टर्कीमा एर्दोगान बर्चश्वः पश्चिमा देश र नेटोविरुद्धकको नीतिले कसरी टिकिरहेका छन् सत्तामा – Janadesh Daily | ePaper

टर्कीमा एर्दोगान बर्चश्वः पश्चिमा देश र नेटोविरुद्धकको नीतिले कसरी टिकिरहेका छन् सत्तामा


जनादेश अन्तर्राष्ट्रिय वाच।

गत आइतवार सम्पन्न टर्कीको राष्ट्रपतीय निर्वाचन बहालवाला राष्ट्रपति रिसेप तैयव एर्दोगानले जितेका छन्। नयाँ कार्यकाल पूरा गर्न उनी थप ५ वर्ष सत्तामा रहने छन् । त्यसको अन्त्यसम्म उनको शासनकाल प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा २६ वर्षको हुनेछ ।

अर्थात् एर्दोगान एक्काइशौं शताब्दिमा टर्कीमा अहिलेसम्मको एकछत्र शासक बन्न सफल भएका छन् । मे १४ को पहिलो चरणको मतदानमा कसैको बहुमत नआएपछि मे २८ मा दुई उम्मेद्वारबीच चुनाव भएको थियो ।

 जस्टिस एण्ड डेभेलपमेन्ट पार्टीका सत्तारुढ राष्ट्रपति एर्दोगानले केही अन्य साना पार्टीलाई समेटेर ‘पिपुल्स एलाइन्स’ बनाएका थिए । विपक्षी रिपब्लिकन पिपुल्स पार्टीका कमल कल्चर्दाग्लु नेशनल एलाइन्सबाट एर्दोगानसँग प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा एर्दोगानले ४९.५ प्रतिशत मत पाएका थिए । पहिलो चरणमै विजयी हुन उनलाई ०.५ प्रतिशत मत कम भएको थियो । विपक्षी कल्चर्दाग्लुले ४४.९ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो चरणमा भने एर्दोगानले ५२.१६ प्रतिशत र विपक्षी उम्मेद्वार कल्चर्दाग्लुले ४७.८४ प्रतिशत मत प्राप्त गरे ।

एर्दोगानको जस्टिस एण्ड डेभेलपमेन्ट पार्टी सन् २००१ म गठन भएको थियो । एर्दोगान त्यस अघि नै सन् १९९४–१९९८ बीच इस्तानाबुलको मेयर निर्वाचित भइसकेका थिए । सन् २००३ देखि सन् २०१४ सम्म उनी टर्कीको प्रधानमन्त्री भएका थिए ।

सन् २०१४ को राष्ट्रपतीय निर्वाचन टर्कीको इतिहासमा पहिलो प्रत्यक्ष राष्ट्रपति निर्वाचन थियो । त्यस अघि संसदले राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव गर्ने र प्रधानमन्त्री कार्यकारी हुने संवैधानिक व्यवस्था थियो । त्यसयता उनी निरन्तर कार्यकारी राष्ट्रपतिका रुपमा कार्यरत थिए ।

सन् २००१ मा पार्टी गठन गर्नु अघि एर्दोगान एक इस्लामिक राजनीतिक समूहको कार्यकर्ता थिए । त्यसको सहयोगमा उनले इस्तानबुुलको मेयर जितेका थिए । वैचारिक दृष्टिकोणले एर्दाेगान इस्लामिक कन्जर्भेटिभ हुन् । उनको पार्टीलाई राजनीतिक विश्लेषकले ‘कन्जर्भेटिभ–डेमोक्र्याट्स’ मान्ने गरेका छन् । तर, पछिल्ला वर्षहरुमा एर्दोगानको दृष्टिकोण झनभन्दा झन् बढी दक्षिणपन्थी हुँदै गएको बताइन्छ।

यही वर्षको फेब्रुअरी छ र १३ मा टर्कीमा दुई ठूला भूकम्प आए । भूकम्पले पुर्याएको क्षति व्यवस्थापन, पुननिर्माणका समस्या, चरम मुद्रास्थिति र आर्थिक संकटले गर्दा बढेको जनअसन्तुष्टिको कारणले यसपटक एर्दोगानले चुनाव हार्न सक्ने अनुमान गरिएको थियो । त्यसका बाबजुद उनले चुनाव जितेका छन् ।

यसले टर्कीका जनतामा एर्दोगानको बलियो पकड र बर्चश्व स्थापित भएको पुष्टी भएको छ । टर्कीस समाज र राजनीतिमा उनको यति बलियो बर्चश्व स्थापित हुनुका ५ वटा कारण भएको बताइन्छ ।

पहिलो– उनको इस्लामिक कन्जर्भेटिभ धारणा हो । यो धारणाले टर्कीलाई मध्यकालिन अटोमान साम्राज्यको उत्तराधिकार राष्ट्रका रुपमा चित्रण गर्दछ । इस्लामिक खिलाफत परम्पराको आधुनिक रुप ठान्दछ । इस्लामिक धारणामा विश्वास र आस्था राख्ने मतदाताले एर्दोगानको यस्तो दृष्टिकोणलाई मन पराउँने गरेका छन् ।

