आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँः कल्पना गर्नुस् जब एआईले भाषालाई सिध्याउँछ – Janadesh Daily | ePaper

आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँः कल्पना गर्नुस् जब एआईले भाषालाई सिध्याउँछ


जनादेश टेक वाच।

मार्टिन वुल्फ

सन् १९०० मा बेलायतमा ३३ लाख घोडा थिए। तान्ने शक्ति तिनै घोडा थिए। यातायातको साधन तिनै थिए, सैन्य शक्तिको आधार पनि तिनै थिए। आज मनोरञ्जनका लागि पालिने घोडा मात्र बाँकी छन्। घोडा अब बेकामे प्रविधि भइसकेको छ। तिनको संख्या बेलायतमा ७५ प्रतिशतले घटेको छ। के मानिसहरु पनि घोडाझैँ थोत्रो प्रविधि बन्न सक्छन्? के मानिसभन्दा पनि बलियो, अझ सीपालु, अझ बुद्धिमान र अझ रचनात्मक मेसिनले मानिसलाई विस्थापित गर्ला?

त्यो खतरा अझै टाढा छ भन्ने गरिन्छ। यद्यपि, यो विश्वासको कुरा हो। सायद मेसिनले ती सबै काम गर्न सक्छ, जुन काम हामीले अहिलेभन्दा ज्यादा राम्ररी गर्न आवश्यक छ। तर, मेसिन मानिस बन्न सक्दैन र मानिसजस्तो हिफाजती पनि बन्न सक्दैन।

अहिले नै त्यस्तो क्रान्तिको खतरा नभए पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा हालै भएका प्रगतिहरु अत्यन्त महत्वपूर्ण छन्। बिल गेट्सका अनुसार यी प्रगति व्यक्तिगत कम्प्युटर (पीसी) पछिको सबैभन्दा महत्वपूर्ण विकास हो। उसोभए यसको प्रभाव कस्तो होला? के हामी ती असरलाई नियन्त्रण गर्न सक्छौँ?

यसको सुरुवात गर्ने स्वाभाविक विन्दु भनेको रोजगार र उत्पादकत्व नै हो। एमआईटीका डेविड अटरलगायतले लेखेको एक अध्ययनले विगतमा के भएको छ भन्ने विषयमा उपयोगी विश्लेषणात्मक रुपरेखा र गम्भीर निष्कर्ष प्रदान गर्छ। यसले श्रम वृद्धि गर्ने र श्रम स्वचालन गर्ने नवप्रवर्तनलाई छुट्याउँछ। यसको निष्कर्ष छ– अहिले अस्तित्वमा रहेका रोजगारीको अधिकांश हिस्सा १९४० अघि अस्तित्वमै थिएनन्। ती त्यसपछि सिर्जना भएका हुन्।

त्यसमा पनि १९८० अघि अधिकांश नयाँ रोजगारी मध्यम तलब भएको पेसाहरु थिए। जसमा उत्पादन क्षेत्र र कार्यालय कर्मचारीजस्ता पेसा पर्थे। १९८० पछि सिर्जना भएका रोजगारीको अधिकांश हिस्सा भने पहिले उच्च तलब हुने पेसा छन्, त्यसपछि कम तलब हुने सेवा क्षेत्रका पेसा छन्। यो परिवर्तनको कारण प्रविधिको विकास हो, जसले मध्यम तलब हुने पेसाहरुलाई विस्थापित गर्दैछ। र, त्यो क्रम झनझन् बढ्दैछ।


त्यसमाथि, नवप्रवर्तनले त्यतिबेला मात्रै नयाँ खालका रोजगारी पैदा गर्छ, जतिबेला त्यो भएका रोजगारीका लागि पूरक बन्छ। तर, नवप्रवर्तनले भएका कामलाई नै विस्थापित ग¥यो भने रोजगारी सिर्जना हुँदैन।

