चीन रुस सम्बन्धः कुनै बेला चीनलाई हेप्ने गर्थ्यो रुस, मस्कोमा हप्तौँ कुराइएका थिए माओ – Janadesh Daily | ePaper

चीन रुस सम्बन्धः कुनै बेला चीनलाई हेप्ने गर्थ्यो रुस, मस्कोमा हप्तौँ कुराइएका थिए माओ


जनादेश अन्तर्राष्ट्रिय वाच।

७३ वर्षअघि चीन क्रान्तिका नेतृत्वकर्ता चिनियाँ कम्युनिष्ट पार्टीका प्रथम अध्यक्ष माओ त्से तुङ पहिलोपटक सोभियत संघको भ्रमणमा थिए। त्यहाँ उनको जोसेफ स्टालिनसँग भेट्ने कार्यतालिका थियो। तर स्टालिनले मा‌ओलाई हप्तौँ मस्कोको बाहिरी इलाकाको हप्तौँ एक गेष्ट हाउसमा कुराए। त्यसपछि मात्रै स्टालिन-माओबीच भेटघाट भएको थियो।

तर सात दशकपछि गत साता चिनियाँ राष्ट्रपति सी चिनपिङ रूसको राजकीय भ्रमण गरे, परिस्थिति पूर्ण रूपमा फरक थियो। माओ र स्टालिनले सन् १९५० मा चीन र सोभियत संघबीचको मित्रता, गठबन्धन र पारस्परिक सहयोग सन्धिमा हस्ताक्षर गरेको ७३ वर्षपछि सी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वलाई दुई देशबीचको ‘अभूतपूर्व मित्रता’ देखाए। तर यी दुई देश वैचारिक मतभेद, विचलन, मेलमिलाप र सशस्त्र भिडन्तको लामो बाटो पार गरेर यहाँसम्म आइपुगेका हुन्।

यी दुई छिमेकीहरूको इतिहास लामो र धेरै घटनाहरूले भरिएको छ। दशकौंसम्म, सोभियत संघ र चीन साम्यवादका दुई ठूला ध्रुव थिए, जो सिद्धान्तका आफ्ना आफ्ना व्यख्या र विश्वव्यापी प्रभावको अभ्यास गर्दै धेरैपटक आमनेसामने भए।

सन् १९५० को दशकको शुरुवाती वर्षमा दुई देशबीच सुमधूर सम्बन्ध थियो। १९२७ देखि १९३६ सम्म चलेर बिराम लागेको र १९४५ देखि पुन: सुरु भएर १९४९ सम्म चलेको गृहयुद्धमा चीनले राष्ट्रवादी र कम्युनिष्ट सरकार भएका देशले विश्वका धेरै देशमा प्रभाव पारिरहेको र अन्य देशलाई अधीनमा पारिरहेको देखेको थियो।

यो आश्चर्यजनक कुरा होइन कि चीनको गृहयुद्धमा अमेरिका र सोभियत संघले कुन पक्ष रोजे। चियाङ काई-शेकको राजनीतिक पार्टी कुओमिन्ताङले अमेरिकाबाट आर्थिक सहयोग र हतियार पाएको थियो। अमेरिकाले केही रणनीतिक स्थानको सुरक्षाका लागि आफ्ना ५० हजार सैनिक पनि पठाएको छ। ठीकै त्यसैबेला माओ त्से तुङको चिनियाँ कम्युनिष्ट पार्टीलाई सोभियत रुसको समर्थन थियो।

चीनमा कुओमिन्ताङ राष्ट्रवादी र चिनियाँ कम्युनिष्ट पार्टी साम्यवादी दल थिए। कम्युनिष्ट पार्टी उच्च साबित भइ राष्ट्रवादीहरूलाई ताइवानको टापुमा घचेट्न सफल भए। सन् १९४९ मा माओले जनवादी गणतन्त्र चीनको जन्म भएको घोषणा गरे। मार्क्ससँग मिलेर साम्यवादको सञ्जाल फैलाउन संघर्षरत स्टालिनका लागि यो सुवर्ण अवसर थियो, कम्युनिष्ट चीन संयुक्त राज्य अमेरिकाको प्रभावलाई रोक्न र एसियामा समाजवादी समूह विस्तार गर्न सही साझेदार उनले ठाने।

