जीवनबहादुरहरुसँग सहकार्य गरेर समाजवाद आउँदैन : छक्कबहादुर लामा – Janadesh Daily | ePaper

जीवनबहादुरहरुसँग सहकार्य गरेर समाजवाद आउँदैन : छक्कबहादुर लामा


काठमाडौं । पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट दुई पटक संघीय सांसद भइसकेका नेता हुन् । तर, यसपटक भने लामा कर्णाली प्रदेशसभाका लागि निर्वाचन लडे र नेपाली कांग्रेसका जीवनबहादुर शाहीसँग पराजीत बने । माओवादी केन्द्रको प्रभाव रहेको यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता शाहीले जितेका हुन । लामाको व्यक्तित्व, कर्म, विद्वता हेर्दा शाहीसँग चुनाव हार्नुपर्ने थिएन ।

जनतामाझ लोकप्रिय छक्कबहादुर लामा यसअघि २०७४ सालमा वाम गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरिबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । जनमोर्चा नेकपा (एकता केन्द्र) को रणनीतिक मोर्चा हो । एकता केन्द्र नै पछि माओवादी बन्यो ।

२०७४ सालको आम निर्वाचनमा एमाले–माओवादीको गठबन्धन बन्दा गठबन्धनका आधिकारिक उम्मेद्वार माओवादी केन्द्रका पूर्वसांसद छिमीदोर्जे लामा विरुद्ध वागी उम्मेदवार बनेर निर्वाचन जितेका व्यक्ति छक्क लामा अहिले भने पराजित भएका छन् ।

माओवादी जनयुद्धमा एक छोरी गुमाएका लामालाई वागी उम्मेद्वार बनेपछि नेकपा माओवादी केन्द्रले कारवाही समेत गरेको थियो । उनले निर्वाचन जितिसकेपछि माओवादीले कारवाही फिर्ता गरी पार्टीमा पुनर्बहाली समेत गरेको थियो । नेकपा फुटेपछि लामा अहिले भने नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।

राष्ट्रिय स्वाधीनताको पक्षमा सँधै डटिरहने लामा वामपन्थी जनमत भएको हुम्ला जिल्लामा पराजय हुनु र विदेशी शक्तिकेन्द्रसंँग निकट सम्बन्ध रहेका जीवनबहादुर शाही विजय हुनुले हुम्लेली जनताले अनौठो अनुभूत गरिरहेको धेरैको बुझाइ छ ।

शाहीसँग प्राविधिक आधारमा पराजित भए पनि स्वाधीनता पराजीत हुन नदिन लामा अहिले पनि निरन्तर लागिरहेका छन् । उनी आफ्नो अभियानमा सक्रिय रहिरहने बताउँछन् ।

कालापानी लिपुलेक, लिम्पियाधुरामा भारतले सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रिय सहमति बनिरहेकै बेलामा कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री शाहीले हुँदै नभएको चीनको सीमा विवाद उछालेर राष्ट्रिय स्वाधीनताको मुद्दालाई विषयाान्तर गरेका थिए ।

मित्रराष्ट्र चीनसँग त्यस मुद्दाले यसले चिसोपन बढाइदिएको अनुभूत भएको छ । कोरोनापछि नाकाबन्दी रहेको हुम्ला क्षेत्र अझै सहज बन्न नसक्नुमा जीवनबहादुर शाहीहरु जस्ताको विवादित कदम जिम्मेवार रहेको हुनसक्ने लामाको ठहर छ ।

उत्तरी नाका सहज नहुँदा त्यस क्षेत्रका जनताले असहज जीवन बाँचिरहेका छन् । जसरी दक्षिणतिरका नेपाली सीमामा भारतसँग लडेर त्यहाँका जनतालाई जीवन धान्न कठिन हुन्छ त्यसरी नै उत्तरतिर चीनसँग सिमाना जोडिएका नेपालीहरुलाई चीनसँग सम्बन्ध विगारेर बाँच्न कठिन हुने लामा बताउँछन ।

राष्ट्रिय स्वाधीनताको विपक्षमा रहेका र कूटनीतिक क्षेत्रमा पनि विवादित कार्य गर्दै आएका जीवन वहादुर शाहीलाई आलोपालोको रुपमा अर्काे पटक मुख्यमन्त्री बनाउने गरी माओवादीले सहमति गर्नु विडम्बना रहेको लामाको ठहर छ । कर्णाली क्षेत्रमा द्वन्द्व निम्तिनु समग्र देशकै निम्ति खतरा हो भन्दै त्यस्तो खतरा नमोल्न लामाले माओवादीका नेतृत्वलाई सुझाव दिएका छन् ।

समाजवादको मीठो सपना बोकेर वलिदानी पूर्ण संघर्ष गरेको माओवादी केन्द्रले गलत शक्ति र व्यक्तिसँग सहकार्य गरेर निर्दिष्ट लक्ष्यमा नपुगिने लामाको निश्कर्ष छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्