भारतको पक्राउ सूचीमा रहेका अमृतपाल सिंहमाथि नेपालमा समेत निगरानी – Janadesh Daily | ePaper

भारतको पक्राउ सूचीमा रहेका अमृतपाल सिंहमाथि नेपालमा समेत निगरानी


जनादेश वाच।
भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई नेपालको अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ। काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। आइतबार दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो।

विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार दूतावासले फोटोसहित उनलाई सूचीमा राखिदिन भन्दै अनुरोध गरेको हो। दूतावासले पत्र पठाएसँगै सिंहलाई सूचीमा समावेश गरेको उनले बताए। सुरूमा दूतावासले उनको फोटो बिनानै पत्र पठाएको थियो। पछि विभागले फोटो पनि चाहिने भन्दै माग गरेपछि दूतावासले पुन: पत्र पठाएको हो।

सिंह भारतीय प्रहरीको फरार सूचीमा छन्। उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको र अशान्ति मच्चाएको आरोप छ। एनडिटिभीका अनुसार आइतबार मात्रै पञ्जाब प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

लुधियाना जिल्लाको खन्ना शहरमा बस्ने बलवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो। उनले अमृतपाल सिंहका नजिकका साथी तेजेन्दर सिंह गिललाई शरण दिएको प्रहरीको भनाइ छ।

गत शुक्रबार दिल्ली प्रहरी र पन्जाब प्रहरीले सिंहलाई पक्राउ गर्न सर्च अपरेशन नै चलाएका थिए। त्यहीबेला उत्तराखण्डको देहरादुन, हरिद्वार र उद्धमसिंह नगरमा अलर्ट रहन पत्र जारी गरिएको थियो। उनी त्यहाँ आउन सक्ने भन्दै अलर्ट रहन प्रहरीलाई पत्राचार गरिएको थियो। तर दिल्ली प्रहरीले सिंहले देश छाडिसकेको हुनुपर्ने बताएको छ।

सिंह भारतको फरार सूचीमा रहेको खबर बाहिरिएपछि नेपाल प्रहरी पनि अलर्ट रहेको स्रोतले जनाएको छ।

उच्च प्रहरी स्रोतका अनुसार छिमेकी राष्ट्रमा भइरहेको गतिविधिबारे निगरानी राख्ने हिसाबले प्रहरी पनि यसमा अलर्ट रहेको हो। आधिकारिक रूपमा कुनै पत्र भने नआएको स्रोतले बतायो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्