी मतसहित सरकारको नेतृत्व गर्न सफल भएको थियो।

तर विवादकाबीच सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि अहिले दुवै दल पूर्ववत् अवस्थामा सक्रिय छन् भने एमाले विभाजन गरेर माधव नेपालले एकीकृत समाजवादी गठन गरेका छन्। गत निर्वाचनमा राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युताउने प्रस्ताव गरेका हुन्। नेकपालाई ब्युँताउन एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच छलफल पनि भएको थियो। तर त्यसको कुनै परिणाम निस्केको छैन।

बरु माओवादी अध्यक्ष प्रचण्ड एमालेलाई बाहिर राखेर समाजवादी केन्द्र निर्माणमा जुटेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई मिलाएर समाजवादी केन्द्र बनाउने कसरतमा प्रचण्ड रहेका छन्। यद्यपि दीर्घकालमा एमालेसँग सहकार्य हुने सम्भावना भने उनले नकारेका छैनन्। ओली समूह कमजोर भएमा वा अर्को नेतृत्व स्थापित भएमा एमालेसँग पुनः सहकार्य हुने उनको बुझाई छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्