व्यावसायिकरूपमा सञ्चालनमा आएको ६ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ। चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान अवतरण गरेको हो।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेसनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका छन्।
चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।
चीनको छेन्दुबाट आकाश मार्गको २ हजारभन्दा लामो दुरी तय गर्दै आएको सिचुवान एयलाइन्सको विमानको गन्तव्य थियो कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। किमाथाङ्का हुँदै तिब्बतबाट नेपाल छिरेको सिचुवान एयरलाइन्सको एयरबस ए(३१९ को यो यात्रा नेपालको हवाई उड्ययनका लागि विशेष भएकाले यस क्षेत्रका लागि विशेष चासोको विषय हुनु स्वभाविक थियो। किनकि कुनै पनि अन्तर्राष्ट्रिय विमान पहिलो पटक पर्यटकीय नगरी पोखरामा अवतरण हुँदै थियो।
पर्यटनमन्त्री किराँतीका लागि चीनबाट भएको यो उडानको विशेष अर्थ पनि छ। प्रचार रुचाउने उनका लागि देखाउन सकिने कामको सूचीमा यो उडान पनि थपिएको छ। सोसल मिडियामा उनले त्यसबारे लेखेका पनि छन्।