ओलीको पार्टी अस्तित्वको संकटमा पुगेकै हो?एमालेमा किन ब्युँतियो मालेकालीन संरचना ! – Janadesh Daily | ePaper

ओलीको पार्टी अस्तित्वको संकटमा पुगेकै हो?एमालेमा किन ब्युँतियो मालेकालीन संरचना !


जनादेश वाच।

शुक्रबार बसेको एमाले सचिवालय बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्‍यो । मालेकालीन संरचना पछ्याउँदै एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । एमालेमा भूमिगत समयपछि फरक भूगोलको जिम्मेवारी दिने अभ्यास कम भइसकेकोमा त्यसमा पुनर्विचार गर्दै एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको हो । जसअन्तर्गत पार्टी उपाध्यक्षदेखि प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

उपाध्यक्षहरूको जिम्मेवारी हेरफेर गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई योजना र नीति विभागको जिम्मेवारी दिइएको छ । उपाध्यक्षहरू सुरेन्द्र पाण्डेले पूर्वाधार विकास र निर्माण विभाग, रामबहादुर थापा ‘बादल’ले कृषि तथा उद्यमशीलता विभाग, अष्टलक्ष्मी शाक्यले सामाजिक विकास विभाग, युवराज ज्ञवालीले मानव स्रोत विभाग र सुवास नेम्वाङले सुशासन र सेवा प्रवाह विभागको जिम्मेवारी पाएका छन् । त्यस्तै विष्णु पौडेलले भने संगठन, प्रशिक्षण र प्रचारसँग जोडिएका विभागहरूको जिम्मेवारी पाएका छन् ।

एमालेले पार्टी सचिवहरूलाई प्रदेश इन्चार्ज बनाएर फरक भूगोलमा पठाएको छ । कोशीका योगेश भट्टराईले मधेश, मधेशका रघुवीर महासेठले कोशी, गण्डकीकी पद्मा अर्यालले लुम्बिनी, लुम्बिनीका गोकर्ण विष्टले गण्डकी, सुदूरपश्चिमका लेखराज भट्टले कर्णाली र लुम्बिनीका छविलाल विश्वकर्माले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पाएका छन् । बागमती प्रदेश भने केन्द्रले हेर्ने भएको छ । पार्टीका सात सचिवमध्ये छ जना प्रदेश इन्चार्ज छन् । अर्का सचिव टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बनमा छन् ।

एमालेले ३३ विभागमध्ये दुई विभाग प्रमुख फेरेको छ । प्रचारप्रसार विभागमा रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई संसदीय मामिलाको प्रमुख बनाइएको छ । त्यस्तै, संगठन विभाग प्रमुख रहेका स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई शहरी विकास विभागको जिम्मेवारी दिएको छ । राजेन्द्रप्रसाद गौतमले प्रचार र काशिनाथ अधिकारीले संगठन विभागको जिम्मेवारी पाएका छन् । गौतम र अधिकारी स्थायी कमिटी सदस्य हुन् ।

एउटै भूगोलमा लगातार खटिँदा जिम्मेवारी पाएको ठाउँमा नजाने, पार्टी संगठनको काम नगर्ने, कार्यकर्ताहरूको कुरा नसुन्ने र नेता-कार्यकर्ताबीचमा अन्तर्विरोध बढेको भन्दै फरक भूगोलका नेताहरूलाई फरक भूगोलमा खटाइएको एमाले नेताहरू बताउँछन् । मिसन ग्रासरुट अभियानमा नेताहरूको विषयमा कार्यकर्ताले थुप्रै गुनासो गरेका थिए । त्यसबेला पनि एमालेले भूगोल फरक पारेर नेताहरू खटाएको थियो । नेतृत्वप्रति कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि एमालेले एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा नेतृत्व परिवर्तन गरेको हो ।

एउटा नेता सधैँ एउटै ठाउँमा खटिइरहँदा बुझाइमा गहिराइ नहुने, समस्या समाधान नहुने, अन्तर्विरोध बढ्ने र सुधारमा जाँगर नदेखिने भएकाले फरक भूगोलको जिम्मेवारी दिइएको उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् । ‘एक जना नेता सधैँ एक ठाउँको जिम्मेवारीमा बसिरहँदा स्वार्थ बाझिने, केन्द्रीय नेताको चेतनाको दायरा साँघुरो हुने, भूगोलभन्दा माथि उठ्न नसक्ने, फरक अभ्यास गर्न नसक्ने अवस्था आयो,’ ज्ञवाली भन्छन् ।

चुनाव लड्ने र आफ्नो जिम्मेवारी एकै ठाउँमा हुँदा स्वार्थ बाझिने भएकाले पनि जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीको तर्क छ । ‘आफ्नो भूगोलमा सधैँ काम गर्दा नेता तथा कार्यकर्ताबीच अन्तर्विरोध बढी आउँछ । चुनाव लड्ने भूगोल र आफ्नो जिम्मेवारी सधैँ एकै ठाउँमा हुने हुँदा स्वार्थ बाझिने, जति काम गरे पनि परिणाम सोचजस्तो नआउने भएपछि जिम्मेवारी हेरफेर गरिएको हो,’ उनले भने ।

‘एउटै भूगोलमा काम गर्ने नेतृत्वले भन्दा फरक-फरक भूगोलमा काम गर्ने नेतृत्वले परिणाम राम्रो ल्याउने भयो । मिसन ग्रासरुटमा फरकफरक भूगोलमा नेताहरूले काम गरे र परिणाम राम्रो आयो । अनुभव राम्रो भयो । कार्यकर्ताहरूले नेतृत्वसँग खुलेर छलफल बहस गरे । वास्तविक समस्याको पहिचान भयो,’ उनले भने ।

स्थानीय कार्यकर्ताले फरक ठाउँका नेतासँग खुलेर बहस छलफल गरेको र त्यसले समस्या पहिचान गर्न सहज भएको ज्ञवालीको तर्क छ । मालेकालीन संरचनामा जुन नेतालाई जहाँ खटाए पनि जाने र पार्टीको काम गर्ने नियम रहेको उल्लेख गर्दै उनले अहिले आफ्नो अर्को भूगोलमा काम गर्न नचाहने र चुनाव लड्न नचाहने प्रवृत्ति बढेकाले पनि यस्तो निर्णय लिइएको बताए ।

एमाले सचिव लेखराज भट्ट नेताहरूले आफ्ना कुरा नसुनेको गुनासो कार्यकर्ताहरूले गरेपछि यस्तो निर्णय लिइएको बताउँछन् । ‘जिम्मेवारी पाएको ठाउँ गएर काम नगर्ने प्रवृति बढेको र नेताहरूले कुरा नसुनेको गुनासो कार्यकर्ताबाट आएपछि फरक भूगोलमा जिम्मेवारी दिइएको हो,’ भट्टले भने, ‘जिम्मेवारी हेरफेर मिसन ग्रासरुट अभियानको विकसित रूप हो ।’

नयाँ नेताहरूसँग कार्यकर्ताले खुलेर कुरा राख्ने भएकाले समस्याको पहिचान हुने र समाधान हुने तर्क गर्छन् । यसले नेताहरूको सामाजिक सांस्कृतिक मनोविज्ञान पनि फराकिलो हुने भट्टको तर्क छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्