नेपाल चीन ल्हासा बैठकः सचिवस्तरीय निर्णयबाट सीमापार व्यापारको नाका पूरै खोल्ने सहमति – Janadesh Daily | ePaper

नेपाल चीन ल्हासा बैठकः सचिवस्तरीय निर्णयबाट सीमापार व्यापारको नाका पूरै खोल्ने सहमति


जनादेश वाच।

चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा नेपाल–चीन सचिवस्तरीय कार्यसंयन्त्रको पहिलो बैठक सकिएको छ। बैठकमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र तिब्बत सरकारका कार्यकारी उपप्रमुख चेन योङ्ग्सी सहभागी थिए।

बैठक द्विदेशीय जनतालाई आवतजावत गर्न दिने र सीमापार व्यापारलाई पुनः पूर्ण क्षमतामा सुरु गर्नेबारे केन्द्रित भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। बैठकमा द्विदेशीय सीमा व्यापार र सहकार्य, सुख्खा बन्दरगाह, भन्सार सहकार्य, सीमा क्षेत्रको विकास, व्यापार पूर्वाधारलगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ।

दुवै पक्ष अप्रिल १ बाट रसुवागढी-केरुङ नाकाबाट द्विपक्षीय व्यापार र दुवै देशका जनतालाई आवतजावतका लागि आवश्यक सहकार्य गर्न सहमत भएका छन्। त्यसैगरी मे १ तारिखबाट सिन्धुपाल्चोकको तातोपानी-झाङमुबाट दुवैतिरबाट व्यापार र मानव आवतजावत तथा यारी-पुलाङबाट यात्रुलाई हिँड्ने दिने सहमति समेत भएको छ।

यसबाहेक नेपालको आग्रहमा चिनियाँ पक्षले नेपाल-चीन सीमाक्षेत्रमा बहुकार्यमूलक प्रयोगशाला स्थापना गर्न सकारात्मक देखिएको दूतावासले जनाएको छ। चीनले बैठकका दौरान सीमा वारपार विशेष आर्थिक क्षेत्र स्थापना गर्न नेपालले दिएको सुझावको पनि स्वागत गरेको छ।

बैठकमा नेपालले नेचुङ–लिजी सीमा बिन्दुमा नेपालपट्टि पूर्वाधार निर्माणका लागि प्राविधिक र वित्तीय सहयोगको समेत आग्रह गरेकोमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ। चिनियाँ पक्षले मौसमी सीमा व्यापार विन्दु नेपाल–चीन सीमामा खोल्न प्रतिवद्धता जनाएको छ।

बैठकमा दुवै पक्षले दुवै देशले गर्न सक्ने सहकार्यका क्षेत्रबारे पनि गहन छलफल भएको थियो। तिनमा नेपालबाट चीनतर्फ हुनसक्ने कृषि तथा पशुपन्छीजन्य उत्पादन, साइट्रस फ्रुट, ड्राइड मिट र जडीबुटी निर्यातबारे पनि छलफल भएको थियो। वाणिज्य सचिव मरासिनीले चिनियाँ पक्षलाई काठमाडौं-ल्हासा सिधा उडान आवश्यक रहेको बताउँदै चिनियाँ पक्षले कुनै पनि मितिमा जतिसक्दो चाँडो उडान गर्न आग्रह गरेका थिए।

दुवै पक्षले सीमावर्ती जिल्लामा बसोबास गर्ने नागरिकका लागि आवश्यक सहयोग बढाउन जोड दिएको थियो। त्यसैगरी चिनियाँ पक्षले आफ्ना व्यावसायिक समुदायलाई नेपालमा उत्पादन, कृषि र गार्मेन्टमा लगानी गर्न प्रेरित गर्ने जनाएको छ।

बैठकमा नेपाली पक्षतर्फ परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो। त्यसैगरी चिनियाँ पक्षतर्फ तिब्बतको विदेश मामिला कार्यालय, वाणिज्य र भन्सार विभागका उच्च सरकारी अधिकारीहरु सहभागी थिए।

सचिव मरासिनीसहितको टोलीले भ्रमणका दौडान तिब्बत सरकारका प्रमुख यान जिंघाईसँग शिष्टाचार भेट गरेको दूतावासले जनाएको छ। नेपाली डेलिगेशनका लागि प्रमुख यानले रात्रिभोजसहितको सम्मान दिएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्