‘हैदरावाद हाउसबाट रिजल्ट आयो’ – Janadesh Daily | ePaper

‘हैदरावाद हाउसबाट रिजल्ट आयो’


१९ जेठ, नयाँ दिल्ली । शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्नेबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खुशी देखिन्थे जबकि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा मंगलबार साँझ प्रचण्ड अलि दबाबमा देखिन्थे । ‘मलाई त एकचोटि त बिग्रन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो’ उनले नेपाली पत्रकारसँग गफिनेक्रममा भने, ‘एम्बेसीमा मेरो अनुहारमा कुनै चमक थिएन, कुनै दबाब भएजस्तो थियो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु वातावरण बनाउन ।’

प्रधानमन्त्री प्रचण्डले मोदीसँग भएको धेरै कुरा नेपालमै गएर सुनाउने बताए । ‘फेरि खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिँ नभनौं । बरु उता गएर तपाईंहरूसँग पछि कुरा गरौंला’ उनले भने, ‘तीनचोटी मेरो वान टु वान भयो उहाँसँग हिजो । छोटो पिरियडमा, पहिले झण्डै २०–२५ मिनेट, पछि पाँच–सात मिनेट गरेर वान टु वान मिटिङ जसरी भयो । त्यसले परिस्थितिलाई धेरै नै सहज बनाइदियो ।’

नयाँ दिल्लीमा नेपाली पत्रकारसँग प्रधानमन्त्री प्रचण्डले गरेको कुराकानीको सम्पादित अंशः

भारत भ्रमण कस्तो रह्यो ?

जे होस् राम्रो भयो । कूल मिलाएर राम्रो भयो । चौथो पटक प्रधानमन्त्रीको रूपमा आएको हुँ म । गएका तीनवटा भिजिट, यद्यपि दोस्रो भिजिट स्टेट भिजिट थियो । राष्ट्रपति भवनमै बसेको थिएँ म । तर त्यतिबेला पनि अहिले जति मिडिया कभर छ इण्डियाका मेजर मिडिया टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्सदेखि सबैले जुन महत्वका साथ कभर गरेका छन्, त्यस्तो कहिल्यै हुँदैनथ्यो । कुनै प्रधानमन्त्रीको सन्दर्भमा हुँदैनथ्यो । यिनीहरूले अहिले अलि बढी नै महत्व दिएको प्रष्टै देखियो ।

अब आउटकम के भयो भन्दा हामीले हेर्दा पहिलेदेखि सबभन्दा बढी जोड दिएको भनेको बिजुलीको व्यापार । लङटर्म पावर ट्रेड हुन्छ कि हुँदैन भन्ने थियो । नेपालको साँच्चै भन्ने हो भने आर्थिक क्षेत्रमा समृद्धिको एउटा दिशामा जाने भनेको हामीसँग भएको जे पोटेन्सियल छ, त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने कुरा हो । त्यो भनेको वास्तवमा पावर ट्रेड नै हो । समस्या पनि त्यहीँ थियो । अहिले ब्रेक थ्रु भयो भनेको त्यसमा नै हो ।

अर्को बंगलादेश, भारत र नेपालको बीचमा अलग-अलग त समझदारी भइनैसक्यो । बंगलादेश र नेपालको बीचमा, बंगलादेश र भारतको बीचमा, भारत र नेपालको बीचमा । जुन स्तरमा अब सहमति भएको छ र त्यो पनि ठूलो कुरो भन्ने कुरा प्रष्टै महसुस गर्न सकिने कुरा हो ।

एयर रुटको कुरा हाम्रो लागि अलि बढी महत्वको थियो । एयर रुटमा लो अल्टिच्युडको नेपालगञ्जमा दिने त सहमति भयो नै । तर हामीलाई हाई अल्टिच्युड नै चाहिन्छ । मैले महेन्द्रनगरतिरबाट हुँदाखेरी सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा राखेको छु । उनीहरूले त्यसमा हामी पोजेटिभ छौं भनेको हुनाले त्यतापट्टी पनि यो एउटा सानो भए पनि ब्रेक थ्रु नै भयो ।

