राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी – Janadesh Daily | ePaper

राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी


यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश सिर्जना यसपटक दुई स्थानमा प्रदर्शन हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का अनुसार यसपटक नक्सालस्थित प्रतिष्ठान कार्यालय नक्सालको बालमन्दिरस्थित प्रदर्शनीस्थल र नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा प्रदर्शन गर्ने निर्णय भएको छ ।
प्रदर्शनीको तयारी तीव्ररुपमा भइरहेको र आवश्यक सिर्जना छनोट सकिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रम संयोजक नादरमणि हार्तम्छालीले जानकारी दिनुभयो ।
यसपटक ‘म मेरो देश र मेरो सिर्जना’ विषयमा आधारित रहेर कला प्रदर्शनी गरिनेछ । नेपाल कला परिषदमा हुने प्रदर्शनीमा लोक तथा परम्परागत चित्रकलासँग सम्बन्धित सिर्जना प्रदर्शनी हुने प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को कार्यकारी समितिका संयोजक लालकाजी लामाले बताउनुभयो ।
उहाँका अनुसार प्रदर्शनी अवधिमा साँझको समयमा परिषद्मा शास्त्रीय सङ्गीतसमेत प्रस्तुत हुनेछ । हरेक वर्ष वैशाख २ गतेबाट सुरु हुने गरिएकोमा यसपालीबाट उक्त प्रदर्शनी जेठ १५ गते गणतन्त्र दिवसकै अवसर पारेर सुरुवात गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसरी जेठ १५ बाट प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ । यसपटक जेठ १५ देखि ३० गतेसम्म १५ दिन मात्रै प्रदर्शनी हुनेछ । प्रदर्शनीको कार्यकारी समितिका संयोजक, लामाका अनुसार यसपटक प्रदर्शनीमा सर्वाधिक सात सय ८२ वटा कलाकृति छनोट भएका छन् । त्यसमा ८२ वटा कृति भने अप्रतियोगी छन् ।
यसपटक  सद्भावना दूतसम्मान र कला प्रवद्र्धन सम्मान थप गरिएको छ । यस्तै दुई विधामा समीक्षा लेखन प्रतियोगिता पनि आयोजना हुनेछ । यस्तै प्रदर्शनीबारेमा उत्कृष्ट लेख तथा समाचार लेख्ने पाँच जनालाई समेत पुरस्कृत गरिनेछ ।
यसपटकको प्रदर्शनीका समयमा कला गोष्ठीसमेत आयोजना गरिनेछ । कलालाई व्यवसायसँग जोड्नुपर्छ भनेर यसपटक व्यावसायिक दृष्टिकोणबाट विभिन्न उच्च पदस्थ व्यक्ति तथा राजदूतावासका प्रतिनिधिको भ्रमण गराउने योजनासमेत अघि सारिएको लामाले बताउनुभयो । यसका साथै विगतका प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदर्शनीले ललितकला विकास तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वस गरिएको छ । यसले नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्नेछ ।
यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु पु¥याउनसमेत सहभोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितातमक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउनसमेत हौसला प्राप्त हुने उहाँले बताउनुभयो ।
विधागत प्रदर्शनी र प्रतियोगिता
प्रदर्शनीमा परम्परागत चित्रकला (पौभा, थाङ्का) आधुनिक चित्रकला (चित्र तथा मुद्रणकला), परम्परागत मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला), हस्तकला/शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलालगायतका विधाका कलाकृति सहभागी गराइएको छ । साथै अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीमा कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छवीकला तथा भिडियोकला पनि समावेश हुने छ ।
यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक जना कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने जनाइएको छ ।
विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिनेछ ।
यस्तै हरेक प्रदेशबाट एक/एक जना पर्ने गरी प्रादेशिक पुरस्कार दिइने र उक्त पुरस्कारको राशी पनि रु २५ हजार नै रहने जनाइएको छ । प्रदर्शनीका अवसरमा कला लेखक र कला पत्रकारलाई पुरस्कृति गरिनेछ । दुई जना विशिष्ट कलाकारलाई एक/एक लाख राशीको अरनिको सम्मान प्रदान गरिनेछ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्