शरणार्थी प्रकरणमा महत्त्वपूर्ण व्यक्तिको बयानः टोपबहादुर नै प्रमुख योजनाकार – Janadesh Daily | ePaper

शरणार्थी प्रकरणमा महत्त्वपूर्ण व्यक्तिको बयानः टोपबहादुर नै प्रमुख योजनाकार


जनादेश वाच।
भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई योजनाकार रहेको बताएका छन् ।

उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ ।


रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भने, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलाल पुगेका थियौं ।’

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएको र आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भने, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला । सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नुभयो ।’

रिजालले बयानमा उक्त भेटपछि सानु र केशवमाथि शंका लागेको भए पनि उनीहरूले भनेजस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरू हुन थालेको , त्यसपछि उनीहरूले भने जस्ता काम हुने रहेछ भन्ने लागेको भन्दै टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको बताए।

पढ्नुहाेस् पूर्ण सवाल-जवाफ

सवालः तपाईंको बाबुआमाको नाम पर, तपाईंको नाम, घर उमेर के हो ? स्थायी ठेगाना कहाँ हो र सम्पर्क नम्बर के हो ? तपाईं कुन पेशा, व्यवसाय वा संस्थामा संलग्न हुनु हुन्छ ? विस्तृत विवरणसहित, खुलाइदिनुहोस् ।

जवाफः मेरो बुबाको नाम दिनानाथ रिजाल, आमाको नाम विष्णुमाया रिजाल हो । मेरो नाम टेकनाथ रिजाल हो । हाल ७६ वर्षको भएँ । मेरो हाल बसोबास भएको स्थायी ठेगाना जिल्ला झापा बिर्तामोड नगरपालिका-४ हो । म यहाँ काठमाडाैं आउँदा चाबहिलमा समेत बसोबास गर्ने गरेको छु । मेरो सम्पर्क न ९८४९९५०६९९ म फेसबुक, भाइबर र ह्वाट्सप चलाउँछु । तर तिनको आइडी कि नाम मलाई याद भएन । मलाई भुटानी शरणार्थीको आस्थाको बन्दीको रूपमा लिने गरिएको छ । भुटानी शरणार्थीको अधिकारको सम्बन्धमा वकालत गर्दै आएको छु । म विश्वका विभिन्न मुलुकले विरोध गरिआएको मानवनिर्मित आधुनिक वैज्ञानिकयन्त्रद्वारा विगत ३० वर्षदेखि निरन्तर रूपले तड्पिआएको व्यक्ति हुँ ।

सवालः– तपाईं आज अदालतमा किन आउनु भएको हो ?

जवाफ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनी अमेरिका नपठाई ठगी गरेको भन्ने विषयमा गजेन्द्र बुढाथोकीसमेतको जाहेरी परी ठगीसमेतको कसूरमा अनुसन्धानको क्रममा प्रकाउ परी बयानको लागि उपस्थित भएको छु ।

सवालः– तपाईंलाई तपाईंं उपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर बयान दिन कर लाग्ने छैन, तपाईंले दिएको बयान तपाईंको विरुद्धमा प्रमाण लाग्न सक्छ, तपाईं बयान दिन तयार हुनुहुन्छ ?

जवाफ- म बयान दिन तयार छु ।

सवालः– तपाईंले योभन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाउनु भएको छ, छैन खुलाइदिनुहोस् ।

जवाफ- छैन ।

सवाल– तपाईंको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था कस्तो छ ? तपाईंलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नु हुन्छ ? तपाईंले कानुन व्यवसायी राख्नुभएको छ, छैन ? कानुन व्यवसायी राख्न सक्नुहुन्छ, हुन्न ?

जवाफः– मेरो शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था ठीक छ । बयान दिन सक्छु । आफ्नोतर्फबाट बहस पैरवीको लागि कानुन व्यवसायी राखेको छु ।

सवाल– प्रतिवादीहरूमध्ये क-कसलाई चिन्नुहुन्छ ? निजहरूसँग लेनदेन रिसईबी झगडा छ छैन ?

जवाफः प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीसँग चिनजान छ । निजहरूसँग भुटानी शरणार्थीलाई अमेरिका पठाउने र त्यसै क्रममा नेपालीहरूलाई समेत नक्कली भुटानी शरणार्थी बनाई घुसाएर अमेरिका लाने भनी मसँग कुरा गर्न बिर्तामोड मेरो घरमा जाँदा निजहरूसँग चिनजान भएको हो । डा. इन्द्रजित राईसँग चिनजान छ । निजसँग मैले माइन्ड कन्ट्रोल भन्ने बुक लेखेको थिएँ । सो बुक लेखिसकेर त्यसको फरवार्डिङ लेख्ने क्रममा चिनजान भएको हो ।

प्रतिवादी टोपबहादुर रायमाझीसँग चिनजान छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्ने सिलसिलामा कुराकानी हुँदा चिनजान भएको हो । प्रतिवादी विक्रम भनिने गोविन्दकुमार चौधरी र रामशरण केसीसँग नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्ने सन्दर्भमा सुरुमा भेट भएको थियो । पछि निजसँग भेट भएको छैन ।