दोस्रो– लामो समय सत्तामा बसेको कारणले उनले राज्यका अंग र निकायमा बलियो पकड बनाएका छन् । उनको यस्तो पकडले निर्वाचन जिताउन उनलाई ठूलो मद्दत गर्ने गरेको छ ।

तेस्रो कारण भने बलियो विपक्षी उम्मेद्वारको अभाव हो । लामो समयदेखि निरन्तर सत्ता बाहिर रहनु पर्दा टर्कीका विपक्षी कमजोर भएका छन् । उनीहरुले आफूभित्रबाट बलियो र लोकप्रिय नेतृत्व जन्माउन सकेका छैनन् ।

यसका बाबजुद यस पटक विपक्षी उम्मेद्वार कमल कल्चर्दाग्लुुले प्राप्त गरेको भोट उल्लेखनीय हो । एर्दोगानका सम्भावित वलिया विपक्षी उम्मेद्वारका रुपमा इस्तानाबुलका मेयर इक्रेम इमामग्लुलाई मानिएको थियो तर, गत वर्षको डिसेम्बर महिनामा उनलाई २ वर्षको जेल सजाय भएपछि उम्मेद्वार बन्न नसक्ने भएका थिए ।

अर्थात् एर्दोगान सरकारले लोकप्रिय विपक्षी नेतामाथि दमन समेत गर्ने गरेको छ । त्यसको राजनीतिक फाइदा उनलाई भइरहेको छ ।

चौथो– कारण भने उनले गरेको केही राम्रा र जनतालाई मन पर्ने खालका काम त्यसको प्रचारमार्फत् मिडियाले बनाएको उनको छवि हो ।

आफ्नो लामो शासनकालमा एर्दोगानले केही महत्वपूर्ण राष्ट्रिय पूर्वाधार निर्माण गरेका छन् र त्यसको प्रचारप्रसारले मतदातालाई राम्रोसँग प्रभावित गर्ने गरेको छ । टर्कीका सबैजसो मुख्य मिडिया हाउसमा एर्दोगानका नातेदार र साथीहरुको लगानी भएको बताइन्छ ।

पाँचौ कुरा– निर्वाचन स्वयं कति निष्पक्ष भयो भन्ने कुरा हो । निर्वाचन प्रक्रिया राज्यको स्रोत, सधान र शक्तिको दुरुपयोग पनि यसमा जोडिन्छ। सिएनएन विश्लेषक फरिद जकारियाका अनुसार टर्कीको निर्वाचन ‘स्वतन्त्र’ अवश्य देखिन्छ तर ‘निष्पक्ष’ छ भनेर पत्याउने आधार छैनन् । मतदान र मतगणनाको क्रममा केही धाँधलीका घटना समेत चर्चामा आएका थिए ।

समग्रमा एर्दोगानले मतदातामा आशा, भ्रम र भय तीन वटै चिज पैदा गर्ने गरेका छन् । यो उनका लागि लामो समय सत्तामा बस्ने अवसरको आधार बनेको छ ।

टर्की गणतन्त्रको स्थापना सन् १९२३ मा भएको थियो । यो वर्ष टर्की स्थापनाको शतबार्षिक पनि हो । शतबार्षिक वर्षको अवसरमा एर्दोगानले गरेका भाषणको मतदातामा गहिरो भावनात्मक प्रभाव परेको छ ।

उनी धर्मनिरपेक्षताको विचारबाट प्रभावित अवधिमा टर्कीको पतन भएको र फेरि एकपटक अटोमान साम्राज्यको महानतामा फिर्ता गर्नु पर्ने धारणा राख्दछन् । एर्दोगानको सबैभन्दा ठूलो प्रतिकुलता चाहिँ आर्थिक संकट हो ।

३ वर्ष यता टर्कीको अर्थतन्त्र निरन्तर सुस्त हुँदै गएको छ । टर्कीको केन्द्रीय बैंकले प्रतिमहिना चालु खाता घाटा १० विलियन डलर बराबर हुन थालेको र डलरको संचिती गत हप्ता सन् २००२ यता पहिलोटक ऋणात्मक भएको थियो । टर्कीस लिराको मुद्रास्फिति गत वर्ष इतिहासकै उच्च विन्दू ८४.५ प्रतिशत पुगेको थियो ।

तेल निर्यातक धनी अरबी राष्ट्रबाट ऋण लिएर एर्दोगानले यो संकट टार्दै आएका छन् । विदेश नीतिका सन्दर्भमा एर्दोगान पश्चिमा देश र नेटोविरुद्ध मानिन्छन् । उनी रुसी राष्ट्रपति ब्लादिमिर पुटिनसँगको निकट सम्बन्धबाट फाइदा उठाएर टर्कीलाई क्षेत्रीय शक्ति बनाउन चाहन्छन् ।

त्यसो त ६९ वर्षिय एर्दोगानको स्वास्थ्य स्थिति त्यति राम्रो भने छैन । उनले सन् २०२८ मा हुने अर्को राष्ट्रपतीय निर्वाचनसम्म सहीसलाम सत्ता सम्हाल्न सक्दछन् वा कार्यकालको बीचमै कुनै समस्या आउँला ? यसै भन्न सकिने अवस्था छैन ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्