माओले आर्थिक सहायताको लागि पहिलोपटक सोभियत संघको भ्रमण गरेका थिए। आफ्नो सम्पूर्ण जीवनमा, उहाँले दुई पटक मात्र विदेश भ्रमण गरे। दोस्रो यात्रा थियो मस्कोको। माओलाई गणतन्त्र चीनको पुनर्निर्माणका लागि त्यस्तो देशको जरुरी थियो जो जापान (१९३७-१९४५) विरुद्ध लडेको होस्। अर्थात् उनलाई सोभियत संघको सहयोगको खाँचो थियो। तर स्टालिनले माओको त्यस अभियानलाई सहज हुन दिएनन्।

चिनियाँ राजनीतिका प्रोफेसर, क्याम्ब्रिज विश्वविद्यालयको भूराजनीति केन्द्रका उपनिर्देशक विलियम हर्स्टले स्टालिनले चीनले चाहेको कुरा पूरा हुन नदिएको बताए। उनले भने, ‘माओ आफूप्रति स्टालिनको व्यवहारबाट दुखी थिए, स्टालिनले लामो समयसम्म उनलाई पर्खाइरहे र चीनले चाहेको कुरा पूरा दिएनन्।’ स्टालिनले सहजै नवगठित गणतन्त्र चीनका नेतालाई भेट नदिएको धारणा उनको छ। स्टालिनलाई भेट्न मस्को पुगेका माओलाई उनले सहज भेट दिएनन्। माओलाई मस्कोको बाहिरी क्षेत्रमा रहेको गेस्ट हाउसमा हप्तौँ कुराए। यस अवधिमा माओको आन्दोलनमा केही प्रतिबन्ध पनि लगाइएको थियो।

सोभियत संघ त्यसबेला ठूलो शक्ति थियो। प्रोफेसर हर्स्ट त्यसबेला चीनलाई स्वतन्त्र देश सोभियत रूसले नठानेको बताउँछन्। जसकारण अपमानजनक व्यवहार उसले गरेको ठम्याइ उनको छ। तर पनि अन्तत: दुई नेताबीच भेटको समय जुर्‍यो। चीनलाई आवश्यक सहयोग प्रदान गर्दै ‘साइनो-सोवियत ट्रीटी अफ फ्रेन्डसिप, अलायन्स एण्ड म्यूचुअल असिस्टेन्स’ मा दुई नेताले हस्ताक्षर गरे। यो एक प्रकारको ‘कम्युनिष्ट मार्सल प्लान’ थियो, जसले चीनलाई पश्चिमी देशले लगाएको प्रतिवन्धबाट बच्न मद्दत गर्‍यो।

त्यो समयमा मस्को एउटा ठूलो शक्ति र पद्धति थियो, जसको सिको माओ गर्न चाहन्थे। त्यसबेला चीनमा लागेको नारबाट पनि यो पुष्टि हुन्छ। त्यस समयमा चिनियाँ नारा थियो, ‘आजको सोभियत संघ-हामो भविष्य।’ त्यसबेला मस्कोले चीनलाई सैन्य र आर्थिक सहयोग गरेको थियो। विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्राविधिक उपकरण समेत उपलब्ध गराएको थियो।

यसबाहेक स्टालिनले चीनमा हजारौं इन्जिनियर पठाए, जसले देशमा औद्योगिक सञ्जाल निर्माण गर्न निकै सहयोग गरे। तर सन् १९५८ पछि दुई देशबीच तिक्तता बढ्यो।

अनि साम्यवाद बाँडियो
‘त्यतिबेला चीनले आफ्नो ‘ग्रेट लिप फर्वार्ड रणनीतिका साथ कट्टरपन्थी आर्थिक एजेण्ड पछ्याउने निर्णय गरिसकेको थियो, उता सोभियत संघका नेता ख्रुश्चेभले आफ्नो शक्तिलाई सुदृढ गरी स्टालिनवादीहरूलाई किनारा गर्न सफल भएका थिए,’ हर्स्टले भने।

१९५३ मा स्टालिनको मृत्यु भयो। त्यसपछि सरकार निकिता ख्रुश्चेभको हातमा आयो। स्टालिन कट्टर मानिन्थे। ख्रुश्चेव जसलाई सुधारवादी उदार एक नेताका रूपमा हेरिएको थियो। ‘ख्रुश्चेभ स्टालिनले ल्याएको आर्थिक परिवर्तनलाई उल्टाएर बजारमा आधारित समाजवादतर्फ अघि बढ्न चाहन्थे,’ हर्स्टले भने।