प्रतिवादी अशोक पोखरेलसँग १२ पटक भेट भएको छ । निज केशवप्रसाद दुलाल र सानु भण्डारीसँगै हिँड्ने भएकाले भेट भएको हो । निजसँग भेट भएको मात्र हो, अन्य त्यस्तो कुराकानी भएको छैन । चिनजान भएकामध्ये रामशरण केसीसे नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनी विभिन्न व्यक्तिबाट रकम लिएका रहेछन्, ती रकम दिएका व्यक्तिहरूले मलाई सोध्दा मैले यसरी जान सकिँदैन, तपाईंहरूको काम बन्न गारो छ भन्दा राम शरण केसी मसँग रिसाएका थिए । निजले रकम लिएका व्यक्तिहरूसँग मैले कुरा गर्दा नक्कली भुटानी शरणार्थी बनाई अमेरिका जान पाइन्छ भन्ने जवाफ मैले दिनुपर्छ भन्ने निजले अपेक्षा गरेका थिए । त्यो जवाफ मैले नदिँदा निज मसँग रिसाएका थिए । अन्य चिनजान भएका व्यक्तिहरूसँग लेनदेन रिसईबी केही छैन । बाँकी प्रतिवादीहरूलाई चिन्दिन र निजहरूसँग भेटघाट भएको छैन ।

सवाल– जाहेरवाला गजेन्द्र बुढाथोकीसमेत विभिन्न जाहेरवालाहरूले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरू छन् । सो सम्बन्धमा तपाईंलाई के थाहा छ ? को को भई के कसरी जाहेरी दरखास्त उल्लेख गरेअनुसारको कसूर गर्नुभएको हो ? खुलाइदिनुहोस् ।

जवाफ- यस सम्बन्धनमा मेरो कुनै संलग्नता छैन ।

सवाल– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने योजना क-कसले बनाउनुभएको हो ? तपाईंले कोमार्फत यसबारेमा जानकारी पाउनुभएको हो ? खुलाइदिनुस् न ।

जवाफ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने योजना मैले बनाएकै होइन । मैले बुझेसम्म यो नेपाल सरकारको माथिल्लो तहबाट बनेकाे हाे । म शरणार्थीको पक्षमा आवाज उठाइरहेको व्यक्ति न इन्डिया जना पाउँछु न त नेपालमा नै कुनै अधिकार पाएको छु, न त काठमाडाैंमा सिंहदरबारमा छिर्न पाउने अवस्था छ । त्यसै क्रममा म बल्लतल्ल गृह मन्त्रालयमा कुरा राख्छु भनी गृह मन्त्रालयमा गई नाम एकीन भएन मलखु थरका सचिवसँग भेट गरी कुरकानी गर्दा मलाई झपार्दै बाहिर निकाल्नु भएको थियो । त्यसैक्रममा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समेतको योजना लिई केशवप्रसाद दुलाल र सानु भण्डारी मेरो बिर्तामोडमा रहेको घरमा भेटन गएका थिए ।

त्यस समयमा मैले ‘भुटानी शरणार्थीका अधिकारको लागि यति लामो समयसम्म आवाज उठाइरहेको छु, तर पनि भुटानी न त नेपालमा न त विदेशमा नै आवस्था मिलाउने सन्दर्भमा केही प्रगति पनि भएको छैन, भुटानी शरणार्थीहरू धेरै नै दुःख पाइरहेका छन्, अझ तपाईंं नेपाली नागरिक भुटानी शरणार्थी बनाई अमेरिका या विदेश जाने कुरा गर्नुहुन्छ, मैले नेपाल सरकारबाट निर्णय भएको सुविधा पाएको छैन, यो कसरी सम्भव छ’ भनी प्रश्न गर्दा निजहरूले ‘तपाईंले पाउने सुविधा पाउनुहुन्छ, हामीले सबै कुरा मिलाइसकेका छौँ, भुटानी शरणार्थीहरूलाई अमेरिका वा विदेश पठाउने त्यसमा नेपाली नागरिकहरूलाई समेत नक्कली भुटानी शरणार्थी बनाई अमेरिका वा तेस्राे देश लाने योजना छ, हामी सबै सरकारी तबरबाट मिलाउँछौँ, केही सुविधा र रकम लिएर भुटानीहरूलाई र नेपालीहरूलाई पनि मिलाएर लैजाने हो’ भनी निजहरूले भनेका हुन् ।

मैले ‘यस्ता कुरा मलाई केही थाहा हुँदैन, सरकारले नै यस्तो नीति र कानुन बनाएर लाने काम गर्छ भने मैले भन्नु केही छैन, मेरो भनाइ के छ भने लामो समयदेखि दुःख पाएर बसेका भुटानी शरणार्थीहरूसँग कुनै पनि रकम लिन मिल्दैन, निजहरूलाई सहज र सरल रूपमा अमेरिका वा अन्य देश उनीहरूको रोजाइमा जाने व्यवस्था मिलाउनु हुन्छ भने मेरो समर्थन छ, यसको लागि मलाई कुनै रकम पनि चाहिँदैन र त्यस्तो कुरा मलाई नहोला’ भनेको थिएँ ।

