लोकसेवाकै परीक्षामा ‘सेटिङ’ : मिलेमतोको आशंकापछि सहसचिवको लिखित परीक्षाको नतिजा रद्द – Janadesh Daily | ePaper

लोकसेवाकै परीक्षामा ‘सेटिङ’ : मिलेमतोको आशंकापछि सहसचिवको लिखित परीक्षाको नतिजा रद्द


काठमाण्डौ,

लोकसेवा आयोगले सञ्चालन गरेको सहसचिवको परीक्षामै ‘सेटिङ’ रहेको पाइएको छ ।

नतिजामा चलखेल भएको आधार देखिएपछि आयोगले बिहीबार राजपत्रांकित प्रथम श्रेणी (सूचना प्रविधिविज्ञ)का लागि लिइएको लिखित परीक्षाको नतिजा रद्द गरेको छ । आयोगले यस सम्बन्धमा छानबिन सुरु गरेको छ ।

आयोग स्रोतका अनुसार एक पदका लागि भएको सो विज्ञापनमा १० जनाले लिखित परीक्षा दिएका थिए । जसमा तीनजना उत्तीर्ण भएका थिए । उनीहरूको गत असारमै अन्तर्वार्ता तय भएको थियो ।

तर, लिखित परीक्षाको नतिजामै मिलेमतोको सूचना आएपछि स्थगित गरिएको थियो । ‘थप छानबिन गर्दा कापी जाँच्ने र परीक्षार्थीबीच मिलेमतोको पर्याप्त आधार देखिएपछि लिखित परीक्षाकै नतिजा रद्द गरेका हौँ,’ आयोगका एक उच्च अधिकारीले भने ।

यसअघि दरखास्त स्वीकृत भएका उम्मेदवार मात्र सम्मिलित हुने गरी परीक्षा पुनः सञ्चालन गरिने आयोगकी प्रवक्ता गीताकुमारी होमागाईंले बताइन् ।

आयोगले विभिन्न क्षेत्रका विज्ञहरूलाई कापी जाँच्न लगाउने गर्छ । परीक्षामा कोडिङ र डिकोडिङ हुने भए पनि परीक्षार्थीले कापी जाँच्ने विज्ञ पत्ता लगाएको हुन सक्ने आशंका गरिएको छ ।

परीक्षार्थी र विज्ञ दुवैलाई आयोगले कारबाहीको तयारी गरेको छ । यसअघि छोरीले दिएको लिखित परीक्षाको कापी बुबाले जाँचेको खुलेपछि आयोगले परीक्षा रद्द गरी बुबा–छोरीलाई नै कारबाही गरेको थियो ।

Source: https://nayapatrikadaily.com/news-details/49188/2020-08-14

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्