भ्रष्टाचारीलाई खोरमा हाल्न प्रचण्डसँगको जुगलबन्दी, हामी कसैको दबाबले हट्दैनौं- नारायकाजी – Janadesh Daily | ePaper

भ्रष्टाचारीलाई खोरमा हाल्न प्रचण्डसँगको जुगलबन्दी, हामी कसैको दबाबले हट्दैनौं- नारायकाजी


जनादेश मिडिया वाच।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ यतिबेला सबैको नजरमा छन्। भ्रष्टाचार छानबिनमा देखाएको तत्परताले उनको प्रशंसा भैरहेको छ। यसबाट सरकारको मात्रै होइन, माओवादी पार्टीको छवि सुधार्न पनि सहयोग पुग्ने अपेक्षा धेरैले गरेका छन्। विगतमा परराष्ट्रमन्त्री रहँदा श्रेष्ठले कूटनीतिक क्षेत्रमा राम्रै नाम कमाएका थिए। अलमलिएको मन्त्रालयलाई ट्रयाकमा ल्याउन, राजदूत नियुक्ति, कूटनीतिक आचारसंहितालगायतमा उनको अडान स्पष्ट थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएपछि चर्चा बटुल्दै गरेका श्रेष्ठको गृह मन्त्रालयमा सरुवा भयो। माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ केही गरेर देखाउन गृहमन्त्री वा प्रधानमन्त्री हुनुपर्ने अडानमा रहेका नेता हुन्।

श्रेष्ठले गृह मन्त्रालय सम्हाल्नेबित्तिकै सचिव र मन्त्रीले सुराकीका नाममा लिने रकम बन्द गरिदिए। सबै प्रणाली चुस्त राख्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा दह्रो कदम चालिरहेका श्रेष्ठ बदमासी गरेको पाएमा आफ्ना सहकर्मी नेताहरू जोसुकैलाई पनि जेलको हावा खुवाउने दृढता व्यक्त गर्छन्। यसै विषयमा आधारित रहेर श्रेष्ठसँग गरिएको कुराकानी :

तपाईं त निकै दबाबमा परेको र थाकेको जस्तो देखिनुहुन्छ नि?

दबाबको त सीमा नै छैन। कत्ति आउँछ कत्ति! तर जुन काममा मैले हात हालेको छु, त्यो फत्ते नगरी छोड्नेवाला छैन। जस्तोसुकै दबाब आओस् नारायणकाजीले थेग्छ। माओवादी नेतृत्वको गठबन्धन सरकार थेगेर अघि बढ्छ। गल्ती गरेकाहरू जेल जान तयार भएर बसे हुन्छ। किनकि मानव तस्करजस्तो अक्षम्य गल्ती भइसकेको छ। नेपाल प्रहरीको अनुसन्धान प्रणाली कमजोर छैन। कमजोर पार्नचाहिँ खोजिन्छ। वास्तवमा नेपालमा त्यही प्रकारको कुरा हुन्छ। लहरो तान्दा जहाँजहाँसम्म पुग्न सकिन्छ पुग्ने हो। अपराधीलाई सजायको भागीदार बनाउने हो। दोषी देखिएकालाई न्यायपालिकासम्म पुर्‍याउन परिपक्व ढंगले काम अघि बढेको छ। सबै प्रमाण जुटाएर न्यायपालिका पुग्दा अहिले हिरासतमा रहेकाहरू घर फर्कनुहुन्छ जस्तो लाग्दैन। हामी निर्दोष नफसून् र दोषी नछुटून् भन्ने कोणबाट काम गरिरहेका छौँ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको छटपटी र आरजु राणा देउवाको अस्वाभाविक आत्मविश्वासलाई लिएर तपाईंले शरणार्थी प्रकरण धेरै अघि बढाउन सक्नु हुन्न भनेर आलोचना हुन थालेको छ। यसलाई कसरी लिने?

उहाँहरू किन र के कारणले त्यसो गरिरहनुभएको छ त्यो उहाँहरूको विषय हो। मैले सुरु गरेको काम बीचमा छोड्ने बानी छैन। त्यसमाथि राज्य संयन्त्र प्रयोग गरेर संगठित अपराध गरिरहेको यो ‘केस’ छोड्दा के हुन्छ भन्ने विषय सबैले बुझेका छन्। संगठित अपराधको घटनामा दोषी देखाइएको अथवा दोषी देखेको कसैमाथि पनि कारबाही नगर भन्न त शीर्ष नेतालाई पनि लाज हुन्छ। कसैले म यस्तोउस्तो भन्दै हिँडेर हुन्न, प्रमाणमा के छ भन्ने मुख्य कुरा हो। अनुसन्धान नियाल्दा कसैको दबाबमा छोड्न मिल्ने देखिन्न। बरु तानिँदै जाने पो देखिन्छ। अनुसन्धान भइरहेको हुँदा अहिल्यै यो वा त्यो त भन्न सक्दिनँ तर चानचुने गिरोह होइन यो। यसलाई तोड्न सकेमा मुलुकमा हुने अन्य संगठित ठगी र अपराध पनि कम हुने विश्वास छ।

यो प्रकरणमा ठूलो भारी बोकेर पहाड उक्लेझैँ लाग्दैन?