त्यस्तै ‘तपाईंहरूले गर्नुभएको कुराको सुनिश्चितताको लागि मलाई एकपटक केपी ओली र प्रचण्डलाई भेट गराईदिनुहोस, निजहरूसँग कुरा भएपछि मात्र म ढुक्क हुन्छु, नत्र मलाई यो सरकारी कानुनको बारेमा सबै ज्ञान हुँदैन’ भनेको थिएँ । तर निजहरूले मलाई केपी ओलीसँग भेट गराउन सकेनन् ।

त्यस्तै मलाई टिकट काटेर झापाबाट बोलाई एअरपोर्टमा गोविन्दकुमार चौधरी लिन गएका र निजले टाेपबहादुर रायमाझीको घरमा लगी निज टोपबहादुर रायमाझीको घरमा शरणार्थीको विषयमा कुराकानी हुँदा कुरा क्लिएर नभएपछि प्रचण्डसँग भेट गराइदिन भनी प्रचण्ड निवासमा लगेका थिए । प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशरप्रसाद दुलाल गएका थियौँ ।

प्रचण्ड निवासमा प्रचण्डसँग भेटघाट हुँदा निजले ‘उहाँहरू को ?’ भनी सानु भण्डारी र केशवप्रसाद दुलाललाई सोध्नुभएको थियो । टोपबहादुर रायमाझीले निजहरू सानु भण्डारी र केशवप्रसाद दुलाल भएको भनी चिनाउनु भयो । मैले प्रचण्डसँग भुटानी शरणार्थीको व्यवस्थापन सम्बन्धमा कुराकानी गर्न आएको भनी कुरा गर्दा प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए निजले समाधान गर्नुहुन्छ भनी भन्नुभयो ।

सानु भण्डारी र केशवप्रसाद दुलालले मेरो घरमा कुराकानी गर्दा प्रचण्डसँग राम्रो सम्बन्ध रहेको भनी भनेकामा त्यहाँ भेटन जाँदा निजहरूलाई को भनी सोध्दा निजहरूले आफूसँग प्रचण्डको राम्रो सम्बन्ध रहेको भनेको कुरामा मलाई शंका लागेको थियो । पछि निजहरूले भनेजस्तो मैले रोकिएको सुविधा पनि पाएँ, भुटानी शरणार्थीहरूका बारेमा विभिन्न निर्णयहरू सरकारी तबरबाट हुन थाले, सरकारी अधिकारीहरू गई शिविरमा डाटा संकलन हुने काम सुरुवात भयो । मैले पनि निजहरूले भनेजस्तो काम हुने रहेछ भन्ने ठानेँ । मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।

सवाल– तपाईंलाई जाहेरवाला प्रेमराज पन्थीले जाहेरी दरखास्तमा उल्लेख गरेको व्यहोरा पढिवाची सुनाइन्छ, सो व्यहोरामा उल्लेख गरेको कुरा के कसो हो ? तपाईंलाई जानकारी भएसम्मको विवरण खुलाइदिनुहोस ।

जवाफः– निज प्रेमराज पन्थी भन्ने मान्छेलाई म चिन्दिनँ । गोकुल थापासँग मेरो चिनजान भएता पनि निज प्रेमराज पन्थीसँग निजले उल्लेख गरेको शिवम होटलमा कुराकानी भएको मलाई जानकारी छैन । निजसँग पटक-पटक नक्कली भुटानी शरणार्थीको विषयमा कुराकानी भएको छ । निजसमेत नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भनी रकम उठाउने कुरामा सानु भण्डारी र केशवप्रसाद दुलालजतिकै भूमिका रहेका व्यक्ति हुन् ।

निजले गोकुल थापालाई के कति रकम दिए मलाई केही जानकारी छैन । यस कामको सिलसिलामा मसँग विभिन्न व्यक्तिहरूले मलाई फोन सम्पर्क गरी भेट्ने गरेका, जसलाई भेट्दा कुराकानी हुँदा पनि ‘भुटानीहरूसँग कुनै पनि रकम लिन नपाइने र निजहरूको इच्छाअनुसार अर्को देशमा पुनर्स्थापना हुनुपर्छ र मलाई सोबापत कुनै रकम दिनुपर्दैन, हाम्रो समस्या समाधान भए पुग्छ’ भन्ने गरेको थिएँ । सरकारी तवरबाट विभिन्न नीति, नियम, कानुन बनाएर अन्य व्यक्तिहरूलाई पनि समावेश गराउने कुरा तपाईंहरूले जान्ने कुरा हो, मलाई कानुनको विषयमा जानकारी हुँदैन भन्दै आएको थिएँ । केशव दुलाल र सानू भण्डारीले हामी सरकारी अधिकारीका प्रतिनिधिहरू हो हामीले सबै मिलाउँछौ, मन्त्री तथा उच्च ओहदाका व्यक्तिहरूसँग राम्रो चिनजान र कुराकानी भैरहेको छ भनी भन्ने गरेका थिए ।

