चुनावको मुखमा कांग्रेसलाई झट्काः अर्थविद् स्वर्णिम वाग्लेद्वारा पार्टी परित्याग – Janadesh Daily | ePaper

चुनावको मुखमा कांग्रेसलाई झट्काः अर्थविद् स्वर्णिम वाग्लेद्वारा पार्टी परित्याग


अर्थविद् डा। स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। उनले इतर समूहका नेता डा। शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

‘पार्टीमा रहन्न भनेर सन्देश पठाउनभएको छ,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘पार्टी परित्यागको घोषणा गर्नुभएको छ।’ वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन्।

उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन्। रास्वपाले सम्भवतस् आजभोलि नै वाग्लेलाई तनहुँ १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय लिनेछ।

​वाग्लेले नेताहरुलाई पठाएको म्यासेजमा सभापति शेरबहादुर देउवाको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको सन्देशमा उल्लेख गरेका छन्। ‘प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ,’ उनले लेखेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि उल्लेख गरेका छन्। ‘यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ,’ उनले भनेका छन्।

वाग्लेले सन्देशमा इतर समूहका नेताहरु निर्णाकयक हैसियतमा आएको अवस्थामा कांग्रेससँग जोडिन सक्ने पनि बताएका छन्। ‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ,’ उनले लेखेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।’

उनले नेता कोइरालालाई पठाएको सन्देश महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मालाई पनि पठाएको बताइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्