भूराजनीतिक कारणले नेपालमा सुरक्षा चुनौती बढीः प्रधानमन्त्री प्रचण्ड – Janadesh Daily | ePaper

भूराजनीतिक कारणले नेपालमा सुरक्षा चुनौती बढीः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू-राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुनेसक्ने खतराबारे धारणा राखेका हुन् । उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताएका छन् । अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधि पनि सुरक्षा चुनौती रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यसको प्रतिवाद एवं समाधानका लागि राजनीति, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनुपर्ने उनले बताए । उनले चुनौतीहरुको डटेर सामना गर्न नेपाली सक्षम रहेको पनि उनले बताए ।

‘परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहुआयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ ।’ उनले सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरेर आवश्यक पहलकदमी लिन सैनिक अधिकारीहरुलाई आग्रह पनि गरेका छन् ।

राजनीति, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा नै राष्ट्रिय सुरक्षा हो भन्दै उनले यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाएर बुझ्न नहुने बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्