निजहरूसँग नै मेरो कुराकानी भएको हो । केशव दुलाल र सानू भण्डारीले भुटानी शरणार्थीहरूको डाटा संकलन भएपछि छुट भएका दर्ता हुन बाँकी भुटानीहरूको कार्ड बनाउनुपर्छ त्यसको रेकर्ड राखी निर्णय गराउनुपर्छ भनी मन्त्रालयबाट नै पठाएको कार्ड भनी मलाई २०/२५ वटा कार्ड भरेर दिएका थिए । मैले पनि नेपाल सरकारबाट नै निर्णय भएको भनेपछि निजले भरेका कार्डमा सही गरेको थिएँ । अन्य नेपाली नागरिकलाई भुटानी शरणार्थीको रूपमा अभिलेख राख्न फर्म भर्नुपर्छ भनी फारम भराएका थिए । नेपालीहरूले भरेको त्यस फर्ममा मलाई कुनै प्रमाणित गर्न लगाएका थिएनन् र मैले पनि प्रमाणित गरेको छैन । ती फर्म भरेका नेपालीहरू भुटानी भनी भुटानी क्याम्पमा गएपछि मात्र निजको कार्ड बनाउने हो भनेका थिए ।

निज नेपालीहरू भुटानी क्याम्पमा नै जान पाएनन् । त्यही भएर नेपालीहरूकाे भुटानी कार्ड बनाएर मलाई सही गर्न लगाएको मलाई जानकारी छैन र मैले पनि गरेको छैन ।

सवाल– तपाईंलाई पेश भएको मिसिल संलग्न अनुसन्धानमा लेखाउनु भएको सम्पूर्ण बयान व्यहोरा पढिवाची सुनाइन्छ, सो व्यहोरा के कसो हो ? उक्त क्यानमा रहेको सहिछाप तपाईंको हो होइन, खुलाईदिनुहोस ।

जवाफः– सम्पूर्ण व्यहोरा सुनाउँदा सुनिपाएँ । उक्त बयानमा लेखिएकोमध्ये ईन्द्रजित राई र टाेपबहादुर रायमाझीले पीडितहरूबाट रकम लिएको बारे मलाई जानकारी छैन । निजहरू नेपाली नागरिकहरूलाई नक्कली शरणार्थी बनाई अमेरिका लानेको भूमिकामा रहेको भन्ने चाहिँ सुनेको छु । प्रतिवादी अशोक पोखरेल यस प्रकरणमा संलग्न रहेको र डिजाइन गरेको भन्ने मलाई जानकारी छैन । उक्त बयानमा मैले नभनेको अशोक पोखरेल संलग्न भएको व्यहोरा कसरी लेखियो मलाई थाहा भएन । Bhutan human right organization membership Card मा सहिछाप गर्न ईन्द्रजित राई र टाेपबहादुर रायमाझी मलाई भनेका होइनन् । उक्त कार्डमा सहिछाप गर्न मलाई सानु भण्डारी र केशवप्रसाद दुलालले हुन् । छुट भएका भुटानीहरूको अभिलेख भएको कार्ड भनी निजहरूले भनेको हुँदा मैले सही गरेका सानु भण्डारी र केशवप्रसाद दुलालसँग गोकुल थापाको के कस्तो सम्बन्ध रहेको सो बारेमा भएन । निजले भुटानी शरणार्थीलाई अमेरिका लाउने कार्यमा संलग्न रहेको मलाई जानकारी छैन ।

व्यहोराबाहेक मैले अनुसन्धानको क्रममा लेखाएको अन्य बयान व्यहोरा ठीक साचो छ । मिसिल संलग्न पेश भएको बयानमा भएको सहिछाप हेरे, उक्त सहिछाप मेरो हो । हरी सनाखत गरिदिएँ ।

सवाल– तपाईंलाई सह प्रतिवादी रामशरण केसीले अनुसन्धानको क्रममा खुलाई लेखाई दिएक बयान व्यहोरामा तपाईंको पिए गोकुल थापालाई रकम दिएको र सो सम्बन्धमा तपाईंलाई बुझ्दा काम केही ढिला भएको मात्र हो भनी जानकारी भएको भनी उल्लेख गरेको कुरा के कसो हो ? तपाईंंले के कति रकम पिए गोकुल थापामार्फत लिनुभएको हो खुलाइदिनुहोस् ।

जवाफः– निज गोकुल थापा मेरो पिए होइनन् । निजले के कति कारणले पिए भनेका हुन् थाह भएन । मलाई निजले रकम लिएको बारेमा थाहा पनि छैन र निजले मलाई कुनै रकम दिएका छैनन् । मेरो घरमा गई भेटेको कुरा गलत हो । सो कुरा मलाई सम्झना छैन ।

सवाल– तपाईंलाई सह प्रतिवादी रामशरण केसीले अनुसन्धानको क्रममा खुलाई लेखाई दिएकाे बयान व्यहोरामा तपाईंंसँग फोन सम्पर्क गर्दा चाबहिलको एवान पार्टी प्यालेसमा आउनु भनेको हुँदा निजसँग भेट्न गएको भन्ने कुरा के कसो हो ? तपाईंहरूको बीचमा भेटमा के-के कुराकानी भयो ?

