टोपबहादुरलाई जेल हाल्नै पर्ने मागः यी हुन् अदालतमा सरकारी वकिलले दिए यी ६ आधार – Janadesh Daily | ePaper

टोपबहादुरलाई जेल हाल्नै पर्ने मागः यी हुन् अदालतमा सरकारी वकिलले दिए यी ६ आधार


जनादेश वाच।

नक्कली भुटानी शरणार्थी मुद्दाको बहस भइरहेकाे इजलासमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रकाश न्यौपानेले आरोप पुष्टि हुने आधार खोजिरहेका छन् । उनले पहिलो बहस गर्ने जिल्ला न्यायधिवक्ता महेश खत्री, दोस्रो बहस गर्ने जनक घिमिरेलाई प्रश्न गरे ।

बहसमा सरकारी वकिलले एक पत्र पेस गर्छन् । त्यसमा प्रतिवादीहरूको संलग्नता कसरी जोडिएको छ भन्ने चित्र देखाइएको छ ।

पहिलो र दोस्रो बहसकर्ताबाट चित्तबुझ्दो जवाफ नपाएका न्यायाधीश न्यौपानेले तेस्रो बहसकर्ता दिनेश भट्टराईलाई प्रश्न गरे, ‘तपाईंले यो चार्ट त देखाउनु हुन्छ । पुष्टि हुने आधार के छ ? डिजिटल जमानामा टेलीफोनले मात्र आरोप पुष्टि हुन्छ ?’

न्यायाधीशको प्रश्न सुनेपछि इजलास कक्षको चौथो लहरको बेन्चमा बसेका प्रतिवादी टोपबहादुर रायमाझीले भने ‘अँ त्यही त पुष्टि हुने आधार के ? आधार छैन । खाली गरे गरे मात्र भनेर हुन्छ ?’

एक्लै बोलिरहेका थिए रायमाझी ।

न्यायाधीशको प्रश्नमा जिल्ला सहन्यायधिवक्ता भट्टराईले यी छ आधार पेस गरे:

१ यो संगठित अपराध हो । पैसा लिनेदेखि पैसा बुझाउनेसम्म छन् ।

२ प्रतिवादीहरूमा एकको चेक अर्काले साट्ने अर्काले जग्गा किन्ने गरेका छन् ।

३ बैंक स्टेटमेन्ट छ ।

४ एकले अर्कालाई पोलेको बयानमा पोलेका छन् मिसिलमा पनि त्यो संलग्न छ ।

५ फोटो देखाएर मेरो सम्बन्ध छ भनेर प्रभावमा पारेर पैसा असुलेका छन् ।

६ एकले अर्कालाई चिन्दैनन् भन्दै बयान दिएका छन् तर काम भैरहेको छ ।

भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले आफ्नो बयानमा सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पोलेका छन् । उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं ।’

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भनए समाधान गर्नु भन्नु भयो ।’

यो भेटपछि सानु र केशवमाथि शंका लागेको भएपनि उनीहरुले भने जस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरु हुन थालेको रिजालको बयान छ । त्यसपछि आफूहरु उनीहरुले भने जस्ता (नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले भनेका छन्, ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्