राजापुर बाढीको उच्च जोखिममा – Janadesh Daily | ePaper

राजापुर बाढीको उच्च जोखिममा


बाँके,


लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ ।

कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान गरी बोरामा माटो भर्दै जोखिम क्षेत्रमा फाल्न थालेका छन् ।

कर्णाली नदीमा पानीको सतह बढेर नौ मिटर पुगेको छ । यहाँ १० मिटर पानीको सतह पुगेमा उच्च खतरा हुन्छ । नदी कटान रोक्नका लागि स्थानीयवासीले बोरामा माटो भर्ने, तारजालीमा ढुङ्गा भर्ने, ड्याम बनाउने कार्य विगत एक हप्तादेखि गर्दै आएका छन् । राजापुर नगरपालिका बाढीको उच्च जोखिममा देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आज राजापुरमा बसेको छ । बैठकले जोखिम न्यूनीकरणका सम्पूर्ण उपाय अबलम्वन गर्ने निर्णय गरेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले जानकारी दिनुभयो ।

तिघ्रामा कटानले राजापुर बजारलगायत आसपासका दर्जनौं गाउँ डुबानको जोखिममा रहेको बताउँदै उहाँले यस क्षेत्रका बासिन्दालाई अहिले सुरक्षित स्थानमा बस्न आह्वान गरिएको छ भन्नुभयो । जोखिममा रहेका धेरैजसो बासिन्दा खाद्यान्न, लत्ता कपडा र लालाबालासहित राजापुरस्थित खाद्य संस्थानको भवनमा सर्ने काम भइरहेको बताइएको छ ।

स्थानीय प्रशासनले कर्णाली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बाढी पूर्व सुरक्षाको सबै तयारी गरिएको बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्