जनादेश अन्तर्राष्ट्रिय वाच।
ग्राहम एलिसन
अप्रिलमा जब भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बन्यो, तब विश्लेषकहरुको मनमा प्रश्न उठ्यो– के बेइजिङलाई उछिनेर नयाँ दिल्ली अर्को महाशक्ति बन्ला? भारतको जन्मदर चीनको भन्दा दोब्बर छ। अनि गत दुई वर्षमा भारतले आर्थिक वृद्धिदरमा पनि चीनलाई उछिनेको छ। भारतको जीडीपी पछिल्लो त्रैमासमा ६.१ प्रतिशतले बढ्दा चीनको वृद्धिदर ४.५ प्रतिशत मात्र रह्यो। झलक्क हेर्दा यी तथ्यांकहरु आशाजनक छन्।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेट गरे। यस सन्दर्भमा के भारतले चीनलाई उछिन्ला भन्ने प्रश्न झनै सान्दर्भिक बनेको छ। अमेरिकाको दृष्टिकोणले हेर्दा विश्वकै ठूलो लोकतन्त्र भारतले यदि वास्तवमै चीनलाई उछिन्न सक्ने हो भने त्यो निकै खुसीको कुरा हो। भारत चीनको स्वाभाविक शत्रु हो।
यी दुई मुलुकबीच २ हजार माइलभन्दा लामो विवादित सीमा छ, जसको सीमांकन ठिकसँगले भएको छैन। जहाँ बेलाबखत द्वन्द्व चर्किरहन्छ। त्यसैले एसियामा चीनका प्रतिस्पर्धीहरु जति ठूला र जति बलिया भए, त्यति शक्ति सन्तुलन अमेरिकाको पक्षमा हुने सम्भावना बढ्छ। तर, भारत तीव्र गतिमा उदाउँदैछ भन्ने भाष्यलाई भित्रैदेखि स्वीकार गर्नुअघि केहीबेर अडिएर हामीले चार तीता सत्यमाथि सोचविचार गर्न जरुरी छ।
पहिलो, विगतमा भारतको उदयको विषयमा विश्लेषकहरुको मत गलत साबित हुँदै आएको छ। १९९० को दशकमा विश्लेषकहरुले भारतको बढ्दो र युवा जनसंख्याको प्रभावबारे बढाइचढाइ गरे। त्यो जनसंख्याले आर्थिक उदारीकरणलाई तीव्र पार्ने र ‘आर्थिक चमत्कार’ ल्याउने बताइएको थियो।
अमेरिकाका सबैभन्दा विचारशील भारत विश्लेषकमध्ये एक फरिद जकारियाले हालै वासिङ्टन पोस्टमा प्रकाशित स्तम्भमा आफू २००६ मा भारतप्रतिको उत्साहको दोस्रो लहरमा फस्न पुगेको उल्लेख गरेका छन्। त्यतिखेर डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमले भारतलाई ‘विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको खुला बजार लोकतन्त्र’ भनेर प्रशंसा गरेको थियो। अनि तत्कालीन भारतीय व्यापारमन्त्रीले भारतको अर्थतन्त्रले केही समयमै चीनको अर्थतन्त्रलाई उछिन्ने दाबी गरेका थिए। भलै भारतको अर्थतन्त्र वृद्धि भयो। तर, ती भविष्यवाणीहरु सत्य साबित नभएको जकारिया उल्लेख गर्छन्।
दोस्रो, गत दुई वर्षमा भारतले असाधारण आर्थिक वृद्धि कायम गर्नुका साथै विश्वका पाँच सबैभन्दा ठूला अर्थतन्त्रमा समेत उक्लिन सफल भएको छ। तथापि, भारतको अर्थतन्त्र चीनको तुलनामा निकै सानो छ। सन् २००० को दशकको सुरुवातमा चीनको उत्पादन, निर्यात र जीडीपी भारतको भन्दा दुईदेखि तीन गुणा ठूलो थियो। अहिले चीनको अर्थतन्त्र भारतको भन्दा करिब पाँच गुणा ठूलो छ। चीनको जीडीपी १७.७ ट्रिलियन डलर पुग्दा भारतको ३.२ ट्रिलियन डलर मात्र छ।