जवाफः– निज राशरण केसीसँग चाबहिलको एवान पार्टी प्यालेस भेटघाट भएको छैन । निजले के कारणले उक्त व्यहोरा भनेका हुन् थाहा भएन ।

सवाल– तपाईंलाई सह प्रतिवादी विक्रम भन्ने गोविन्दकुमार चौधरीले अनुसन्धानको क्रममा खुला लेखाई दिएको बयान व्यहोरामा तपाईंलाई टाेपबहादुर रायमाझीले फोन गरी काठमाडाैंं आउनु भनी बोलाएकाे र प्रतिवादी बिक्रम भन्ने गोविन्दकुमार चौधरीले तपाईं एअरपोर्ट आइसकेपछि टाेपबहादुर रायमाझीको घरमा गएको भन्ने कुरा के कसो हो ?

जवाफः– उक्त व्यहोरा साँचो हो । मलाई सानु भण्डारीले फोन गरी आउनु भन्दा नमानेपछि टोपबहादु रायमाझीले आउनु भनी फोन गरेका थिए । निजले भनेपछि म काठमाडाैं आउन राजी भएको हो र काठमाडाैं आएपछि निज विक्रम भन्ने गोविन्दकुमार चौधरी एअरपोर्ट लिन गएका र निजले मलाई टोपबहादुर रायमाझीको घरमा पुर्याइदिएका थिए ।

सवाल– तपाईंलाई सह प्रतिवादी केशवप्रसाद दुलालसमेतका सम्पूर्ण प्रतिवादीहरूको क्रममा खुलाई लेखाई दिएको बयान व्यहोरामा पढिवाची सुनाइन्छ, उक्त व्यहोरा के कस्तो हो खुलाइदिनुहोस ।

जवाफः– नेपाली नागरिकलाई नकली भुटानी शरणार्थी बनाई अमेरीका लाने भन्ने विषयमा केशवप्रसाद दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझी, प्रेमराज पन्थी र रामशरण केसीको मुख्य भूमिका रहेको म जानकार छु । अन्य कुरा मलाई थाहा भएन ।

सवाल– अभियोग साथ पेश भएको सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा तपाईंको लागि खर्च भएको विवरण फेला परेको सम्बन्धमा तपाईंको भनाई के छ ? के कति रकम निजबाट लिनुभएको हो?

जवाफः– सानु भण्डारीसँग मेरो कुनै रकम लेनदेन रहेको छैन । निजले छुट भएका भुटानी शरणार्थीको कुराकानी गर्न मलाई काठमाडाैं बोलाएको र म आउँदा जाँदाकाे टिकट काटेको, होटलमा बस्दाको पैसा तिरेका थिए । त्यही रकम लेखेका भए मलाई जानकारी छैन । अन्य कुनै रकम मैले लिएको छैन र नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरीका लाने सन्दर्भमा पैसा लिने कुराको सुरुदेखि नै मैले विरोध गरेको थिएँ र मलाई कुनै रकम चाहिँदैन भनेको थिएँ ।

सवाल– गृह मन्त्रालयले २०७६/२/३० को मन्त्री स्तरीय निर्णयअनुसार गठित बालकृष्ण पन्थीसमेत रहेको समितिले तयार पारेको भुटानी शरणार्थीको अनुसूचीमा रहेको नाममा परिवर्तन गरी नेपाली नागरिकको नाम राखी नक्कली प्रतिवेदन तयार पारेको भनिएको प्रस्तुत मुद्दामा उठाइएको विषय सम्बन्धमा तपाईंंलाई केही थाहा छ कि ? उक्त कार्य को कसले के कसरी गरेका हुन् ?

जवाफः म यसै क्षेत्रमा लगातार काम गर्ने व्यक्ति रहेकोले समिति गठन भएको विषय थाहा छ । तर बालकृष्ण पन्थीको कार्यदलले पेश गरेको प्रतिवेदनको अनुसूचीमा हेरफेर गरेको विषयमा मलाई जानकारी हुने विषय नै भएन । उक्त कार्य गृह मन्त्रालयका अधिकारिहरूको संलग्नता रहेको हुनुपर्छ किनकि अन्य व्यक्तिहरूले यस्तो काम गर्न सक्ने अवस्था नै हुँदैन ।

सवाल– Bhutan human right organization membership Card को कस्ले निर्माण गरेको हो? सो बारेमा केही जानकारी पाउनु भएको थियो की ? खुलाईदिनुहोस ।