अन्तमा, गत चार दशकमा माग घटाउने स्वचालनको प्रभाव निकै तेज भएको छ। जबकि श्रम वृद्धिको माग बढाउने प्रभाव बढेको छैन। यी कुनै पनि प्रवृत्ति उत्साहजनक छैनन्। खासगरी १९८० देखि उत्पादकत्व वृद्धि निकै मामुली छ।

उसोभए भविष्य कस्तो होला त? यसबारे गोल्डम्यान स्याक्सको विश्लेषण आशावादी र विचारणीय दुवै छ। सो विश्लेषणको तर्क छ– ‘श्रमको लागतमा ठूलो बचत, नयाँ रोजगारी सिर्जना र रोजगारी नगुमाएका कामदारहरुको उत्पादकत्व वृद्धिको योगले श्रम उत्पादकत्व वृद्धिको सम्भावना बढाउँछ।’ विद्युतीय मोटर र पीसीको विकासपछि जे भयो, यसको प्रभाव त्यस्तै हुनसक्छ। खासगरी जेनेरेटिव एआईले अमेरिकाको श्रम उत्पादकत्वमा १.५ प्रतिशतको वार्षिक वृद्धि गराउन सक्ने आकलन सो अध्ययनले गरेको छ। यस्तो वृद्धि विकासशील मुलुकहरुमा भन्दा उच्च आय भएका मुलुकमा बढी हुनेछ। यद्यपि, कहिले भन्ने निश्चित छैन।

सो अध्ययनका अनुसार विश्वभरमा विद्यमान काममध्ये १८ प्रतिशतलाई एआईद्वारा स्वचालित गर्न सकिन्छ। जसको ज्यादा प्रभाव विकसित देशमा पर्नेछ। अमेरिकाको हकमा १५ देखि ३५ प्रतिशत रोजगारी एआईका कारण खतरामा परेको अध्ययनको आकलन छ। सबैभन्दा बढी खतरामा रहेका कामहरुमा कार्यालय र प्रशासनिक, कानुनसम्बन्धी, आर्किटेक्चर र इन्जिनियरिङ सम्बन्धी काम पर्छन्। एआईले विस्थापित गर्ने जोखिम सबैभन्दा कम भएका कामहरुमा निर्माण, जडान र मर्मत पर्छन्।

सामाजिक रुपले यसको असर सबैभन्दा बढी उच्च शिक्षा लिएका सुकिलामुकिला कामदारहरुमा पर्नेछ। यसको खतरा के हुन्छ भने मध्यम र उच्च मध्यम वर्ग ओरालो लाग्न सक्छ। यस्तो परिवर्तनले निकै ठूलो सामाजिक र राजनीतिक प्रभाव देखाउनेछ, भलै यसले समग्र उत्पादकत्व बढाएछ भने पनि। घोडाजस्तै मानिसहरु लोप हुने छैनन्। त्यसमाथि मानिसहरुसँग मतको शक्ति समेत हुन्छ।

यी आर्थिक प्रभाव मात्र सम्पूर्ण तस्बिर होइन। एआईले यसभन्दा निकै ठूलो परिवर्तन ल्याउँछ। यसले हामी को हौँ र के हौँ भन्नेबारे पनि गम्भीर प्रश्न खडा गर्छ। यो हामी आफैँबारेको हाम्रो बुझाइका लागि पनि सबैभन्दा ठूलो परिवर्तनकारी प्रविधि हुनसक्छ।

केही बृहत् प्रभावहरुलाई हेरौँ। हो, एआईका कारण हामीसँग घुस खुवाउन नसकिने र तर्कसंगत न्यायाधीश अनि अझ गतिलो विज्ञान हुनसक्छन्। तर, सँगै हामीसँग छुट्याउनै नसकिने झुटा सूचना, तस्बिर र पहिचानले भरिएको संसार पनि हुनेछ। अहिलेभन्दा शक्तिशाली एकाधिकार र धनतन्त्र पनि हुनक्नेछ। सरकार र कम्पनीहरुको लगभग पूर्ण निगरानी हुन सक्नेछ। हामीसँग लोकतान्त्रिक राजनीतिक प्रक्रियालाई बिगार्ने अहिलेभन्दा कयौँ ज्यादा प्रभावकारी साधन हुनसक्छन्।

