आर्थिक संकटको असरः पाकिस्तानमा पिठोका लागि भागदौड मच्चिदा ११ जनाको मृत्यु – Janadesh Daily | ePaper

आर्थिक संकटको असरः पाकिस्तानमा पिठोका लागि भागदौड मच्चिदा ११ जनाको मृत्यु


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

पाकिस्तानमा निःशुल्क पिठो लिन गएका ११ स्थानीय व्यक्तिको मृत्यु भएको छ। मुस्लिमहरूको पवित्र महिना रमजानको अवसरमा पाकिस्तानको पञ्जाब प्रान्तमा निःशुल्क पिठो बितरण गरिएको थियो। पिठो लिने क्रममा भागदौड मच्चिदा यो दुःखद घटना भएको स्थानीय न्युज एजेन्सीले बताएका छन्। ज्यान गुमाउनेहरूमा २ जना महिलासमेत रहेको बताइएको छ।

भागदौडको घटना पञ्जाब प्रान्तको ४ वटा जिल्ला साहिवाल, बहाबलपुर, मुजफ्फरगढ र ओकारामा भएको थियो। यी सबै जिल्ला दक्षिण पञ्जाबमा पर्छ। घटनामा ६० घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ। स्थानीय टिभी च्यानल दुनिया न्युजका अनुसार अहिले पाकिस्तानमा १ किलो पिठोको मूल्य १८५ रुपैयाँको हाराहारीमा छ। लाहोरमा एउटा तन्दुरी रोटीको मूल्य ४० रुपैयाँ छ। महंगी तीब्र गतिमा बढेपछि सरकारले रमजानमा गरिब जनतालाई सहज होस् भनेर निःशुल्क पिठो वितरण गरेको थियो। तर, त्यो लक्षितवर्गमा नपुगेको, यसले कालोबजारीलाई उल्टै प्रसय दिएको स्थानीय अखबारको भनाइ छ।

पिठो बोकेर आउने ट्रकको अगाडि मानिसहरूको भिड लाग्ने गरेको र स्थितिलाई नियन्त्रणमा राख्न प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो। मंगलबार यही घटनामा १ महिला र एक पुरुषले ज्यान गुमाएका थिए। पाकिस्तानमा अहिले महंगीको दर ४७ प्रतिशतको हाराहारीमा चुलिएको छ। गत जनवरीमा महंगीको मार २७ दशमलव ६ प्रतिशत थियो। सन् १९७५ पछि पाकिस्तानमा यसरी महंगी बढेको हो। ३१ जनवरीमा आईएमएफ (अन्तर्राष्ट्रिय मनिटरी फण्ड) को टिम पाकिस्तान पुगेको थियो।

आईएमएफले पाकिस्तानलाई ६ अर्ब डलर उपलब्ध गराउन खोजेको थियो, तर ब्याज बुझाउने कुरामा सहमति नजुटेपछि आईएमएफको टिम कुनै सम्झौता नगरी १० दिन पाकिस्तानमा बसेर फर्कियो।

दुई महिनाअघि पाकिस्तानको अर्थमन्त्री रहेका मिफ्ताह इस्माइलले कुनै पनि समय आफ्नो देश डिफल्टर घोषित हुने बताएका थिए। यसका लागि उनले इमरान खान सरकारलाई दोष दिएका छन्। यतिबेला पाकिस्तानको विदेशी मुद्रा सञ्चिती २ दशमलव ६ अर्ब डलर मात्र छ। यति रकमले पुरानो कर्जाको किस्ता तिर्न पनि धौ–धौ परेको छ। नयाँ अर्थमन्त्री इसहाक डारले निकट भविस्यमा चीन र साउदी अरबले पाकिस्तानलाई १३ अर्ब डलरको नयाँ कर्जा उपलब्ध गराउने बताएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्