कान्तिपुरको टिप्पणीः प्रधानमन्त्री प्रचण्डले आशा जगाए, माओवादी फर्किने अवसर यही हो – Janadesh Daily | ePaper

कान्तिपुरको टिप्पणीः प्रधानमन्त्री प्रचण्डले आशा जगाए, माओवादी फर्किने अवसर यही हो


जनादेश मिडिया वाच।

कान्तिपुर दैनिकले अब नेपालमा पुनः माओवादीको राजनीति फर्किन सक्ने संकेत गरेको छ। आइतबारको अंकमा विशेष टिप्पणी लेख्दै कान्तिपुरका गंगा विसीले प्रधानमन्त्रीका रूपमा प्रचण्डले आशा जगाएको र अब शरणारार्थी लगायत मुद्दामा हाइप्रोफाइलको छानविन गरेमा माओवादीको साख पुनः फर्किने प्रक्षेपण गरेका हुन्

प्रचण्डका तीन कार्यकालमध्ये अहिले सबैभन्दा बढी आशावादी बनेको भन्दै विसीले माओवादीका लागि यो गर वा मरको विन्दु रहेको पनि संकेत गरेका छन्।

कान्तिपुरमा प्रकाशित विसीको लेख जस्ताको तस्तैः

नक्कली भुटानी शरणार्थी प्रकरण राजनीतिक तहमा अनुसन्धान सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको गिर्दो शाखमा ब्रेक लागेको छ । पुस ११ मा सुरु भएको उनको तेस्रो ‘इनिङ’को सरकार शरणार्थी प्रकरणले चर्चाको शिखरमा छ । उनले यति चर्चा पाउन शनिबारसम्म सरकार सम्हालेको १३८ दिन खर्चिनु परेको छ ।


यही पृष्ठभूमिमा दाहाललाई सक्किने जोखिमभन्दा सच्चिने अवसर छ । माओवादी नेतृत्वको विगतको दुई सरकारले नपाएको चर्चा र कामको थालनी गरेको छ । बरु दाहालको पहिलो ‘इनिङ’ २०६५ मा तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्न खोज्दा सरकार छाड्नु परेको थियो । २०७३ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा सम्झनालायक काम नभई बित्यो ।

यसपटक प्रधानमन्त्री हुँदा उनले पहिलो र दोस्रो कार्यकालको अनुभवले राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्ति गरेको भए पनि जनताले पत्याएका थिएनन् । शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ नेता तानिन थालेपछि प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका साथै पुरानो राजनीतिक दललाई आउने गाली कम भएको छ । यो प्रकरणको अनुसन्धान कसरी अघि बढ्छ ? त्यसपछि मात्र राजनीतिक दल सच्चिने बाटो लिएको हुन वा होइनन् स्पष्ट हुने छ ।

दाहालको साथ र गृहमन्त्री श्रेष्ठको आँटले प्रकरणमा मुछिएका राजनीतिक नेता, उच्च सरकारी अधिकारी पक्राउ परेका छन् । यसले गिर्दै गएको माओवादी शाखमा सास थपिन थालेको छ । अनौठो के छ भने माओवादीकै कतिपय नेताहरुले दाहाल र श्रेष्ठको यो कदमलाई खुलेर समर्थन गर्न सकेका छैनन् ।

सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवानिकट पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ गर्ने आँट गर्नु सरकारलाई चुनौतीपूर्ण थियो । यसले सत्ता गठबन्धनमा तरंग ल्याउन सक्ने स्वयं प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठलाई अनुमान थियो । देउवालाई समेत आश्चर्यमा पारेर खाँणलाई पक्राउ गरेपछि राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणबाट अभूतपूर्व समर्थन पाएपछि दाहाल र श्रेष्ठको आत्मबल ह्वात्तै बढेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जो मुछिए पनि पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई स्वतन्त्रता दिने निष्कर्षमा सरकार पुगेको छ । ‘यो प्रकरणले अप्ठ्यारो परेपरोस्,’ दाहालको भनाइ छ, ‘अब पछि हट्नु हुँदैन । जो-जो तानिन्छन्, कानुनी दायरामा ल्याउनुपर्छ ।’ उनले निकट नेताहरुसँग सरकारले अघि सारेका मुख्य प्राथमिकता सामाजिक न्याय, सुशासन र आर्थिक वृद्धिमा कदम चाल्न खोज्दा आइपर्ने अप्ठ्यारासँग सम्झौता नगर्ने बताउन थालेका छन् ।


