दिल्लीको दाउपेचः जब प्रचण्डले अरुण र फुकोट कर्णाली जलविद्युत सम्झौता नगर्ने अडान लिए… – Janadesh Daily | ePaper

दिल्लीको दाउपेचः जब प्रचण्डले अरुण र फुकोट कर्णाली जलविद्युत सम्झौता नगर्ने अडान लिए…


जनादेश वाच।
लामो समयको पर्खाइपछि भारत भ्रमणमा निस्किएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल्लीले हार्दिकता साथ स्वागत गर्नेमा काठमाडौं आश्वस्त थियो। विमानस्थलदेखि सहरका चोकचोकमा प्रचण्ड–मोदीका फोटो–बोर्ड राखेर दिल्लीले स्वागतको संकेत दियो। मंगलबारसम्म कम्बोडियाका राजाको तस्बिर रहेका सहरका होर्डिङ बोर्डमा बुधबार दिउँसोबाट दौरा सुरुवाल र टोपी पहिरिएका प्रचण्ड देखिएका थिए।
विमानस्थलमा सांस्कृतिक झाँकीसहित राज्यमन्त्रीले प्रचण्डलाई गरेको स्वागत यसअघि भन्दा कम थिएन्।

तर होटल गेपछि भने नेपालले प्राथमिकतामा राखेका केही एजेण्डामा दिल्ली लचिलो नभएको संकेत र विदेशमन्त्री जयशंकर सहरमा नरहेको पुष्टिले सायद दिल्लीले प्रचण्डलाई हार्दिकता साथ स्वागत गरेको महशुस नेपाली पक्षले गर्न सकेन। जब मौर्य होटलको १४औं तलामा आफू बसेको होटलमा स्वागत गर्न भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल विदेश सचिव विनय मोहन क्वात्रासहित देखापरे प्रचण्डको टिम केहीबेर अलमलमा पर्यो। किनकी यसअघि डोभाल र सचिव क्वात्रा सँगै भेट्न आउने सूचना नेपाली पक्षलाई दिइएको थिएन्। उनीहरूसँग छुट्टाछुट्टै भेट गर्ने तयारी प्रधानमन्त्रीको टिमको थियो। सहमति गर्ने तयारी गरिएका कतिपय एजेण्डामा कुरा नमिलेकाले नेपाली पक्षलाई गलाउन अन्तिम समयमा डोभाल र क्वात्रा सँगै आएको अनुभूति भयो।

डोभालले नेपालको माग अनुसार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहज हुने गरी अतिरिक्त एयर रुट दिन नसकिने, २६ वर्षदेखि अड्किएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल अघि बढाउन नसकिने मात्रै होइन उर्जा व्यापार सम्झौता पनि टार्ने आसयका कुरा प्रचण्डसँग राखे। तर अन्तिम समयमा प्रचण्डले अडान लिए– उर्जा व्यापार सम्झौता नहुने भए भारतले लगानी गर्ने तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत सम्झौता पनि नगर्ने।

एकले अर्कोलाई गलाउने दुवै पक्षको रणनीतिक टक्करले एक रातमा अग्राख पलायो। बिहीबार प्रधानमन्त्री प्रचण्ड र मोदीबीचको औपचारिक वार्ता पहिले नै १० वर्षका लागि उर्जा व्यापार सम्झौता गर्न दिल्ली राजी भएको जानकारी नेपाली पक्षले पायो। जसले अन्तिम समयमा दुई प्रधानमन्त्री बीचको वार्तालाई केही सहज बनायो। हवाई रुट दिन र तत्काल पञ्चेश्वर परियोजना अगाडि बढाउन दिल्ली तयार नभए पनि उर्जा व्यापार सम्झौता हुने भएपछि सट्टामा तल्लो अरुण र फुकोट कार्णाली भारतलाई दिन प्रचण्ड राजी भए।

अघिल्लो रात एक अर्कालाई गलाउन लागि परेका दुवै पक्ष बिहीबार बिहान ११ बजे हैदराबाद हाउसको वार्ता–टेबलमा आइपुग्दा केही लचिलो भइसकेका थिए। जसले चीनको निम्तो पन्छाएर पहिला भारत भ्रमणमा आएका प्रचण्डलाई मिश्रित परिणाम लिएर काठमाडौं फर्कने आत्मबल दिलायो भने नेपालको जलविद्युतमा वर्चश्व कायम गर्ने आकांक्षामा भारत थप माथि चढ्यो।

भयो के भने केही दिन पहिलेदेखि अनुमान र चर्चा गरिएजस्तो विदेशमन्त्री एस जयशंकर ‘ओबामा स्वीट’ मा देखै परेनन्। उनी दिल्लीमै रहेर प्रचण्डलाई भेट्न होटल पुगेको वा हैदराबाद हाउसमा सहभागी भएको भए सायद दुई पक्षीय वार्ताले अर्कै सहज मोड लिन पनि सक्थ्यो। उनले थप कडा अडान लिएको अवस्थामा प्रचण्डको यो दिल्ली यात्रा ‘सद्भावना भ्रमण’ मै सिमित हुन पनि सक्थ्यो।

भारतमा मोदी कालका चतुर कुटनीतिज्ञ जयशंकर करिब एक दशकदेखि नेपालसँग जोडिँदै आएका छन्, जतिबेलादेखि उनी भारतको विदेश सचिव बने। संविधान जारी गर्ने तयारी भइरहेका बेला करिब सात वर्ष पहिले जयशंकर भारतको परराष्ट्र सचिव थिए, जुनबेला उनी प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा नेपाल आएका थिए। संविधान जारी हुनबाट रोक्न उनले दिएको दबाब दलहरूले नमानेपछि संभवतः उनकै प्रस्तावमा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो त्यसबेला। पछिल्लो समय उनीप्रतिको विश्वास पुनआर्जन हुँदै गएपनि काठमाडौंको नागरिक तहमा जयशंकरप्रतिको आशंका र आक्रोश हटिसकेको छैन।

विदेशमन्त्री जयशंकरको अनुपस्थितिमै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गराउने तयारी दिल्लीको साउथ ब्लकले किन गर्यो भन्ने पर्दा खुलिसकेको छैन।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्