यता माओको नीति भने ख्रुश्चेवको भन्दा ठीक विपरीत थियो। माओको ग्रेट लीप फर्वार्ड नीतिलाई पछि इतिहासकारहरूले ठूलो गल्तीका रूपमा चित्रण गरेका छन्। जसलाई चिनियाँ कम्युनिष्ट पार्टी आफैंले पनि स्वीकारेको छ। चीनको यही नीतिका कारण लाखौंले ज्यान गुमाएका थिए। माओको उक्त नीतिले देशमा द्रूत औधोगिकरणको अवधारणा अघि सार्‍यो। विशेषगरी इस्पात उत्पादनमा जोड दिइयो।

कृषि उत्पादन छोडेर ग्रेट लीप फर्वार्ड नीतिको लागि लाखौं किसान परिचालन गरियो। जसका कारण देशमा भयावह भोकमरीको समस्या देखा पर्‍यो। अमेरिकी विश्वविद्यालयका प्राध्यापक जोसेफ टोरिजियनले चाइना पावर पोडकास्टमा भनेका छन्, ‘राजनीतिक र रणनीतिक मतभेदको गहिरो कारण खोज्ने बानी माओको थियो। उनी त्यस्ता कारणमा आफ्नै वैचारिक आशय खोज्थे। जब उनले ख्रुश्चेभको व्यवार देखे, सोचे सोभियत संघको कम्युनिष्ट पार्टीमा केही गडबड छ। जसलाई उनले संशोधनवाद भनेका छन्।’

पश्चिमा राष्ट्रसँग ‘शान्तिपूर्ण सहअस्तित्व’को सोभियत नेताहरूको नीतिलाई उनले ‘साम्राज्यवादी महत्कांक्षा’को उपज माने। एकअर्काप्रति घृणापूर्ण सम्बन्धका कारण माओ र ख्रुश्चेभबीच जुन खाडल बढ्दै गयो अन्तत: त्यसैले दुई देशबीचको सम्बन्ध टुट्यो। माओ र ख्रुश्चेभको तिक्ततापूर्ण सम्बन्धकै कारण दुई देशबीच सम्बन्ध टुटेको मानिन्छ। दुवैले कूटनीतिक सम्बन्ध तोडेर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमाथि वर्चस्व कायम गर्न प्रतिस्पर्धा बढ्यो। हर्स्ट भन्छन्, ‘सन् १९६० को दशकको उत्तरार्धमा, चीनले सोभियत संघलाई कम्तीमा पनि संयुक्त राज्य अमेरिका जत्तिकै ठूलो खतराको रूपमा देखेको थियो।’

त्यतिबेला मस्कोको पनि चीनप्रति फरक धारणा थिएन। सन् १९६६ मा चीनले सांस्कृतिक क्रान्ति सुरु गर्‍यो, जसमार्फत ठूलो मात्रामा शुद्धीकरण चलाइएको थियो। यसलाई ख्रुश्चेभका उत्तराधिकारी लियोनिद ब्रेज्नेभले अस्थिर र खतरनाकू मानेका थिए। आपसी अविश्वासले दुई देशबीचको सिमानामा धेरै झडपहरू हुन थाले। ती झडप सन् १९६९ मा दुई देशबीचको सबैभन्दा ठूलो सशस्त्र भिडन्तसहित टुङ्गियो। उक्त भिडन्त दुई देशको सिमाना जोडिएको जेनबाओ टापुको एउटा सानो नदीमा भएको थियो।

०६९ मार्चमा चिनियाँ सेनाले सोभियत संघमाथि आक्रमण गरेको थियो, हालसम्म पनि चीनले त्यसको स्पष्ट कारण र फाइदा व्याख्या गर्न सकेको छैन। गयद्यपि, उक्त द्वन्द्वबाट माओले सामाजिक गतिशीलता चाहन्थे, जसले सांस्कृतिक क्रान्ति भई दशकौंको अराजकताको बीचमा एकता पुनर्स्थापित गर्न सकिन्छ भन्ने धारणा उनको रहेको इतिहासकारहरूको विश्लेषण छ।