त्यस्तो पनि होइन। सबैको साथ र समर्थन छ। यो सुन्दर मुलुकलाई साँच्चै माथि उकास्नु छ। त्यसैले म बारम्बार भन्दै आएको छु- भ्रष्टाचार र भ्रष्टाचारीलाई, अपराध र अपराधीलाई, तस्करी र तस्करलाई, ठग र ठगीलाई कुनै पनि कोणबाट बचाउन कोही पनि लाग्नु हुँदैन। कसैलाई बचाउन दबाब वा अनुरोध आयो भने त्यो कोणबाट पनि अनुसन्धान गर्नुपर्ने हुन्छ। त्यसैले कसैको दबाबमा छैन। आफैँसँग हिँडेका साथीहरूले, राजनीतिक करिअरमा माथि उक्लँदै गरेका साथीहरूले र सरकारको उच्च ओहदामा बसेका कर्मचारीले यस्तो नीच कार्य गरिरहेको देख्दा मलाई दिक्क लागेको छ। त्यसैले पनि थकित देख्नुभएको होला।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अघिल्ला गृहमन्त्रीहरूले किन ध्यान नदिएका होलान्?

जुनसुकै कुराको पनि समय आउँछ। तर पनि अघिल्ला गृहमन्त्रीको पालामा किन छलफल भएनछ भनेर म अध्ययन गर्दैछु। यथास्थितिमा रहेर होइन अब अलिक चनाखो भएर सरकारी संयन्त्रभित्रै कडा रूपमा अघि बढ्नुपर्छ। त्यसका लागि सक्रिय छु। बाहिर चिल्ला कुरा गरेर भित्र कुम्ल्याउनेहरू अब नाँगिँदै जानेछन्। बाहिर चर्का कुरा गरेर भित्रभित्र प्रभाव राखेर ठाँटिनेहरूको पनि अब हैसियत देखिनेछ। जो निष्कलंक छ त्यस्ता व्यक्ति कारबाहीमा पर्दै-पर्दैनन्। त्यही कारण हामीलाई समय लागेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले चार दिनमै सक्नू भनेर आदेश दिनुले कतै अनुसन्धान फितलो होस् भनेर त होइन?

हामीलाई कानुनले दुई महिना दिएको छ। जतिसक्दो छिटो बयान सकेर अनुसन्धान अघि बढाउने काममा सक्रिय छौँ। गम्भीर प्रकृतिको विषयमा संगठित गिरोह सक्रिय रहेकाले पनि भित्रभित्रै अनुसन्धान सक्न आवश्यक छ। त्यही आधारमा अनुसन्धान भइरहेको छ।

आफ्नै साथीहरू परेकाले बचाउन नेतृत्वको चाहना र दबाब रहेको छ भन्ने सुनिन्छ नि?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो ‘केस’लाई निर्णायक तहमा पुर्‍याउने बाचा गर्नुभएको छ। अनुसन्धानबारे जानकारी पनि लिइरहनुभएकै छ। त्यसैले पनि उहाँले कमजोर पार्ने भन्ने कुरै आउँदैन। अन्यले उहाँलाई भेटेर प्रभाव पार्न खोज्दासमेत उहाँ सतर्क देखिनुभएको छ। त्यसैले अघि बढिसकेको अनुसन्धान प्रक्रिया यो वा त्यो नाममा रोक्न मिल्दैन। संगठित रूपमा गिरोह चलाएर ठगी गरिएको घटनाबारे गम्भीर हुन आवश्यक छ। म एउटा साधारण व्यक्ति हुँ। म मुलुकप्रति समर्पित छु। त्यसैले यस्तो ‘केस’लाई चुप लागेर रद्दीको टोकरीमा फाल्ने कुरा आउँदैन।

पूर्वमन्त्री टोपबहादुर रायमाझी लामै समय फरार भएर पक्राउ पर्नुभएको छ। उहाँको शैली त कारबाहीमा पर्ने भन्दा नपर्ने देखिन्छ नि?

फरार हुनु भनेको आफूले गरेको अपराधलाई केही हदसम्म स्वीकार गर्नु हो। हामीले जहाँ भए पनि निगरानी गरिरहेकाले उहाँ पक्राउ पर्नुभयो। उहाँ कतै आफूलाई जोगाउन सक्छु कि भनेर लाग्नुभयो होला तर प्रहरी निकाय लागेपछि सबै प्रयास सम्भव हुँदो रहेछ।

awfO tyf z’esfdgf lbOFb}
sf7df8f}+, !% r}t M u[x dGqfnon] z’qmaf/ cof]hgf u/]sf] pkk|wfg Pjd u[xdGqL gf/fo0fsfhL >]i7nfO{ awfO tyf z’esfdgf lbOFb} . tl:a/M ls/0f/fh lji6÷/f;;
तपाईंले त एउटा लोभलाग्दो मान्यता नै बनाउनुभएको छ। समयमा कार्यक्रममा पुग्ने, आफूले पनि समयमा भेट्ने ठग-भ्रष्टाचारीलाई आफू निकायमा रहँदा नछाड्ने र बाहिर हुँदा पनि खबरदारी गरिरहने। अहिले यो प्रमाणित हुन लागेको हो?

मेरो सोच त ठग, भ्रष्टाचारी, तस्कर, कालाबजारियाले स्वयं कानुनको अगाडि आएर आत्मसमर्पण गर्ने वातावरण बनाउने हो। आत्मसमर्पण गर्दा कारबाही कम हुनसक्छ। त्यही कारण अहिलेको लहरोलाई टुंगोमा पुर्‍याएर त्यसतर्फ ध्यान दिने सोच बनाएको छु। मैले भन्दै आएको थिएँ, गृहमन्त्री हुँदा धेरै गर्न सकिन्छ। अझ प्रधानमन्त्रीले गर्न चाहँदा धेरै कुरा हुनसक्छ। गठबन्धन सरकारमा रहेर पनि प्रधानमन्त्रीको ढाडस र मेरो काम गराइका साथै नेपाल प्रहरीको इमानदार प्रयास मिलेको छ। भ्रष्टाचारी र संगठित अपराधमा लागेकाहरू पक्राउ पर्दै जानेछन्। यो क्रम रोकिने छैन।

हिमाल प्रेसबाट साभार-सम्पादक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्