सिमानाको समस्या हाम्रो लागि अर्को चर्को कुरा थियो । हिजो प्रधानमन्त्री मोदी र मेरो बीचमा छलफल भइसकेपछि अब सधैंको लागि यो सिमानाको समस्या हल गर्नुपर्छ, गम्भीर रूपले लागौं भन्नुभाथ्यो मलाई । उहाँले प्रेसमा पनि बोल्नुभयो- सीमाको समस्या हल गरिन्छ भनेर । मलाई त कुरा गर्दाखेरी विश्वासै दिलाउनु भएको थियो । मोदीजीले अहिलेसम्म सीमाको समस्या हल गर्ने भनेर आफ्नो मुखबाट भन्नु भएको थिएन । यो पनि यो पटकको भिजिटको एउटा ब्रेक थ्रु नै मान्न सकिन्छ जस्तो लागेको छ मलाई ।

त्यसको साथै चेकप्वाइन्टहरू, रेल, पाइपलाइन यी सबै पनि पोजेटिभ नै छन् । यसले नेपालको आर्थिक गतिविधिलाई अगाडि बढाउन ठूलो मद्दत गर्छ भन्ने नै लागेको छ ।

भ्रमणमा सबैको आँखा त परेकै थियो । फेरि हाम्रो नेपालमा अलि बढी नेगेटिभतिर जाने भइयो के । कस्तो एटिच्युड बनेको मान्छे, पाठक सबै त्यस्तै भएकोले हामी सबै त्यस्तै भइया हो कि, स्रोता त्यस्तै भएको हुनाले नेता त्यस्तै भएको हो कि, नेता त्यस्तो भाकोले स्रोता त्यस्तो भा हो कि । यो बढी विचित्र लाग्छ ।

तै पनि अस्ति बेलुकाको स्थिति र हिजो बिहानबाट विस्तारै वातावरण सकारात्मक बन्दै गयो । र हैदरावाद हाउसको रिजल्ट आयो । एमओयू भयो, एग्रिमेन्ट भयो । त्यो सबैले मेरो बुझाइमा यो भिजिट धेरै नै महत्वपूर्ण भयो । धेरै राम्रो सुरुवात भयो । ब्रेक थ्रु त्यसअर्थमा भयो । अहिले नै सबैचिज भइहाल्यो भनेर त होइन । तर धेरै ठूलो कुराको सुरुवात चाहिँ यो भिजिटबाट भयो ।

एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुहुन्छ भने एम्बेसीमा मेरो अनुहार ठूलो दबाव परेको जस्तो थियो । तर यसमा मोदीजीले नै बढी इनिसियटिभ लिएको देख्छु

मोदीजीले तपाईंसँगको एक्लाएक्लै भेटबाट हिटबाट हामी सुपरहिटतर्फ जाने निर्णय गर्‍यौं भन्नुभयो । त्यहाँ खास के कुरा भएको थियो ?

एउटा कुरा त के थियो भने बोर्डर इस्युको बारेमा हामीले कुरा गर्‍यौं । मैले यसलाई हल गर्नेबारे सोच्नुपर्छ, यो विषयलाई राखेर नेपाल-भारत सम्बन्धमा ब्रेक थ्रु हुनैपर्छ भनेर जसरी भनेको थिएँ त्यसबाट उहाँ अलि पोजेटिभ बन्दै गएको मैले फिल गरेको थिएँ ।

अर्को चाहिँ जलस्रोत र विद्युत व्यापार नै हो । उहाँको अलि बढी ध्यान यो क्लिन इनर्जीमा थियो । धेरै कुरा हाइड्रोजन इनर्जीतिर जाँदै छ नि त्यसको निम्ति एकदम छिटो विकास गर्नुपर्छ भन्ने उहाँको बढी इन्ट्रेस्ट थियो । सायद त्यहीकारणले उहाँले भन्नुभयो हिमालयको हाइटमा जान्छ ।