उक्त द्वन्द्वा दुवै पक्षबाट धेरै मान्छेले ज्यान गुमाए, धेरै हताहत भए। सोभियत संघले चीनले उक्त आक्रमण गर्ला सोचेकै थिएन। न त त्यही वर्षको अगस्ट महिनासम्म देशको अर्को क्षेत्र सिनजियाङसँग सिमाना नयाँ द्वन्द्व हुनेछ भन्ने सोचेको थियो। जोसेफ टोरेजियान भन्छन्, ‘त्यसपछि सोभियत संघले गर्ने गतिविधिबाट चीनलाई लाग्यो कि रूसले आफूमाथि परमाणु आक्रमणको तयारी गरिरहेको छ। परमाणु आक्रमण हुनेमा ढुक्क नभए पनि त्यसका लागि तयार हुनुपर्छ भनेर चीनले पूर्वतयारी गर्‍यो।’

त्यसपछि चीनको मानसिकतामा परिवर्तन आयो। प्रोफेसर टोरिजियन भन्छन्, ‘त्यसपछि चीनले ‘तेस्रो मोर्चा’ नीति सुरु गर्‍यो, जसमा अमेरिका र सोभियत संघबाट हुने आणविक आक्रमणबाट आफूलाई बचाउने रणनीति अँगिकार थिए। देशको दक्षिण-पश्चिम क्षेत्रमा स्थानान्तरणसँगै रक्षाका लागि सबै प्रकारका प्रणालीहरू बनाउनु थियो।’

तर यो रणनीति लामो समय टिक्न सकेन। अमेरिका र सोभियत संघजस्ता महाशक्तिशाली राष्ट्रसँग एकैपटक लड्न असम्भव भएको उसले बुझ्यो। प्रोफेसर हर्स्टलेका अनुसार चीनलाई सोभियत संघविरुद्ध संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न उचित ठान्यो। ‘जसले १९७० र ८० को दशकमा सोभियत संघसँग सम्बन्ध सुधार हुने कुरै भएन।’

हर्स्ट भन्छन्, ‘अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अन्य अमेरिकी राजनीतिज्ञहरूले जस्तो गरेनन्, यसलाई अवसरको रूपमा हेरे।’ सोभियत संघको विश्वव्यापी प्रभाव रोक्न निक्सनले चीन-ताइवान सम्बन्धमा तिक्तता ल्याउनेगरी ताइवानलाई पनि छुट्टै राष्ट्रको मान्यता दिए। जसले ताइवानमा कुओमिन्ताङ गठन गर्‍यो। जसलाई धेरै देशले चीनको सरकार मानेका थिए।

त्यसको एक वर्षपछि १९७२ मा निक्सनले चीनको ऐतिहासिक भ्रमण गरे। १९७९ मा दुवै देशबीच कूटनीतिक सम्बन्ध पुन:स्थापित गरे।सन् १९७६ मा माओको निधन भएपछि चीन नयाँ दिशातर्फ अघि बढेको थियो। देङ सियाओपिङको नेतृत्वले बजारलाई थप खुला बनाएको थियो। सियाओपिङले ‘चिनियाँ विशेषता’ सहितको समाजवादको प्रचलित विचारलाई बढावा दिए। चीन-सोभियत सम्बन्ध विवादको प्रभाव विश्वभरका कम्युनिष्ट पार्टीहरूमा परेको थियो।

यद्यपि, कम्युनिष्ट ब्लकहरूमाथि प्रभुत्व जमाउनका लागि सोभियत र चीनबीच धेरै युद्ध वैचारिक मोर्चामा लडिएका थिए। दुवै शक्तिहरूले कम्युनिस्ट पार्टी र लडाकु समूह वा छापामारहरूलाई प्रभाव पार्न खोजेका थिए, जुन यी पार्टीहरूबाट विश्वका विभिन्न भागहरूमा उभिएका थिए। मेक्सिकोको मिचोकाना युनिभर्सिटीका मिगुएल एन्जलले आफ्नो एउटा लेखमा भनेका छन्, ‘दुई देशबीचको बढ्दो दरार कम्युनिष्ट पार्टीहरूको मुटुमा यतिसम्म प्रवेश गरेको थियो कि धेरै चरमपन्थी समूहहरूले अमेरिकासँगको शान्तिपूर्ण सम्बन्धलाई अस्वीकार गरेका थिए।’

उदाहरणका लागि कोलम्बियामा कम्युनिष्ट पार्टी संकटमा फस्यो र माओवादको प्रभावमा मार्क्सवादी-लेनिनवादी कोलम्बियाई कम्युनिष्ट पार्टी बनाउनको लागि त्यसबाट अलग भयो। यस समूहले पछि एक छापामार समूह, राष्ट्रिय मुक्ति सेना गठन गर्‍यो। अर्जेन्टिना, इक्वेडर, चिली, ब्राजिल, भेनेजुएला र मेक्सिको जस्ता अन्य देशहरूमा पनि मार्क्सवादी-लेनिनवादी गुटमा विभाजन देखियो। पेरुमा माओवादले सेन्डेरो लुमिनोसो जस्ता समूह जन्मिए।

