एक लाखभन्दा चालक अनुमतिपत्र वितरण गर्न बाँकी – Janadesh Daily | ePaper

एक लाखभन्दा चालक अनुमतिपत्र वितरण गर्न बाँकी


काठमाडौँ,

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई स्थगित गरिएको जनाएको छ ।

कार्यालयले विभागबाट छापिएर आएका धेरै अनुमतिपत्र वितरण गर्न बाँकी रहेका जानकारी दिएको छ । सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुल्ला गरेपछि कार्यालयले असार र साउनको दोस्रो सातासम्म अनुमतिपत्र वितरण गरेको थियो । बन्दाबन्दीपछि झण्डै ४० हजार अनुमतिपत्र वितरण गरिएको कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो ।

कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा र अनुमतिपत्र दिने दुवै काम रोकिएको छ । उहाँले भन्नुभयो, “अहिले हामीले नवीकरण मात्रै गरिरहेका छौँ ।”

यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा समेत अनुमतिपत्र छपाइ गरिरहेको थियो । गत पुससम्मको अनुमतिपत्र छपाइ भएर आइसकेको उहाँले जानकारी दिनुभयो । विभागले छपाइ जारी राखेकाले चैत पहिलेका अनुमतिपत्र समेत छपाइ चाँडो भइसक्ने बताइएको छ ।

वितरण र नयाँ अनुमतिपत्रका लागि परीक्षा भने तत्काल खुल्ला नहुने देखिएको छ । उहाँले भन्नुभयो, “उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले यी सेवा बन्द गरेका छौँ ।”

केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो । अहिले उपत्यकामा चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ ।

सबैभन्दा बढी यात्रुको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । बन्दाबन्दीपछि कार्यालयमा भीडभाड अत्यधिक भएकाले सङ्क्रमणको त्रास रहेको थियो ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्