‘यसपटक राम्रो काम गरेन भने पार्टी र मेरो राजनीतिक भविष्य धरापमा पर्ने भएकाले गलत सम्झौताबिना अघि बढ्छु,’ दाहालको भनाइ । गृहमन्त्री श्रेष्ठको गति हेर्दा भ्रष्टाचार कान्डमा आफै दलका नेता मुछिए पनि अनुसन्धान अघि बढाउने अभियानमा लागेका छन् । उनले आफ्नो गलत स्वार्थ नभएकाले सुशासन स्थापनाका लागि जस्तोसुकै कदम चाल्ने बताउँदै आएका छन् । ‘म राजनीतिक सन्न्यासी हुँ । मलाई अरु कुनै लिनु/दिनु छैन । व्यक्तिगत सम्पत्ति छैन । अलिकति पुर्ख्यौली सम्पत्ति छ, त्यो पनि मैले हस्तान्तरण गर्ने सोचेको छु पार्टीलाई । मेरो आफ्नो घर छैन, व्यक्तिगत सम्पत्ति छैन,’ उनले केही दिनअघि भनेका थिए, ‘म विवाहित पनि छैन । म राजनीतिलाई सफा गर्नुपर्छ र देश बनाउनुपर्छ भनेर आएको छु ।’

भुटानी प्रकरणमा ‘भ्रष्टाचार गर्ने कसैलाई छाड्दिनँ’ श्रेष्ठले निरन्तर भन्दै आएका छन् । यसमा मुख्यगरी प्रधानमन्त्री दाहालको साथ र समर्थनबिना यो संभव छैन । दाहाललाई यो लगायत मुलुकमा सुशासन कायम गर्ने कदममा आफ्नो कुर्सीलाई ध्यानमा राखेर गर्न नहुने पार्टीभित्र सुझाव छ । ‘सरकार धरापमा पर्छ भने सुशासनका लागि चाल्ने कदमबाट पछि हट्न हुँदैन,’ माओवादी सचिव लीलामणि पोखरेलले भने, ‘यसपटक काम गर्न सकिएन भने पार्टी धरापमा पर्छ ।’

कांग्रेस र अन्य दलसँग सहकार्य गरी दाहाललाई मुलुकमा सामाजिक न्यायसहितको सुशासन र मुलुकको समृद्धिको बाटो पकड्नु सहज छैन । गठबन्धन दललाई मिलाएर यसमा कदम चाल्दा उनको कुर्सी धरापमा पर्न सक्छ तर त्यसो गर्दा उनीसँग एजेन्डा बाँकी रहनेछ । आधारभूत हितका लागि राजनीतिक कार्यदिशा लिएको माओवादीले यो एजेन्डा भुलिसकेको थियो । यो प्रकरणलाई सही निष्कर्षमा पुर्‍याउन सके आगामी दिनमा खासगरी दाहालका लागि मुद्दा जीवित रहनेछ ।

जुन धरातलबाट राजनीतिमा आएको थियो, त्यसलाई बिर्सेर नवधनाढ्यको बाटो समातेपछि ओरोलो लागेको माओवादी यसपटक सरकारको नेतृत्व गरी सम्झनालायक काम गर्न नसके इतिहासमा सीमित हुने देखिन्छ । आमनिर्वाचनमा कांग्रेस र एमालेभन्दा आधाभन्दा कम सानो भएर पनि सरकारको नेतृत्व गर्ने मौका पाएको माओवादीका लागि आफू सच्चिने यो नै अन्तिम अवसर हो । यो अवसरलाई राम्रोसँग समात्न नसके सक्किने बाटोमा जानेछ । नेकपा माओवादी विद्यालय र विश्वविद्यालयको पाठ्यक्रमको इतिहासको भाग हुने छ ।

उनले तेस्रो कार्यकालका लागि मुख्य तीन प्राथमिकता निर्धारण गरेका छन्- पहिलो, सामाजिक न्याय, दोस्रो, सुशासन र तेस्रो, समृद्धि । यी काम पूरा गर्न दाहालले आफूबाट सुरु गर्नुपर्ने छ । माओवादीले उठाउँदै आएको सामाजिक न्याय कसरी हुन्छ ? प्रधानमन्त्रीसँग स्पष्ट खाका छैन । १० वर्ष सशस्त्र युद्धमा साथ दिएका आधारभूत वर्ग र माओवादीलाई मत दिएका वर्गका लागि न्याय के हुन सक्छ ? त्यो भनेको मुलुकमा सामाजिक न्यायसहित सुशासन र आर्थिक समृद्धिको बाटोमा अघि बढ्नु हो । तर पनि दाहालसामु एउटा सन्देह भने बाँकी छ– उनले प्राथमिकतामा राखेका मुद्दा कार्यान्वयन गर्दा अवरोधका रुपमा आउने गठबन्धन भएका अरु दलका नेता, कार्यकर्ता, तिनका आफन्त र माओवादी नेता, कार्यकर्ता र आफन्तको घेरा नाघ्न सक्लान् ?
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्