जवाफः– भुटानी शरणार्थीको रूपमा क्याम्पमा बसेका मानिसहरूको डाटा संकलन भएपछि निज भुटानी शरणार्थीहरूको लिस्ट तयार पार्न कार्ड दिने भनी केशवप्रसाद दुलाल र सानु भण्डारीले छुट भुटानीहरूको नाम लेखी सहिछाप गर्न दिएका थिए । उक्त कार्डहरू सानु भण्डारी र केशव दुलालले मन्त्रालयबाट ल्याएको भनेका थिए । कसले बनाएको मलाई थाहा भएन । मलाई जानकारी १२०/२५ वटा कार्डमा मैले हस्ताक्षर गरेको छु । अन्य कुरा मलाई थाहा भएन ।

सवाल– तपाईंलाई मिसिल संलग्न मौकामा अनुसन्धानको क्रममा मनबहादुर खत्रीसमेतका सम्पूर्ण मानिसहरूले गरेको घटना विवरण कागज पढिवाची सुनाइन्छ, उक्त व्यहोरा के कसो हो ? जानकारी भएसम्मको व्यहोरा खुलाइदिनुहोस ।

जवाफः– यस विषयमा निजहरूले उल्लेख गरेका विषयमा मलाई कुनै जानकारी छैन । म नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरीका लाने कार्यमा सुरुदेखि नै विरोध गर्दै आएको व्यक्ति हो ।

सवाल– प्रतिवादीमध्येका टेकनाथ रिजालले बयानको क्रममा नेपाली नागरिकहरूलाई नकली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण केसी प्रेमराज पन्थी, ईन्द्रजित राई र टाेपबहादुर रायमाझी सुरु अवस्थादेखि नै संलग्न छन् भन्ने आफूलाई थाहा भएको भनी खुलाएको टाेपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालबीच टाेपबहादुर रायमाझीकै घरमा भेट भई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका पठाउनेबारेमा छलफल र कुराकानी भएको ५/६ वर्ष पहिले रामशरण केसी मेरो आफ्नै घरमा गई नेपालीहरूलाई नक्कली भूटानी बनाई, अमेरिका लैजाने योजना बारेमा जानकारी दिएको सो को लागि मद्दत माग्न आएका भन्ने खुलाएको राम शरण केसीलाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चाहबेलको ह्ज्ञ एवान) पार्टी प्यालेसमा भेट गराई दिएको भनी खुलाएकोः राम शरण केसीलाई टेकनाथ रिजालले प्रतिवादी केशवप्रसाद दुलाल र भेषराज लम्सालसँग भेट गराई निज टेकनाथ रिजालले अब काम हुन्छ भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने सम्पूर्ण कार्य उहाँहाहरूले गर्नु हुन्छ भनी ग्यारेण्टी गरेको मिति २०७६ असार / श्रावणमा आफ्नो र आफ्नो चिनजानका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड (परिचय पत्र) बनाई सो कार्डमा टेकनाथ रिजालले सहिछाप गरी दिएको भनी खुलाएको र सो कुरा टेकनाथ रिजालले स्वीकार गरी बयान गरेको, निज प्रतिवादी टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र ईन्द्रजित राईको फोटो मिसिल संलग्न देखिनु, निज प्रतिवादी टेकनाथ रिजाललाई गौशालास्थित प्रतिवादी केशवप्रसाद दुलालले नकली भुटानी शरणार्थी बनाउने कार्यका लागि फारम भर्ने र बायोमेट्रिक गर्ने कार्यका लागी बुक गरेको रोजस्टार होटलमा ३/४ दिनसम्म राखेको, निज प्रतिवादी रामशरण केसीबाट प्रतिवादी टेकनाथ रिजालले ११,००,०००।– (एघार लाख रुपैयाँ) नगदै निजको घर झापामा लिएको हो भनी प्रतिवादी रामशरण केसीले खुलाई लेखाई दिएको साथै प्रतिवादी सानुकुमारको घरबाट बरामद भएको डायरीमा यी प्रतिवादी टेकनाथ रिजालको लागी खर्च भएको भनी विवरण पेस जिल्ला झापा खुदुनावारी–४ बस्ने सुमित्रा पौडेललाई प्रतिवादी टेकनाथ रिजालले नक्कली भुटानी शरण अमेरिका पठाउनको लागी सानु भण्डारी र केशवप्रसाद दुलालसँग भेट गराई दिई रकमसमेत दिए, समयसम्म काम नभएकोले कामको लागि प्रतिवादी टेकनाथ रिजाललाई ताकेता गरेको भन्ने निज सुमित्रा पौडेलले खुलाई लेखाई दिएको समेतका आधार कारणबाट यी प्रतिवादी टेकनाथ रिजाल पनि प्रतिवादीहरू इन्द्रजित, सानु भण्डारी, केशव दुलाल, टेकनारायण पाण्डे, टाेपबहादुर रायमाझी, रामशरण केसीसमेतसँग मिलेमतो गरी संगठित तवरले पीडित जाहेरवालाहरूलाई ठगी गर्ने कार्य गर्नुका साथै नेपालमा लामो समयसम्म भुटानी शरणार्थीका रूपमा बसी नेपाल सरकारबाट सेवा सुविधासमेत लिई नेपाली नागरिकहरूलाई नकली भुटानी शरणार्थी बनाएर तेस्राे मुलुकमा पठाई दिन्छु भनी ठगी कार्य गरेबाट नेपाल राष्ट्रको हितको प्रतिकूल हुने कामसमेत गरेको देखिँदा यी प्रतिवादी टेकनाथ रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करोडौँ रकम उठाई पीडितहरूलाई हानी नोक्सानी पुन्याई ठगी गरी लाभ लिएको भन्ने अभियोग सम्बन्धमा तपाईंंको भनाइ के छ ?

