शरणार्थी प्रकरणः अदालतमा देखिएका दृष्यले गरेका संकेत, सबै भिआइपीलाई जेल परिने चिन्ता – Janadesh Daily | ePaper

शरणार्थी प्रकरणः अदालतमा देखिएका दृष्यले गरेका संकेत, सबै भिआइपीलाई जेल परिने चिन्ता


जनादेश वाच।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामाथि आइतबारदेखि थुनछेक बहस शुरू भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस शुरू भएको हो। अदालतमा जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल र प्रतिवादीको तर्फबाट अन्य वकिलले बहस गर्नेछन्। आइतबारदेखि शुरू भएको बहसमा न्यायाधीशले समयसीमा नै निर्धारण गरेका छन्।

आइतबारदेखि तीन दिन सरकारी वकिलले बहस गर्ने समय निर्धारण गरिएको छ भने प्रतिवादीको तर्फबाट वकिललाई बहस गर्न ६ दिनको समय तोकिएको छ। समय निर्धारण गर्दै आइतबारको इजलासमा न्यायाधीश न्यौपानेले आगामी साताको बुधबार थुनछेक आदेश सुनाउने जानकारीसमेत दिएका छन्।

आइतबार थुनछेक बहस शुरू गर्नुपूर्व यस प्रकरणमा प्रतिवादी बनाइएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितका १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो।

आइतबार सरकारी वकिलको तर्फबाट दुई जनाले बहस गरेका छन्। जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले आइतबार आफ्नो बहस सकेका छन् भने अर्का न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले बहस शुरू गरेका छन्। तर, उनको बहस नसकिएकाले सोमबार पनि निरन्तर चल्नेछ।

इजलासको परिदृष्य
आइतबारको बहसमा मुख्य अभियुक्तहरूमा अधिकांश गम्भीर देखिन्थे । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको आसनको दाहिनेपट्टीको लहरमा इन्द्रजित राई, टोपबहादुर रायमाझी र बालकृष्ण खाँण एकै बेन्चमा बसेका थिए । त्यही लरको न्यायाधीश आसनबाट दाहिनेपट्टी थिए पूर्वगृहसचिव टेकनारायण पाण्डे र सानु भण्डारी । पाँचौँ तथा अन्तिम लहरमा थिए- भुटानी शरणार्थी नेता टेकनारायण रिजाल र केशव दुलाल । उनीहरूको बीचमा तीन जना अन्य व्यक्तिहरू थिए । अर्का प्रतिवादी आङटावा शेर्पा भने सानु भण्डारी बसेको बेन्चको लहररको अर्को पङ्क्तिमा थिए ।

खाँण निकै गम्भीर देखिन्थे । वकिल र अन्य सहकर्मीसँग कानेखुसी गर्थे । बाहिर आउजाउ गर्दा पनि उनी अन्य व्यत्तिसँग उतिसाह्रो बाल्दैनथे । अभिवादन गर्दा सामान्य प्रतिक्रिया देखाउँथे । बहसलाई गम्भीर रूपमा नियालिरहेका थिए ।

टोपबहादुर भने निकै चटपटे थिए । उनी खाँण र राईको बीचमा थिए । भित्र-बाहिर को-को आउजाउ गर्छ सबैतिर नजर थियो उनको । बहस चलिरहँदा बाहिर निस्कन पर्दा चिनेको वकिललाइ आफैँ अभिवादन गर्थे । कहिले राईसँग खासखुस गर्थे त कहिले बहसलाई ध्यान दिएर सुन्थे । खाँण र उनीबीच एकपटक मात्र कानेखुसी भयो ।

पाण्डेमा बेचैनी भाव देखिन्थ्यो । अधिकांश समय बहसमा के भइरहेको छ भन्ने कुरामा ध्यान दिइरहेका उनी आफ्नै सुरमा थिए । कहिलेकाहीँ खाँणतिर हेर्थे । सानु भण्डारी बेन्चमा सबैभन्दा बढी चटपटाइरहेका थिए । कहिले अघि मुन्टो तानेर बस्थे त कहिले अढेस लागेर बस्थे । घरी-घरी मास्क निकाल्थे र लगाउथे ।

अन्तिम लहरको बेन्चमा बसेका रिजाल नजिक बसेकाहरूसँग बेला बेला कुरा गर्दै इजलाशमा उठेका कुरा ध्यान दिएर सुनिरहेका थिए । उनमा आत्मविश्वास देखिन्थो । उनले केही भन्दा नजिक रहेकाहरू झुम्मिन्थे ।

दुलाल भने अधिकांश समय मास्क लगाएर बसे । एकाध समय अन्य व्यक्तिहरूसँग कानेखुसी गर्नेबाहेक उनको ध्यान इजलासको बहसमा थियो ।

शेर्पा भने एकटकले बहसको सुनिरहेका थिए । सामान्य हलचल गर्नेबाहेक उनको प्रतिक्रिया अरु थिएन । आइतबार सरकारी वकिल महेश खत्रीको बहस सकिएर जनक घिमिरेले सुरु गरेका छन् । सोमबार घिमिरेको बहसले इजलासमा निरन्तरता पाउनेछ । चर्को गर्मी साँघुरो इजलास कक्षले अप्ठेरो पारेको थियो ।

सरकारी वकिलको कार्यालयले अभियोग लगाएका प्रतिवादीहरूमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल लगायत छन्। केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, धीरेन राई, दिपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता सावेदन लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतीक थापा पनि मुद्दाका अभियुक्त हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्