ओडिशा रेल दुर्घटनाबारे नयाँ तथ्यः कारणबारे यस्तो छ भारतीय रेलमन्त्रीको संकेत – Janadesh Daily | ePaper

ओडिशा रेल दुर्घटनाबारे नयाँ तथ्यः कारणबारे यस्तो छ भारतीय रेलमन्त्रीको संकेत


जनादेश अन्तर्राष्ट्रिय वाच।

भारतका रेल मन्त्री आश्विनी वैष्णवले ‘सिग्नलमा त्रुटी’ हुनु ओडिशा रेल दुर्घटनाको एउटा सम्भावित कारण हुनसक्ने बताएका छन्। मन्त्री वैष्णवले पछि उक्त दुर्घटनाको लागि जिम्मेवार कारण र मानिसहरूबारे थाहा भइसकेको बताए तापनि त्यसबारे थप खुलाएनन्। भारतको रेल बोर्डले त्यसबेला “सिग्नल दिने प्रणालीमा केही अवरोध आएको” तर त्यसले काम भने गरेको जनाएको छ।

यसअघि पूर्वी भारतको उक्त घातक रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको अधिकारीहरूले बताएका थिए। ओडिशा राज्यमा शुक्रवार अबेर भएको उक्त दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भएको छ भने १,००० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले आइतवार मृत्युको सङ्ख्या यसअघि कतिपयका हकमा दोहोरिएको बताउँदै त्यसलाई सच्याएर केही घटेको विवरण दिएका हुन्।

अधिकारीहरूका अनुसार दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको छ। प्रधानमन्त्री मोदीले घटनालाई ‘पीडादायी’ भनेका छन्। उनले शनिवार घटनास्थलको भ्रमण गरेका थिए।

उनले घटनामा दोषी पाइएका मानिसहरूलाई “कडा सजाय” दिइने बताएका छन्। उनले अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि भेटे र सरकारले उनीहरूको “उपचारमा कुनै कसर बाँकी नराख्ने” बाचा गरे।

कारण अझै अस्पष्ट
भारतमा भएको चार दशकयताकै सबैभन्दा घातक रेल दुर्घटनाको कारण अझै स्पष्ट हुन सकिरहेको छैन। ओडिशाको बालासोर जिल्लामा भएको उक्त दुर्घटनामा एकै पटक धेरै वटा रेलहरू जुध्ने अवस्था बनेको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण खालको अनुसन्धान सुरु गरिएको छ। दक्षिण पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकृत केएस आनन्दका अनुसार प्रारम्भिक विवरणहरूले ‘सिग्नल फेल’ भएर दुर्घटना भएको सङ्केत गरेको छ।

दुर्घटनाका क्रममा आपसमा ठोकिएका दुई वटा यात्रुवाहक रेलमा करिब दुई हजार यात्रुहरू रहेको अनुमान गरिएको छ।

कसरी भयो दुर्घटना
उक्त दुर्घटना कसरी भयो भन्नेबारे विवादास्पद विवरणहरू आएका छन्।

अधिकारीहरूका अनुसार कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसले शुक्रवार साँझ ७ बजेतिर रोकिएको मालवाहक रेललाई ठक्कर दिएपछि उसका डिब्बाहरू पटरीबाट खसेको बताएका छन्।

तर उक्त रेल कसरी मालवाहक रेलको लिकमा प्रवेश गर्‍यो भन्ने अस्पष्ट छ। त्यसपछि कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू विपरीततर्फको लिकमा पुगेका थिए। ती डिब्बाहरू यशवन्तपुरबाट हावडा जाँदै गरेको विपरीत दिशामामा रहेको अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेससँग ठोकिन पुगे।

“कोरोमण्डल एक्सप्रेसले मुख्य लाइनमा यात्रा गर्नु पर्ने थियो तर त्यसको साटो ‘लुप लाइन’का लागि सिग्नल दिइएको थियो त्यसले गर्दा रेल त्यहाँ पहिले नै पार्क गरिएको मालवाहक रेलमा ठोक्कियो,” आनन्दले भने।

“यसका डिब्बाहरू त्यसपछि दुवै तर्फको लिकमा खसे र हावडा सुपरफास्ट एक्सप्रेस पनि पटरीबाट खस्यो।”

अस्पतालको अवस्था
कटक सहरको एससीबी अस्पतालमा रहेको ट्रमा सेन्टर बाहिर प्रत्येक ३० मिनेटमा एम्बुलेन्सका साइरनहरू बजिरहेका छन्। त्यहाँ गम्भीर घाइते यात्रुहरूलाई ह्विलचेअरमा राखेर अस्पताल भित्र लगेको देखिन्छ।

यो अस्पतालमा हालसम्म रेल दुर्घटनास्थलबाट करिब २०० यात्रुहरू ल्याइएको छ र सङ्ख्या अझै बढिरहेको छ। यो ओडिशा राज्यको सबैभन्दा ठूलो अस्पताल हो तर दुर्घटनास्थलबाट यो तीन घण्टाको दूरीमा छ।

अस्पतालका कनिष्ठ डाक्टरदेखि नर्सहरू र वार्ड ब्वाइजसमेत लाइन लागेर बिरामीलाई सहयोग गर्न पर्खिरहेका छन्। अस्पतालका अधिकारीहरूले सिट्ठी बजाएर वा घोषणा गरेर कराउँदा त्यहाँको अस्तव्यस्त अवस्थाको माहौल बेग्लै हुन्छ।

घाइतेका आफन्तहरू प्रियजनको स्वास्थ्य लाभको कामना गर्दै बाहिर उत्सुकतासाथ पर्खिरहेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्