चीन र सोभियतबीच दक्षिणपूर्वी एसियामा वैचारिक द्वन्द्व पनि देखियो। प्रोफेसर टोरिजियान भन्छन्, ‘त्यतिबेला कम्बोडियामा चीन त्यस्तो समूहको समर्थनमा बाहिर आएको थियो जसलाई सोभियत संघले अत्यन्त खतरनाक मानेको थियो।’

सन् १०८० को दशकमा सोभियत संघ चीनका लागि सबैभन्दा खतरनाक शक्ति थियो। जसले चीनलाई अमेरिका र जापानसँग सम्बन्ध सुधार्न प्रेरित गरेको प्रोफेसर हर्स्ट बताउँछन्। १९९१ मा सोभियत संघ विघटन भयो। यसले अन्तर्राष्ट्रिय स्तरमा ठूलो फेरबदल भयो। रुसका नयाँ राष्ट्रपति बोरिस येल्तसिनलाई चीनले त्यति खतराका रूपमा लिएन। येल्तसिन, जसकोको नेतृत्वमा ठूलो निजीकरण भयो र ठूलो शक्तिशाली वर्गको हातमा अधिक शक्ति आयो। रुस पूर्ण पुँजीवादमा प्रवेश गर्‍यो।

चीन र अमेरिकाबीच बनेको गठबन्धन भत्कियो।
सन् २००१ मा रुस र चीनले असल छिमेकी र मैत्रीपूर्ण सहयोगसम्बन्धी सन्धिमा हस्ताक्षर गरे। विलियम हर्स्ट भन्छन्, ‘त्यसबेलादेखि चीनले लगातार विभिन्न शक्तिहरू बीच सन्तुलन खोज्न थालेको देखिन्छ।’ यो क्रममा चीन अमेरिका, रुस र जापानमा मात्रै होइन, भारत र युरोपी मुलुकसँग पनि प्रतिस्पर्धाको प्रयासमा रहेको तर्क उनको छ। पछिल्ला ३० वर्षमा अमेरिका र जापानसँग चीनको सम्बन्ध निरन्तर कमजोर हुँदै गएको छ। पछिल्ला दशकमा उनीहरूको सम्बन्ध थप तिक्ततापूर्ण बनेको छ। हर्स्टले भने, ‘यसले रूस-चीन सहयोगी नभए पनि दुई देशबीच सकारात्मक सम्बन्ध स्थापित हुँदै गएको छ। विश्वमा चीनको एक मात्रै औपचारिक गठबन्धन भएको देश छ, त्यो उत्तर कोरिया मात्रै हो।’

दातृ राष्ट्र नभए पनि चीनका लागि रूस उपयोगी राष्ट्र रहेको विज्ञहरू मान्छन्। ‘रूस अहिले चीनको महत्वपूर्ण सहयोगी बनेको छ। २० वर्षदेखि रूसले चीनलाई उड्डयन उद्योगको विकासमा महत्वपूर्ण प्रविधि सहयोग गरिरहेको छ। उदाहरणका लागि रुसबाट निर्बाध ऊर्जा आपूर्ति हुँदा चीनलाई मध्यपूर्व र अमेरिकासँग विविधीकरण र सन्तुलनमा राख्न मद्दत गरेको छ। चीन र रुस फेरि एकपटक नजिक भएका छन्, तर अब रुसलाई चीनको सहयोग बढी आवश्यक छ। चीन उपभोग्य वस्तुको प्रमुख आपूर्तिकर्ता हो। हाल चीन रूसको व्यापारिक साझेदार पनि हो। युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्धलाई हटाउन सहयोगी राष्ट्र चीन हुनसक्छ।

माओको रुसको ऐतिहासिक भ्रमणको सात दशकपछि दुवै देशको भूमिका उल्टिएको छ। सी चिनपिङ रुस गए, तर अब त्यहाँ न गेस्ट हाउस थियो न लामो पर्खाइ। स्वागतका लागि पुटिनले ओछ्याएका थिए- रातो कार्पेट र मुस्कान।

बीबीसीका लागि पाउला रोजासले लेखेको लेख साभार गरिएको हो- सम्पादक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्