जवाफः– मलाई नेपाल सरकारले नै सुविधा दिएको र भुटानी शरणार्थीको अधिकारको विषयमा म लगातार लागेको मान्छे हुँ । मलाई शरणार्थीको विषयमा कुरा गर्ने केशवप्रसाद दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझीजस्ता व्यक्तिहरूले गभर्मेन्ट स्तरबाट नै काम हुने भनी सहयोग गर्न आग्रह गरेका र निजहरूले भनेजस्तै क्याबिनेट र मन्त्रालयसमेतबाट सोहीबमोजिमका निर्णयहरू हुँदै गएका र पत्रपत्रिका एवं प्रहरी प्रशासनसमेतबाट खुलम्खुला भई भएको यस्तो काममा म पनि राम्रो काम भनी कन्भिन्स भएको थिएँ । म पनि शरणार्थी भएको र हामी सबै शरणार्थीको भलो हुन्छ होला भनी विश्वास गर्दा मसमेत जोडिएको मात्र हुँ । यसमा मलाई मुछ्न खोजेका मात्र हुन् । यसमा मेरो कुनै संलग्नता रहेको छैन । कसैबाट कुनै रकम पनि लिएको छैन र कसैलाई रकम दिनु पनि भनेको छैन । त्यसैले मैले ठगी गरेको भन्ने कुरा सरासर झूठा हो ।

सवाल– तपाईंलाई ठगीतर्फ मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको पुष्टि भएकोले उक्त कसूरमा तपाईंलाई सोही संहिताको दफा गरी २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, लिखतसम्बन्धी कसूरतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसूर गरेको पुष्टि हुन आएकोले संहिताको दफा २७६ को उपदफा (३) देहाय (ग) बमोजिम सजाय हुन, राज्यविरुद्धको कसूरतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्यविरुद्धको कसूर गरेको पुष्टि हुन आएकोले संहिताको दफा ५१ को उपदफा (४) को देहाय (क) बमोजिम सजाय हुन, संगठित अपरधसम्बन्धी कसूरतर्फ संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको कसूर गरेको पुष्टि भएकोले उक्त कसूरमा सोही ऐनको दफा ९ को खण्ड (क) र खण्ड (ग) बमोजिम सजाय हुन, एकीकृत कसूरतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसूरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम थप सजाय हुन तथा जाहेरवालाहरूको ठगी भएको रकम रु.२८,८१,७४,५००– (अठाईस करोड एकासी लाख चौहत्तर हजार पाँच सय मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम तपाईंसमेतबाट जाहेरवालाहरूलाई दिलाई भराई पाउन समेतको मागदाबी लिई अभियोग पेश भएको देखिन्छ, सो बमोजमिको कैद, जरिवाना तपाईंलाई हुनुपर्ने हो होइन, तथा क्षतिपूर्ती तपाईंंबाट भराउनु पर्ने हो होइन, भराउनु पर्ने भए के कति भराउनु पर्ने हो ? खुलाइदिनुहोस ।

जवाफ– म यो देशमा भुटानबाट आएर शरण लिएर बसेको मान्छे हुँ र शरणार्थीको विषयमा लगातार आवाज उठाएको मान्छे हो । शरणार्थी व्यवस्थापन सम्बन्धमा गभर्मेन्ट स्तरबाट नै काम हुने भनी सहयोग गर्न आग्रह गरेका र क्याबिनेट र मन्त्रालयसमेतबाट सोहीबमोजिमका निर्णयहरू हुँदै गएका र पत्रपत्रिका एवं प्रहरी प्रशासनसमेतबाट खुलम्खुला भई भएको यस्तो काममा म पनि राम्रो काम भनी कन्भिन्स भएको थिएँ । शरणार्थीको पक्षमा रहेको भनी मैले विरोध नगरेको हो । म पनि शरणार्थी भएको र हामी सबै शरणार्थीको भलो हुन्छ होला भनी विश्वास गर्दा म मेत जोडिएको मात्र हुँ । यसमा मलाई मुछन खोजेका मात्र हुन । यसमा मेरो कुनै संलग्नता रहेको छैन । कसैबाट कुनै रकम पनि लिएको छैन र कसैलाई रकम दिनु पनि भनेको छैन । त्यसैले मैले ठगी गरेको भन्ने कुरा सरासर झूठा हो । मैले सरकारी तवरबाट भएका काममा सहयोग भएका कारण मलाई जोड्नु गलत हो । त्यसैले मलाई प्रस्तुत अभियोगबाट सफाई दिलाई न्याय पाउँ । यदि यो कानुनको धारा साधारण भुटानी शरणार्थीलाई लाग्छ भने म न्यायालयसमक्ष आग्रह गर्दछु कि जुन भुटानी शरणार्थीको छानबिन गर्नको लागि गठित छानबिन टोली, क्याबिनेटका सदस्यहरू, मन्त्रालयमा निर्णय गर्ने अधिकारीहरू जिम्मेवार हुनुपर्छ ।