फेरि खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिँ नभनौं । बरु उता गएर तपाईंहरूसँग पछि कुरा गरौंला । तीनचोटी मेरो वान टु वान भयो उहाँसँग हिजो । छोटो पिरियडमा, पहिले झण्डै २०–२५ मिनेट, पछि पाँच–सात मिनेट गरेर वान टु वान मिटिङ जसरी भयो, त्यसले परिस्थितिलाई धेरै नै सहज बनाइदियो । सायद त्यही कुराकानीबाट कन्भिन्स भएर होला सुपर हिट र हिमालयको हाइटमा जान्छ भन्ने एउटा कन्फिडेन्स उहाँलाई बनेको देख्छु मैले ।

हामीलाई पनि अहिले नेपालको राष्ट्रिय इन्ट्रेस्टको निम्ति र दुई देशको सम्बन्ध बलियो बनाउने र आर्थिक गतिविधिलाई चलायमान बनाउने ऐतिहासिक आवश्यकता छ । हामीले यहाँ ब्रेकथ्रु नगरीकन उहाँ ब्रेकथ्रु हुँदैन । त्यसकारण धेरै मिहिनेत गरियो ।

एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुहुन्छ भने एम्बेसीमा मेरो अनुहार ठूलो दबाव परेको जस्तो थियो । तर यसमा मोदीजीले नै बढी इनिसियटिभ लिएको देख्छु, वातावरण सहज बनाउन ।

वान टु वान मिटिङदेखि अलि सम्हालिंदै आयो ?

अँ, सम्हालिंदै आयो ।

नेपालका प्रधानमन्त्रीहरूले धेरैपटक भारतको भ्रमण गर्नुभयो । तपाईंले नै चार पटक भ्रमण गर्नुभयो । तपाईंको चारपटकको भ्रमणमा सबैभन्दा राम्रो यसपटक भयो ?

अहिले धेरै किसिमले, धेरै सहमति पनि भएको र एउटा ब्रेक थ्रु नै भन्छु मैले । एउटा लङटर्म पावर एग्रिमेन्ट धेरै वर्षदेखिको हाम्रो चाहना थियो, नेपालीहरूको चाहना थियो, त्यो अहिले भयो । सिमानाको समस्या हल गर्नुपर्छ भनेर हामी मात्र भन्थ्यौं अहिले भारतले नै भन्यो । यी यस्ता कुरा, जसले नेपालको आर्थिक पनि राजनीतिमा पनि नेपालको ल्याण्डस्केपमा धेरै परसम्म महत्व राख्छ । त्यसकारण यही भ्रमण नै मैले मेरो लागि ऐतिहासिक मानेको छु । यो ऐतिहासिक भयो ।

हाइड्रोजन इनर्जीको कुरा गर्नुभयो । त्यसमा नेपाल र भारतबीचमा केही लेनदेन बन्न सक्छ ?

बन्नसक्छ । किनभने हाइड्रोजन इनर्जीको निम्ति क्लिन इनर्जी धेरै महत्वपूर्ण एलिमेन्ट रहेछ । त्यसो भएको हुनाले हामीसँग क्लिन इनर्जी प्रचुर भएको हुनाले र अब त्यसलाई हाइड्रोजन इनर्जीमा ट्रान्सफर्म गर्नको लागि त्यो चाहिने भएको हुनाले हामी दुई देशबीचको सहकार्य त्यसमा दुवैले महसुस गरेको मैले ठानें ।

१० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने कुरा गरेको छ भारतले । हामी १० हजार मेगावाट उत्पादन गर्न सक्ने अवस्थामा छौं ?

एउटा कुरा के हो भने नि नेपालमा हाइड्रो सेक्टरमा ठूलो लगानी गर्ने कुरा इन्टरनेशनल कम्पनीहरू डराउने कारण मार्केट छैन । नेपालमा त्यो उत्पादन गरेर सबै खपत गर्न सक्ने स्थिति हुन्न, भारत लिन तयार छैन भनेपछि मानिसहरू त्यहाँ लगानी गर्न डराउनुको मुख्यकारण त्यो हो ।

अब हिजोको घोषणाले अब डर हरायो । अब नेपालमा १० हजार मेगावाटसम्म त १० वर्षमा जाने भयो भारत । भनेपछि, ठूलो स्केलमा लगानी गर्न अब मानिसहरू उत्साहित हुन्छन् र आउँछन् । त्यसअर्थमा त्यसको महत्व अलि रणनीतिक नै छ जस्तो लाग्छ ।

