जनादेश अन्तर्राष्ट्रिय वाच।
शनिवार एकजना ग्राहक यहाँको गहन पसलमा पुगे र पाँच लाख रुपैयाँको सुनका गहना बुकिङ गरे। उनले पाँच लाख रकम दुई हजार रुपैयाँ दरका नोटको बन्डलबाट तिरे। रकम तिरे पनि उनको गहना बनिसक्न केही दिन लाग्नेछ। भारतीय केन्द्रीय बैंक आरबीआईले २ हजार रुपैयाँका नोट स्टक आउट गर्ने निर्णय लिएसँगै ती व्यक्तिले आफूसँग रहेका नगदलाई सुनमा रुपान्तरण गरेका हुन्।
गहना पसलमा देखिएको यसखाले दृश्य अन्य स्टोरहरुमा पनि नौलो रहेन। बिहानै देखि गुलावी रङको नोटले तहल्का मच्चाइरहेको नोयडामा सेल्समा खटिएका एक कर्मचारीले बताए। नोट शून्यमा झार्ने नीतिसँगै सेल्सपर्सनको व्यस्तता बढेको छ। किनमेलमा मानिसहरु यही नोटको प्रयोग गरिरहेका छन्।
दुई हजार नोटको व्यवस्थापनमा यसरी नै खर्च हुने हो भने सुनको मूल्य माथि जाने सम्भावना बढाएको छ। दुई हजार रुपैयाँको नोट भारतीय उपभोक्ताका लागि यतिखेर सकसको विषय पनि बनिरहेको छ। ठूलो परिमाणमा खरीद गर्दा प्यान कार्डको डिटेल लिइने भएकाले महँगा सामग्री किन्न उपभोक्ताहरु हिच्किचाइरहेका छन्। ठूलो कारोवार हुँदा कर कार्यालयका कर्मचारीको ध्यान खिचिने भएकाले उनीहरु संशयमा रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।
शुक्रवार मात्रै आरबीआईले २ हजारका नोटलाई बैंकिङ च्यानलमा भित्र्याउने रणनीति अनुसार आह्वान गरेको छ। दुई हजार रुपैयाँको नोटको सर्कुलेसन शून्यमा झार्ने उसको रणनीति हो। सेप्टेम्बर ३० लाई डेडलाइनका रुपमा तोकिएको भए पनि त्यसपछि कानुनी रुपमा कारोबारमा रहनसक्ने आरबीआईले जनाएको छ।
‘सुनका गहनाको कारोवारमा झड्का देखिएको छ। यसले पक्कै पनि माग बढाउने देखिन्छ। अक्षय तृतीयामा यसको चाप अझ बढी पर्नेछ। नोट साट्ने अवधि सकिँदै गर्दा सुनको माग बढ्ने देखिन्छ,’ कोमोट्रे्न्डस् रिसर्चका निर्देशक गनशेखरन थिगराजनले भने।
सुनसँगै २ हजार रुपैयाँ रित्याउन मानिसहरु ट्राभलमा खर्च गर्न निसक्ने समेत विश्लेषकहरुको आँकलन छ। सुन र ट्राभलमा खर्च भए पनि रियल स्टेटमा भने लगानी बढ्ने सम्भावना नदेखिएको विश्लेषकहरुको बुझाई छ।
नेपाललाई के हुन्छ
दुई हजार दरको नोट प्रयोगबाट हटाउने आरबीआईले शुक्रबार गरेको निर्णयको असर नेपालको अनौपचारिक बजारमा समेत पर्ने देखिएको छ । नेपाल सरकारले नेपालमा भारतीय १०० रुपैयाँको नोटमात्र कारोबारको लागि अनुमति दिएको छ । ५०० र दुई हजार दरको नोट प्रयोग गर्न प्रतिबन्ध थियो । सन् २०१६ मा भारतले ५०० र एक हजार दरको नोट प्रतिबन्ध लगाएको बेला औपचारिक माध्यममा नै असर गरेको थियो । राष्ट्र बैंकमा रहेको ५०० र एक हजार दरको करिब आठ करोड १० लाख रुपैयाँ बराबरको नोट नै अहिलेसम्म साटिएको छैन ।
अहिले राष्ट्र बैंकले १०० रुपैयाँको नोटमात्र सटही सुविधा दिने गरेको छ । राष्ट्र बैंकले आरबीआईसँग १०० रुपैयाँको मात्र नोट मात्र किन्ने गरेको छ । दुई हजारको नोट ३० सेप्टेम्बरसम्म सटही गर्ने सुविधा आरबीआईले दिएको छ ।
नेपालको औपचारिक प्रणालीलाई यसको असर भने पर्ने छैन । नेपालले औपचारिक रुपमा दुई हजार दरको नोट प्रतिबन्ध लगाएको छ । तर, अनौपचारिक कारोबारमा भने दुई हजार दरको नोट प्रयोग हुने गरेको छ । नेपाल घुम्न आउने भारतीय पर्यटकले होटेलदेखि लिएर सीमावर्ती क्षेत्रमा दुई हजारको नोटको प्रयोग हुने गरेको छ । भारतमै पनि पछिल्लो दुई वर्षदेखि यसको दुई हजार दरको नोटको प्रयोग भने घट्दो क्रममा रहेको थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले दुई हजार दरको भारतीय नोटको कारोबार गर्न नेपालमा प्रतिबन्ध लागेको हुँदा असर नपर्ने बताए ।