नेपालमा के चाहन्छ चीनः यस्तो छ माओवादीको प्रतिनिधि मण्डलमार्फत पठाएको सन्देश – Janadesh Daily | ePaper

नेपालमा के चाहन्छ चीनः यस्तो छ माओवादीको प्रतिनिधि मण्डलमार्फत पठाएको सन्देश


जनादेश वाच।

गत पुस १० गते नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि चीन उत्साहित देखिन्थ्यो। प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चीनले ‘चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्न’ विज्ञहरुको टोली पुस १२ गते नेपाल पठायो।

चिनियाँ दूतावासले चीन-नेपाल अन्तरदेशीय रेलमार्गलाई ‘नेपाल र चीनबीच बीआरआई निर्माणको अभिन्न अंग’ भएको पनि बताएको थियो। त्यसको पाँच दिनपछि पुस १७ गते चिनियाँ कम्पनीले बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरियो। चीनले उक्त विमानस्थललाई बीआरआई परियोजना अन्तर्गतको आयोजना भनेर व्याख्या गर्‍यो।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा नयाँ सरकार बनेपछि चीनले उत्साह देखाएको थियो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले २६ डिसेम्बर (११ पुस)मा नियमित पत्रकार सम्मेलनमार्फत नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘पुरानो मित्र तथा छिमकी राष्ट्र नेपालसँग चीनको सम्बन्धले गहिरो अर्थ राख्छ। हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न र सहकार्य गर्न तयार छौं।’ उनले ‘बेल्ट एन्ड रोड कोअपरेसन’ लाई अघि बढाउने, विकास र समृद्धिसँगै दुई देशका जनतालाई लाभ पुग्नेगरी रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गर्नेजस्ता विषयमा नेपाल सरकारसँग सहकार्य गर्न चाहेको बताएकी थिइन्।

चीनले नेपालका कम्युनिस्टहरु मिलुन् भन्‍ने शुभेच्छा सधैं राख्‍ने गरेकै छ, जसलाई नेपालका वामपन्थी विश्लेषकहरुले स्वाभाविक बताउने गरेका छन्। तर, उक्त गठबन्धन लामो टिक्न सकेन र माओवादीले कांग्रेससँग मिलेर अघि बढ्ने रणनीति अनुसार राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमालेले फागुन १५ गते आफ्नो समर्थन फिर्ता लियो।

आफ्नो भारत भ्रमणअघि ९ जेठमा राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘उत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो। तर, त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन। चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, यहाँ गठबन्धन बन्‍ने-भत्किने प्रक्रिया देखेपछि उहाँहरूले सरकारको अप्ठ्यारोलाई बुझेर मलाई तपाईं निकै अप्ठ्यारो अवस्थामा हुनुहुन्छ। बोआओ फोरममा जान सम्भव देखिराख्या छैन हामीले अलि पछि गरौं कि क्या हो? चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझ्दिनुभएकोमा धन्यावाद भनेको हुँ। त्यसकारण मैले रोकेको भन्ने कुरा सत्य होइन।’

तर, चीनले यस कुरालाई नोटिसमा लिएको बताएको थियो। चीनलाई नराम्रो नलागोस् भनेर नै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणअघि चीन पठाएको माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्‍निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीन पठाएका थिए। उक्त टोलीले भारतकै भ्रमण गर्ने पुरानो प्रथामा कुनै क्रमभंग गर्न नसकेकोमा सत्तारुढ माओवादीले चिनियाँ कम्युनिष्ट पार्टीलाई आफ्नो सद्भाव र परिस्थिति बुझिदिन अपिल गर्न चीन पठाएको हुन सक्ने चर्चा पनि नेपाली विश्लेषक वृत्तमा चलेको थियो।

करिब दुई साताको चीन बसाइपछि माओवादी उपाध्यक्ष नेतृत्वको टोली जेठ १९ गते स्वदेश फर्किएको हो। उनले नेपालको सत्तारुढ पार्टीसँग आगामी सम्बन्ध र नेपाल सरकारले लिने विकासको नीतिमा सहयोग गर्ने चीनले प्रतिबद्धता गरेको समेत बताएका थिए। नेपाल फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी उपाध्यक्ष सापकोटाले भने, ‘चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण, सौहार्द्रपूर्ण र घनिष्ठ बनाउँदाखेरि नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौं। विश्व शान्तिका लागि चीनले जो पहल गरिरहेको छ, यसमा हाम्रो पनि स्वाभाविक रुपमा पहलकदमी हुनुपर्नेछ। शान्ति प्रक्रिया लगायतका कुराहरु पनि महत्वपूर्ण विषयका रुपमा अघि आएको हुनाले त्यस सम्बन्धमा व्यापक, विस्तृत छलफल भएको छ। चीनले नेपालको शान्ति प्रक्रियाको बाँकी काममा सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ।’

माओवादीका सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्यसमेत सहभागी टोलीले तिब्बत, बेइजिङ र हुबेइ प्रान्तको भ्रमण गरेको थियो। माओवादी नेताहरुको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग औपचारिक भेटघाट र कुराकानी गरेको थियो। छाओले यसअघि विदेश विभाग प्रमुख नियुक्त भएलगत्तै पहिलो भ्रमण नेपाल गरेका थिए।

माओवादीको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख छाओसँग राजधानी बेइजिङमा जेठ ११ मा भेटवार्ता गरेको थियो। उपाध्यक्ष सापकोटासँग एक्लै र त्यसपछि पदाधिकारीसहित भएको भेटवार्तामा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको उक्त टोलीका एक सदस्यले जानकारी दिए। ती सदस्यले भने, ‘चीनले नेपालसँग विशेष सम्बन्ध विकास गर्न इच्छा व्यक्त गरेको छ।’

त्यसैगरी सन् २०१७ मा प्रचण्ड नै प्रधानमन्त्री भएको समयमा सम्झौता भएको बीआरआई परियोजना अघि बढाउन पनि नेपालमा माओवादी नेतृत्वको सरकार भएको समयमा पहल गर्नुपर्ने धारणा व्यक्त गरेको बताइएको छ। ती सदस्यले भने, ‘चीनले यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा नै सम्झौता भएको बीआरआई परियोजनालाई अघि बढाउन अहिले उपयुक्त समय भएकोले, त्यसमा पनि सरकार र माओवादीलगायतका कम्युनिस्ट दलहरुको भूमिका महत्वपूर्ण हुने सीपीसीका विदेश विभाग प्रमुखले विचार व्यक्त गर्नुभएको थियो।’

त्यसैगरी नेपाललाई दक्षिण एसियाको ‘गेटवे’ बनाउन लागिरहेको चीनले अब तिब्बतको पूर्वाधार संचरना तयार भइसकेको र नेपालले पनि आफ्नो पूर्वाधार विकासमा तिव्रताका साथ लाग्‍नुपर्ने चिनियाँ पक्षको आग्रह रहेको छ।

भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले चाँडै चीन भ्रमण गर्ने माओवादी उपाध्यक्ष सापकोटाले जानकारी गराएका छन्। उनले भने, ‘पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको सल्लाहमा नै चीन भ्रमणमा गएका थियौं। मैले चिनियाँ चिनियाँ प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीको भ्रमणबारे कुरा गर्दा राष्ट्रपतिसमेत रहनुभएका महासचिव सीलाई भन्छौं भनेर भन्नुभएको छ। त्यसलाई सकारात्मक रुपमा लिएको हामीले बुझेका छौं।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्