एमाले नारामा युवालाई नेतृत्व, निर्णयमा ७० वर्षे उमेरहद हटाउँदै ओलीलाई स्थायी अध्यक्ष – Janadesh Daily | ePaper

एमाले नारामा युवालाई नेतृत्व, निर्णयमा ७० वर्षे उमेरहद हटाउँदै ओलीलाई स्थायी अध्यक्ष


जनादेश वाच।

नेकपा एमालेले पार्टी कमिटीबाट ७० वर्षे उमेरहद हटाएको छ । नवौँ महाधिवेशनबाट ७० वर्षे उमेरहद लागू गरेको एमालेले अहिले आएर उमेरहद हटाएको हो । एमालेको वैशाखमा बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय भने विरोधाभासपूर्ण देखिएको छ । एकातर्फ ७० वर्षे उमेरहद हटाएर नेताहरूलाई पार्टी नेतृत्वमा राखिराख्ने चलाखिपूर्ण निर्णय गरेको छ भने अर्कातर्फ युवाहरूलाई नेतृत्वमा ल्याउने भनेको छ ।

एमालेको अन्तर पार्टी निर्देशन (अपानि) मा पार्टी संरचनामा पाका उमेर समूह र युवा उमेर समूहका नेता/कार्यकर्ताको संख्यामा असन्तुलन देखिएको भन्दै अधिवेशन र पुनर्गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्षमुनिकालाई संगठित गर्नेगरी युवा लक्षित अभियान सञ्चालन गर्ने भनिएको छ ।

एमालेका एक स्थायी कमिटी सदस्य नै यो निर्णयमा विरोधाभास रहेको स्वीकार्छन् । केन्द्रीय नेतृत्वमा ७० वर्षे उमेर हद निलम्बन गरेर नेतृत्वमा जाम बनाउने नीति लिइएको उनको भनाइ छ । ‘नेताहरूले आफैँ विधान बनाउनुहुन्छ । त्यही विधान बाधक भएपछि आफैँ मिलेर विधान मिचेर निर्णय गर्नुहुन्छ,’ उनले भने, ‘अहिले उमेरहद हटाइयो, केही समयपछि कार्यकालेको सीमा पनि हटाइन्छ होला ।’

कतिपयले भने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहिरहन यो निर्णय भएको बताएका छन् । एमालेले दुई कार्यकालभन्दा बढी मुख्य नेतृत्व अथवा अध्यक्ष हुन पाउने व्यवस्था गरेको छ । त्यसो हुँदा उमेरहद हटाएर मात्रै ओली अध्यक्षमा तेहिरिन पाउने छैनन् । त्यसका लागि दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान पनि हटाउनुपर्ने हुन्छ ।

प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने वैधानिक प्रावधान अनुसार एमालेको एघारौँ महाधिवेशन विसं २०८३ मा हुनेछ। ओली अहिले ७२ वर्ष पुगिसकेका छन्। एघारौँ महाधिवेशनका बेला ओली ७५ वर्ष पुगिसकेका हुनेछन्। तर, विधानमा ७० वर्षे प्रावधान नै पूर्णरुपमा हटाइने भएपछि तीन वर्षपछि हुने एघारौँ महाविधेशनका बेला ७५ वर्षीय ओलीलाई अध्यक्षमा प्रतिस्पर्धा गर्न वैधानिक बन्देज रहने छैन।

वामदेव गौतमलाई देखाए पनि खासमा नेतृत्वमा रहिरहने आफ्नो सहजताका लागि ओलीले ७० वर्षे प्रावधान हटाएका हुन्। एकातिर एमालेका पुराना नेता, अर्कातिर राष्ट्रिय सभा सदस्य (मनोनित) पनि भएकाले गौतमलाई एमालेमा भित्र्याउन यो निर्णयको आवश्यकता रहेको भन्दै पार्टी केन्द्रीय सचिवालयलाई ‘कन्भिन्स’ गर्न उनलाई सजिलो भयो।

अर्काेतिर, एमालेको दोस्रो पुस्ताका नेताहरुबीच देखिएको प्रतिद्वन्द्विताका कारण पनि ओलीले बिनाव्यवधान यो निर्णय गराए। ७० वर्षे प्रावधान कायम रहँदा ओलीपछिको एमाले नेतृत्वको सम्भावित अनुहारमा विष्णु पौडेल र शंकर पोखरेललाई हेर्ने गरिएको थियो।

यी दुईबीचको प्रतिद्वन्द्विता दसौँ महाधिवेशनमा को महासचिव बन्ने भन्ने विवादले छर्लङ्ग पारेको थियो। ओलीपछि एकले अर्काेलाई नेतृत्व (अध्यक्ष) स्वीकार गर्ने स्थितिमा हाल उपाध्यक्ष रहेका पौडेल र महासचिव रहेका पोखरेल दुवै छैनन्। अर्काे नेता अध्यक्ष बन्नुभन्दा बरु ओलीले नै नेतृत्वमा निरन्तरता पाऊन् भन्ने उनीहरुको मनसाय रह्यो। यही प्रतिद्वन्द्विताको फाइदा उठाउँदै नेतृत्वका लागि बाधक बन्न पुगेको ७० वर्षे उमेर हद हटाउन ओलीलाई सहज भयो।

एमालेको यो निर्णयबाट अब कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि लाभान्वित हुने देखिएको छ।

देउवा २०५२ यता ५ पटक प्रधानमन्त्री बनिसकेका छन् भने तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड २०४६ देखि महामन्त्री र २०५७ देखि अध्यक्ष गरी ३४ वर्षदेखि माओवादी नेतृत्वमा छन्। उनीहरु अझै पनि नेतृत्व छाड्ने मुडमा छैनन्।

एमालेमा जस्तो कांग्रेस र माओवादी केन्द्रमा उमेर हदको प्रावधान छैन। कांग्रेसमा दुई पटकभन्दा बढी पार्टी सभापति बन्न नपाइने प्रावधान छ। तर, एमालेको यो निर्णयको असर कांग्रेस र माओवादी केन्द्रमा पनि पर्नसक्ने जानकारहरु बताउँछन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्