नेपाल-भारत सम्बन्ध: तिक्तता बढेका बेला ओली-मोदीबीच टेलिफोन सम्वाद – Janadesh Daily | ePaper

नेपाल-भारत सम्बन्ध: तिक्तता बढेका बेला ओली-मोदीबीच टेलिफोन सम्वाद


बिबिसी नेपाली

‌ओली र मोदी

नेपाल-भारतबीच सीमा लगायतका विषयले तिक्तता बढिरहेका बेला दुई प्रधानमन्त्रीबीच शनिवार टेलिफोन सम्वाद भएको छ।

भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा गरिएको सम्वादबारे दुवै देशको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् पुष्टि गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र जनतालाई बधाई दिएको परराष्ट्र मन्त्रालयले बताएको छ।

पछिल्लोपटक भारतले लिपुलेक क्षेत्रमा सडकको उद्घाटन गरेदेखि सुरु भएको दुई देशबीचको विवाद नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेपछि चुलिएको थियो।

टेलिफोन सम्वादमा के कुराकानी भयो?

भारतीय प्रधानमन्त्री मोदीले छिमेकीसँगको नयाँ प्राथमिकताबारे बोलेको उल्लेख गर्दै त्यसको नेपालका प्रधानमन्त्री ओलीले प्रशंसा गरेको नेपालको विज्ञप्तिमा जनाइएको छ।

भारतसँग दुईपक्षीय सहकार्य अर्थपूर्ण होस् भन्ने प्रधानमन्त्री ओलीले चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुवै प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारीसँग जुध्नका लागि गरिएका प्रयासबारे धारणा आदानप्रदान गर्दै यस क्षेत्रमा मिलेर काम गर्ने सहमति पनि जनाएका छन्।

दुवै देशका प्रधानमन्त्रीले भविष्यमा द्विपक्षीय विषयहरूमा निरन्तर छलफल गर्ने सहमति गरेको दुवै देशले जारी गरेका विज्ञप्तिमा उल्लेख छ।

नेपाल भारत

उक्त टेलिफोन सम्वादबारे भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्रीले फोन गरेर भारत सरकार र भारतीय जनतालाई बधाई दिएको उल्लेख छ।

भारतीय मन्त्रालयले मोदीले टेलिफोन गरेकोमा ओलीलाई धन्यवाद दिएका एवम् नेपाल र भारतबीचको सभ्यता र सांस्कृतिक सम्बन्धको स्मरण गरेका बताएको छ।

विवादको पृष्ठभूमिमा सम्वाद

सीमा विवादका विषयमा वार्ता गर्न नेपाल सरकारले पटकपटक आह्वान गरे पनि भारत पक्षले बेवास्ता गरेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्।

सीमा विवादले दुवैतर्फ वार्ताको वातावरण साँघुरिँदै गएका बेला दुवै देशका वरिष्ठ नेताहरूले दिएका अभिव्यक्तिहरू पनि विवादित बने।

रामायणमा उल्लेख गरिएका पौराणिक पात्र भगवान रामको जन्म भारतको अयोध्या नभई नेपालको ठोरीमा भएको भन्ने प्रधानमन्त्री ओलीको विवादास्पद अभिव्यक्तिले भारतसँगको दूरी थप बढाएको थियो।

त्यस्तै भारतीय विदेशमन्त्री एस जयशङ्करले भगवान गौतम बुद्धलाई ‘महान भारतीय’ भनेपछि त्यसप्रति नेपालका शीर्ष नेतादेखि धेरैले असन्तुष्टि जनाएका थिए।

दुवै देशका परराष्ट्र मन्त्रालयले ती अभिव्यक्तिहरूको अर्थ अर्कै रहेको भनी स्पष्टीकरण दिएका थिए।

दुई देशका यी विभिन्न पक्षमा भएका असन्तुष्टिले सम्वादहीनताको वातावरण बनाइरहेको भन्दै कूटनीतिज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्