सीमा समस्या समाधानबारे हामीले छलफल गर्दा विभिन्न विकल्प, एउटा त बंगलादेश मोडेल हुनसक्छ । अर्को हामीलाई बंगलादेशसम्म सिधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहिँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ ।

अहिले नै हामीसँग ३ हजार, ३५ सय, ३७ सयसम्म पुग्ने नै छ । अहिले पाइपलाइनमा रहेकालाई तीव्र गतिमा निर्माण कार्य अगाडि बढायो भने १० हजार पुर्‍याउन सकिन्छ । तर दसैहजार यता बेचिन्छ भन्ने त होइन । मेरो जोड त देशभित्रै खपत बढाउनेलाई प्राथमिकता दिने हो । बेच्नेलाई पनि हो ।

यसमा प्रधानमन्त्रीज्यू ठूलठूला लगानी ल्याउने सम्भावना भएका र ल्याइरहेका केही देशहरूको लगानी भएका परियोजनाबाट उत्पादित जलविद्युत नलिने भन्ने जुन भारतको अडान छ, यसमा पनि केही छलफल भयो कि ?

तामाकोसीको कुरा गर्दाखेरि या हामीले दुईपक्षीय र रेष्ट्रिक्टेड मिटिङमा पनि र वान टु वानमा पनि जोड गरेको कुरा ग्लोबल टेन्डरबाट कसैले ठेक्का प्राप्त गर्‍यो भने त्यसको बिजुली लिन्न भन्न त बिल्कुल मिलेन भनेपछि हिजोबाट त्यो ढोका खुल्यो । लगानी नै कसैले गरेकोमा त उहाँहरूको रिजर्भेसन छ । सिधै नै बुझिएको कुरा छ । तर ग्लोबल टेन्डरबाट प्राप्त गर्‍यो भने त्यसबाट उत्पादित विद्युत नलिने भन्ने कुरा र्‍यासनल पनि हुँदैन र त्यो मिल्दैन ।

नेपाल-भारत सम्बन्धमा कुरा गर्दाखेरि सीमा विवाद दीर्घकालीन रूपमा समाधान कुन मोडेलमा गर्ने ? यसबारे कुनै आधार भारतले दियो ?

अहिले चर्चा धेरै भयो सीमाको बारेमा । आज इन्डियन मिडियामा पनि कालापानीको चर्चा भएको कुरा र त्यसमा समाधान गर्नुपर्छ भन्ने स्प्रिटमा अगाडि बढेको कुरा त लेखेकै छन् । हामीले छलफल गर्दा विभिन्न विकल्प, एउटा त बंगलादेश मोडेल भन्ने गरिन्छ । बंगलादेश र भारतको बीचमा पनि धेरै वर्षदेखिको समस्या थियो तर उनीहरूले हल गरे । एउटा त्यो मोडेल हुनसक्छ ।

अर्को हामीलाई बंगलादेशसम्म सिधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहिँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ । हाम्रा विज्ञहरूको सुझाव त्यो आउने गरेकै छ । नेपालमा विज्ञहरूले त्यतापट्टि पाउने हो भने ठिकै छ भन्ने खालको नि कुरा आछ त्यो पनि हुनसक्छ । अथवा अर्को केही पनि हुनसक्छ ।

त्यसकारण विकल्पहरूबारे सोच्न सुरु भयो हिजोबाट । विकल्पबारे सोच्न सुरु हुनु नै ब्रेक थ्रु हो । त्यसो भएर मोदी जी बोल्नुभयो आफैंले । यो राखिराख्यो भने त नेपाल-भारत सम्बन्ध कहिल्यै पनि सहज भएन । यसलाई हल गरियो भने  इकोनोमिक, कल्चरल अरु त छँदैछ हाम्रो । त्यसकारण हिजोबाट बाउन्ड्रीको बारेमा कन्स्ट्रक्टिभ डिबेट सुरु भयो ।

अब ईपीजीको विषय चाहिँ अलि छायामा पर्दै गएको हो ? त्यो बुझ्नुपर्‍यो हामीले ?

