प्रश्न उठेपछि प्रचण्डले रोकिदिए नयाँ स्टक एक्सचेञ्जको काम, काम अघि नबढाउन पत्र – Janadesh Daily | ePaper

प्रश्न उठेपछि प्रचण्डले रोकिदिए नयाँ स्टक एक्सचेञ्जको काम, काम अघि नबढाउन पत्र


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जको प्रक्रिया तत्काल रोक्ने विषयको पत्र नेपाल धितोपत्र बोर्ड (सेवोन) पुगेको छ ।

नयाँ स्टकको लाइसेन्स प्रक्रियामा थप अध्ययन गरेर जानुपर्ने भएकोले तत्काललाई प्रक्रिया रोक्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमल्सिनाले दिए ।

प्रधानमन्त्रीले तत्काललाई नयाँ स्टकको लाइसेन्स रोक्न दिएको निर्देशनको जानकारी शुक्रवार विहानै इमेलमार्फत आइसकेको र आजै औपचारिक पत्र आउने जानकारी आएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले दिए । उनका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि थप अध्ययन गर्नुपर्ने भनेकोले हाललाई सबै प्रक्रिया रोकिएको छ ।

नयाँ स्टक एक्सेचन्जको बारेमा अर्बौको चलखेल भएको भन्दै सांसद अमरेशकुमार सिंह र स्वार्णिम वाग्लेले सदनमै प्रश्न उठाएका थिए । संसदको प्रश्न, तीन वटा छुट्टाछुट्टै कर्पोरेट हाउसबीचको प्रतिस्पर्धा र लाइसेन्स हत्याउन भएको चलखेलका कारण तत्काललाई प्रक्रिया रोकिएको छ ।

नयाँ स्टकको इजाजतका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघले नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए ।

यी तीनवटै ग्रुपमा कर्पोरेट क्षेत्रका हस्तिहरू जोडिएका छन् । एउटा कर्पोरेट क्षेत्र र अर्कोबीच भएको चर्को प्रतिप्रस्र्धाले आर्थिक चलखेलको आशंका गरिएको छ । धितोपत्रले आशयपत्र माग गर्दै अदालतमा मुद्दा परेर रोकिएको नयाँ इजाजतको प्रक्रिया अदालतकै आदेशबाट खुलेको थियो । सोही आदेश अनुसार केही ब्रोकरले इजाजत पाइसकेका छन् भने नयाँ स्टक र कमोडिटी एक्सचेन्ज प्रक्रियामा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्