युवल नोआ हरारी भन्छन्, ‘लोकतन्त्र भनेको संवाद हो। र, संवाद भाषामा निर्भर हुन्छ। जब एआईले भाषालाई सिध्याउँछ, तब यसले हाम्रो अर्थपूर्ण संवाद गर्ने क्षमतालाई पनि सिध्याउँछ। जसका कारण लोकतन्त्र ध्वस्त पार्छ।’ एआईलाई विस्तार हुन दिनुअघि त्यसले ल्याउन सक्ने हानिबारे हामीले बुझ्नुपर्ने एमआईटीका डारन एसेमोग्लुको तर्क छ। एआईका ‘गडफादर’ का रुपमा चिनिएका जेफ्री हिन्टनले त गुगलबाट राजीनामै दिने निर्णय लिए।

तर, एआईलाई नियमन गर्न सजिलो छैन। यो औषधि नियमनजस्तो होइन, जसको एउटा निश्चित निसाना हुन्छ (मानव शरीर) र निश्चित लक्ष्य (उपचार) हुन्छ। एआई हरेक क्षेत्रलाई प्रभाव पार्ने प्रविधि हो। यसका अनेक कार्य छन्। यसले अर्थतन्त्र बदल्न सक्छ। यसले राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता, सापेक्ष शक्ति, सामाजिक सम्बन्ध, राजनीति, शिक्षा र विज्ञान बदल्न सक्छ। हाम्रो सोच्ने र सिर्जना गर्ने तरिका पनि यसले बदल्न सक्छ। सायद यो संसारमा हाम्रो आफ्नै स्थान के छ भन्नेबारे हाम्रो बुझाइ पनि यसले बदल्न सक्छ।

एआईका यी सबै प्रभावहरुलाई अनुमान गर्न सकिन्न। यी निकै जटिल छन्। १५ औँ शताब्दीमा प्रिन्टिङ प्रेसले कस्तो प्रभाव पार्ला भनेर बुझ्ने कोसिस गरेजस्तै हो यो। कुन कुरालाई अघि बढाउने, कुन कुरालाई रोक्ने भन्ने विषयमा सबैको एकमत होला भन्ने अपेक्षा हामीले राख्नु हुँदैन। भलै कुनै मुलुकले गरेछन् भने हामीले बाँकीलाई रोक्न सक्दैनौँ। सन् १४३३ मा चिनियाँ साम्राज्यले नौसैनिक शक्ति विस्तार गर्ने प्रयासलाई रोक्यो। तर, त्यसले नौसैनिक शक्ति विस्तार गर्नबाट अन्य मुलुकहरुलाई रोक्न सकेन। बरु, अन्ततः सोही कारण चीनको पराजय भयो।

मानव भनेको डाक्टर फास्टस (क्रिस्टोफर मार्लोको दुखान्त नायक, जसले ज्ञान र शक्तिका लागि आफ्नो आत्मा मेफिस्टोफिल्स नामक शैतानलाई बेच्छ) जस्तै हो। मानिसले जहिले पनि ज्ञान र शक्तिको खोजी गर्छ। त्यसलाई प्राप्त गर्न ऊ जुनसुकै मूल्य तिर्न तयार हुन्छ। भलै त्यसको परिणाम नराम्रो नै किन नहोस्। सबभन्दा खराब कुरा त मानव भनेको एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका डाक्टर फास्टसहरुको प्रजाति हो। हामी सामाजिक सञ्जालको क्रान्तिले समाज र राजनीतिमा ल्याएको प्रभावहरु भोगिरहेका छौँ। यसले हाम्रा केटाकेटीलाई पार्ने प्रभावप्रति थुप्रैले विभिन्न चेतावनी दिएका छन्। तर, हामी प्राप्त गरेको उपलब्धि रोक्न सक्दैनौँ। न त हामी एआईको क्रान्ति नै रोक्ने छौँ। हामी फास्टस हौँ। हामी मेफिस्टोफिल्स हौँ। एआई क्रान्ति अघि बढ्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्