नेपालमा हामी सबैले त्यो विषय अलि बढी गम्भीरतापूर्वक लिएको स्थिति त हो । तर मलाई के लाग्यो भने यो विषयमा विवाद गरेर सबै काम अड्काएर बस्नुभन्दा फुकाउँदै जाने र पछि वातावरण बनाएर यो ईपीजी एउटा विन्दुमा गएपछि हुन्छ भन्ने ठान्छु ।

दुईपक्षीय भेटघाटमा यो विषय उठ्यो कि उठेन ?

अहिले त यो विषय उठेन । उठाएर माहोल बिगार्नेतिर लागिएन । त्यसले माहोल बन्दैन भन्ने बुझियो के । हुने कुरा पनि बिग्रिने गरी किन गर्ने ? राम्रा काम अगाडि बढाउँदै गएपछि यो पनि हुन्छ भन्ने छ मेरो ।

पञ्चेश्वरको इस्यु तपाईंले जति पुस गर्न खोज्नुभाथ्यो भिजिटमा, इन्डियाले चाहिँ त्यति गरेको अनुभूति भएन, होइन ?

हामी छलफल गर्दै जाँदा एउटा यस्तो विन्दुतिर गयौं के । पहिला पञ्चेश्वरको कुरामा, तल्लो शारदामा प्रयोग भएको पानीको कुरा थियो मुख्य त । त्यसले महाकाली सन्धिमा तल्लो शारदाको चर्चा पनि छैन, केही पनि छैन । हामी कता गएर अप्ठ्यारोमा परियो भने तल्लो शारदा आइदिने, एक्जिस्टिङ युज अफ वाटर भन्ने कुरा आउनी, त्यसपछि महाकाली सन्धि, पञ्चेश्वर अगाडि नबढ्ने ।

अहिले चाहिँ हामी यी सबै कुरा छोडेर महाकाली सन्धिलाई नै केन्द्रविन्दु बनाएर पहिला त्यो अनुसार डीपीआर तयार गर्ने । डीपीआर तयार गरेपछि त बनाउने प्रक्रिया स्वतः अगाडि जान्छ । यो बाटोबाट छिरियो के अहिले । छिर्नलाई छिर्‍यो पञ्चेश्वर । नेपालमा र पहिला भारतमा पनि जसरी छलफल भएको थियो त्यो रूपमा छिरेन । नयाँ रूपमा चाहिँ यसलाई अगाडि बढाउने भन्ने चाहिँ भयो ।

काठमाडौंबाट भारत प्रस्थान गर्नुअघि चिनियाँ प्रतिनिधिमण्डललाई भेट्नुभयो । त्यसले कतिपय मानिसमा चिसो पनि पस्यो । यसबारे के थियो ?

यो सबै संयोग हो हेर्नुस् । यो चाणक्य पनि होइन, केही पनि होइन । सबै मिलेर । तपाईं पत्रकाहरुले पनि आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुभयो । नेपाली बुद्धिजीवीहरु, पार्टीहरूले कसैले आलोचना गरेर, कसैले समर्थन गरेर पनि भूमिका खेल्नुभयो र रिजल्ट राम्रो आएको छ । अब यसलाई राम्रो मोमेन्टम लिएर जाऔं ।

भारत भ्रमणको ठिक अगाडि नागरिकता विधेयक प्रमाणीकरण भयो । यो संयोग थियो कि के थियो ?

मैले त धेरै पहिले नै राष्ट्रपति जीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । त्यो तपाईंहरुलाई पनि थाहा छ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो, मैले बुझ्दाखेरि । धेरैपटक राष्ट्रपतिजीसँग कुरा भएको थियो नि त । म चाहन्थें कि अलि पहिल्यै होस् । मेरो भारत भ्रमणसँग यो नजोडियोस् भन्ने मेरो चाहना स्वतः थियो । तर राष्ट्रपतिजीले गर्दै जाँदा त्यही दिन पार्नुभयो । त्यो बारेमा डिबेट पनि भयो । यो संयोग हो ।

गोर्खा भर्तीबारे के कुरा भयो ?

यो बारेमा अप्रत्यक्ष कुरा भयो । म पछि भन्छु । अनलाईन खवरबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्