सवाल- तपाईंको पारिवारिक आर्थिक अवस्था के कस्तो रहेको छ ? तपाईंको नाममा के कति जग्गा जमिन र बैंक खाताहरू रहेका छनर डिटेलमा खुलाइदिनुहोस ।

जवाफ– मेरो परिवारमा म, श्रीमती रहेको छौँ । ३ जना छोराहरू शरणार्थीक रूपमा क्यानडा गएका छन् । मैले नेपाल सरकारको निर्णयअनुसार मासिक १ लाख पाउने गरेको छु । दिने भनेको रकम पनि निरन्तर रूपमा पाएको छैन । मेरो जग्गा जमिन केही रहेको छैन । सानिमा बैंक र सिटिजन बैंकमा खाता रहेको छ । उक्त सानिमा बैंकमा २ लाख ६० हजार जति रकम र सिटिजन बैंक खातामा मलाई जानकारी भएसम्म करिब २५ लाख रकम रहेको छ । उक्त रकम भाई हेमराज तिम्सीनाको जग्गा नवराज दाहाललाई बिक्री गरेर करिब १५/१६ वर्ष अगाडिबाट नै खातमा रहँदै आएको छ ।

सवाल– तपाईंको भन्न बाकी केही छ कि ?

जवाफ- म अहिलेसम्म भुटानी शरणार्थीको प्रतिनिधिको रूपमा रहिआएको छु । अघि सन् १९८९ मा पनि भुटानी नेपालीको दुःखदर्थ पोखाउन र सहयोग लिन आएको मलाई राजा वीरेन्द्र र जिम्मीको मिले भगतमा म यसै नेपालबाट अपहरण परेँ । लामो कठोर कारावासको सजाय भोगेर नेपाल आएको मलाई दिनानुदिन नेपाल सरकारले खेलबाड गरेको र मसँग सम्बन्धित भुटान जेलका कैदीहरू, त्यहाँ बसोबास गर्ने नागरिकहरू, शरणार्थी शिविरमा रहेका शरणार्थीहरूको भविष्यप्रति अति नै चिन्तित छु । नेपालको न्यायलयले यो काण्डको छिनाेफानाे गरेसँगै भुटानबाट शरणार्थीको रूपमा कति आएका थिए र यहाँ बसोवास गरेपछि क–कसको संलग्नता रहेको थियो, नेपाल भुटान वार्ता हुनुको पछाडी कसको लापरबाही ठहरिन्छ, तेस्राे देश गएका शरणार्थीहरूको सम्बन्धमा तेस्रो देशसँग कस्तो सन्धि गरिएको । रहेका भुटानी शरणार्थीहरूमाथि राज्यले के–कस्तो सुविधा प्रदान गरेको छ. UNHCr ले नेपाल छोड्ने बेलामा के-कस्तो सन्धि गरेको थियो, शरणार्थी शिविरको अवस्था कस्तो रहेको छ भनी नेपालको सरकारलाई सोधिदिएर हामीले नेपालमा मान्छे जस्तो भएर बाँच्न पाउने वातावरण मिलाइदिनुभए हामी भुटानी नेपालीहरू यो न्यायलयप्रति जनम जनम आभारी रहने छौँ ।

सवाल– तपाईंको साक्षी प्रमाण सबुद केही छ कि ?

जवाफ– मेरो निम्न साक्षी प्रमाण बुझी पाउँ र प्रमाणमा लगाइ पाउँ–

साक्षी

क. काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध न.पा.–२ बस्ने अवर्ष ४४ को ठाकुरप्रसाद दुलाल–––१
ख. सर्लाही जिल्ला इश्वरपुर–३ बस्ने वर्ष ४० कि सचिता थापा– –१

प्रमाण

क. भुटानी भएका अमानवीय वैज्ञानिक अभ्यासहरू भएको पुस्तक भुटानी शरणार्थीसम्बन्धी विषय भएकोले यसै बयानसाथ पेश गरेको छु ।

मैले भनेबमोजिमको सम्पूर्ण व्यहोरा लेखिएको छ भनि हेरी बुझी सहिछाप गर्ने निज प्रतिवादी टेकनाथ रिजाल

इति सम्बत २०५० साल जेष्ठ १९ गते रोज ६ शुभम………. ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्