शरणार्थी प्रकरणः एउटा त्यस्तो नजीर जसले आरजूदेखि राजेशसम्म पक्राउ गर्ने बाटो खुल्न सक्छ – Janadesh Daily | ePaper

शरणार्थी प्रकरणः एउटा त्यस्तो नजीर जसले आरजूदेखि राजेशसम्म पक्राउ गर्ने बाटो खुल्न सक्छ


जनादेश वाच।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुले पोलेका व्यक्तिहरुलाई पक्राउ आदेश जारी गर्न अधिवक्ताहरुले माग गरेका छन् । जाहेरवालाका तर्फबाट प्रस्तुत भएका कानुन व्यवसायीहरुले यसअघि नाम पोलेका व्यक्तिहरुलाई पक्राउ आदेश जारी गर्न माग गरेका हुन् ।

अधिवक्ता हरिप्रसाद खरेलले अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाटै अनुसन्धान गर्न आदेशको माग गर्दै बहस गरे ।

अधिवक्ता खरेलले विभिन्न अभियुक्तहरुले अनुसन्धान अधिकृतसमक्ष प्रधानमन्त्री प्रचण्ड, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अजय क्रान्ति शाक्यसहितका व्यक्तिहरुलाई पक्राउ गर्न इजलासले आदेश दिन सक्ने बताए । त्यस्तै, आरजु राणा, नैनकला थापा, मञ्जु खाँणलाईसमेत पक्राउ गर्न आदेश दिन सक्ने बताए ।

खरेलले भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसको तेस्रो दिन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासलाई कानुनबमोजिम उक्त आदेश गर्न माग गरेका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी रकम असुली गरेको भन्दै ठगीसहित किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

अधिवक्ता खरेलले तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरुलाई थुनामा राखी पूर्पक्ष गर्न माग गर्दै बहस गरेका थिए ।

बहसको क्रममा उनले जिल्ला अदालत काठमाडौंबाटै अर्को एक ठगी मुद्दाको (मुद्दा नं ०७८– सी१–००२३) इजलासलाई जानकारी दिँदै अभियुक्तहरुले पोलेका व्यक्तिलाई समेत पक्राउ र अनुसन्धान गर्न गराउन आदेश जारी गर्न माग गरेका थिए ।

“श्रीमान्, मुद्दा नम्बर ०७८–सी१–००२३ ठगी मुद्दामा अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाट पक्राउ गर्न र अनुसन्धान गर्न आदेश भएको छ । यही आधारमा अभियुक्तमध्येका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले पोलेका तथा उच्च ओहोदामा रहेका व्यक्तिहरुलाई समेत पक्राउ गर्नु पर्दछ,” उनले दाबी गरे ।

उनले त्यतिमात्र नभएर टेकनाथ रिजालको बयानका आधारमा हाल बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई भेट्न प्रयास गरेको तर उनले समय नमिल्ने भनी भेट्न नपाएको बताएको बयानलाई आधार मानी प्रचण्ड समेतलाई पक्राउको आदेश जारी हुनुपर्ने बताए ।

अधिवक्ता खरेलको उक्त बहसपछि न्यायाधीशले उनले उल्लेख गरेको मुद्दा नम्बर दोहो¥याएर माग गरे र सो विषयभन्दा पनि अहिले थुनछेक प्रयोजनको बहसमा केन्द्रित हुन भनेका थिए।

जाहेरवालाको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले काठमाडौं जिल्ला अदालतबाटै थुनछेक बहसका क्रममा त्यसरी आदेश समेत भइसकेको नजिर प्रस्तुत गरेका थिए ।

उनले २०७८-सी१-००२३ नम्बरको ठगी मुद्दालाई नजिरका रूपमा पेश गरेका थिए । ‘सौगात सुनुवार समेतको किटानी जाहेरीमा दुईजना प्रतिवादीविरुद्ध ठगी मुद्दा दायर भएको थियो,’ उनले इजलासमा भने, ‘त्यस मुद्दामा किटानी गरिएका दुई प्रतिवादीले इजलाससमक्ष बयान गर्दा तेस्रो प्रतिवादी नवराज ढकालको पनि नाम लिएपछि थुनछेक बहसकै क्रममा काठमाडौं जिल्ला अदालतले ढकाललाई पक्राउ गरी अनुसन्धान गर्न आदेश गरेको थियो ।’

नवराज ढकालको नाम न किटानी जाहेरीमा थियो, न त अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा उनलाई प्रतिवादी कायम नै गरिएको थियो ।

‘सोही मुद्दामा जाहेरीमा किटान गरिएका तथा पक्राउ गरिएका दुईजना प्रतिवादीले यही अदालतमा बयानका लागि ल्याउँदा ढकालको नाम पोलेका थिए,’ अधिवक्ता कट्टेलले भने,’त्यसपछि इजलासबाट आदेश भई ढकाललाई पक्राउ गरी पेश गरिएको थियो ।’

पछि उक्त मुद्दामा थुनछेकका क्रममा २०७८ भदौ ३० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले ८ लाख धरौटी तारेखमा ढकाललाई रिहा गर्ने आदेश गरे ।

‘त्यो ठगी मुद्दामा धरौटी तारेखमा रिहा भएका ढकाललाई अहिले यही नक्कली शरणार्थी प्रकरणमा पनि प्रतिवादी बनाइएको छ श्रीमान्,’ कट्टेलले थपे, ‘विगतमा जसरी ढकाललाई थुनछेककै क्रममा इजलासबाट पक्राउ गर्न आदेश भएको थियो त्यसैगरी यो नक्कली शरणार्थी प्रकरणमा पनि मौकामा बयान गरी पोलिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरी छानबिनको आदेश गर्न सकिन्छ श्रीमान ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्