प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउँदै आजः यस्तो छ मन्त्रालयको भागवण्डा – Janadesh Daily | ePaper

प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउँदै आजः यस्तो छ मन्त्रालयको भागवण्डा


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो सरकारको विस्तार गर्ने भएका छन् । बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो । जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुंगो लागेको जनाउँदै बिहीबार अपराह्न शपथ ग्रहण गराउने गरी भागबन्डा टुंगिएको हो ।

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

सो सहमति पछि प्रचण्ड सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीन वटा मन्त्रालय पाउनु पर्ने जनाउँदै तीन वटा मन्त्रालय नदिएमा नाम सार्वजनिक नगर्ने जनाएका छन् । नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन्।

कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदै छन् । यसैगरी धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले बताएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन् । यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।

यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी सर्वेन्द्रनाथ शुक्लकाे नाम मन्त्री बन्नेमा चर्चामा छ । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्दै छिन्।

यस्तै, जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खान हाल सरकारमा खानेपानीमन्त्री छन्। उनको जिम्मेवारी हेरफेर हुनसक्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्