तेस्रो, विज्ञान र प्रविधि विकासको दौडमा भारत पछि परेको छ। जसले आर्थिक वृद्धिलाई अघि बढाउँछ। साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स (एसटीईएम) का स्नातक विद्यार्थी भारतको तुलनामा चीनले दोब्बर उत्पादन गर्छ। चीनले आफ्नो जीडीपीको २ प्रतिशत बजेट रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्छ। भारतले मात्र ०.७ प्रतिशत। आम्दानीका हिसाबले विश्वका २० सबैभन्दा ठूला प्रविधि कम्पनीमध्ये चार वटा चीनका हुन्। भारतमा एउटा पनि त्यस्तो कम्पनी छैन।
विश्वको समग्र फाइभजी पूर्वाधारको आधाभन्दा बढी हिस्सा चीनले उत्पादन गर्छ। भारतको हिस्सामा मात्र १ प्रतिशत छ। चीनमा निर्मित टिकटकलगायतका एपहरु अहिले विश्वभर सबैभन्दा बढी प्रयोगमा छन्। तर, विश्वभर प्रयोग हुने एप अहिलेसम्म भारतले बनाउन सकेको छैन।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उत्पादनको कुरा गर्दा अमेरिकाको एक मात्र प्रतिस्पर्धी चीन हो। प्रमुख प्राविधिक मापदण्डमा चीनको सेन्सटाइम एआई मोडेलले ओपेनएआईको जीपीटी–४ लाई हालै उछिनेको छ। भारत त यो दौडमा सामेल पनि छैन। एआईसम्बन्धी विश्वको सम्पूर्ण पेटेन्टको ६५ प्रतिशत हिस्सा चीनसँग छ। भारतसँग मात्र ३ प्रतिशत। २०१३ देखि २०२२ सम्म चीनका एआई कम्पनीहरुले निजी लगानीका रुपमा ९५ अर्ब डलर रकम प्राप्त गरे। भारतका कम्पनीहरुले मात्र ७ अर्ब डलर। विश्वका सबैभन्दा उच्च श्रेणीका एआई अनुसन्धानकर्ताहरु मुख्यगरी चीन, अमेरिका र युरोपका छन्। भारत यसमा पनि पछाडि छ।
चौथो, कुनै राष्ट्रको शक्तिको मूल्यांकन गरिरहँदा त्यसका नागरिकको संख्याभन्दा पनि सो मुलुकको श्रमशक्तिको गुणस्तर ज्यादा महत्वपूर्ण हुन्छ। चीनको श्रमशक्ति भारतको भन्दा ज्यादा उत्पादनशील छ। अन्तर्राष्ट्रिय समुदायले चीनको गरिबी निवारण चमत्कारमा ठूलो खुसी मनायो। जुन एकदमै सही हो। किनभने चीनले चरम गरिबी अन्त्य गरेको छ। त्यसविपरीत भारतमा गरिबी र कुपोषणको दर एकदमै उच्च छ।
१९८० मा चीनका १ अर्ब नागरिकको आम्दानी विश्व बैंकले तोकेको निरपेक्ष गरिबीको रेखामुनि थियो। आज त्यो संख्या करिबकरिब शून्य छ। तर, एक अर्ब ४० करोड जनसंख्या भएको भारतको १० प्रतिशत हिस्सा विश्व बैंकले भनेको निरपेक्ष गरिबीको रेखामुनि छन्। जो प्रतिदिन २.१५ डलरभन्दा कम आम्दानी गर्छन्। अर्कोतिर, २०१९–२१ मा भारतको जनसंख्याको १६.३ प्रतिशत हिस्साले उचित पोषण पाउन सकेको छैन। राष्ट्रसंघको पछिल्लो खाद्य सुरक्षा तथा पोषणसम्बन्धी रिपोर्टअनुसार चीनको जनसंख्याको २.५ प्रतिशत हिस्साले मात्र पर्याप्त पोषण पाएको छैन।
भाग्यवश, भविष्यले सधैँ भूतलाई नै पछ्याउँछ भन्ने छैन। तर, भनिन्छ, आशा कुनै योजना होइन। राम्रो भविष्य प्राप्त गर्न मोदीको भारतलाई सकेजति सबै सहयोग अमेरिकाले गर्नुपर्छ। तर, वासिङ्टनले एसियाका सबैभन्दा बुद्धिमान रणनीतिकारको मूल्यांकनलाई पनि विचार गर्नुपर्छ। सिंगापुरका राष्ट्रपिता तथा लामो समय सो मुलुकको नेतृत्व गरेका ली क्वान यु भारतीयहरुलाई खुब सम्मान गर्थे। लीले जहावारलाल नेहरु र इन्दिरा गान्धीसहितका भारतीय प्रधानमन्त्रीहरुसँग मिलेर काम गरे। उनको आशा थियो, भारत बलियो होला र चीनमाथि गम्भीर अंकुश लगाउला (ताकि आफ्नो सानो मुलुकलाई बच्न र हुर्किन आवश्यक स्थान प्राप्त होस्)।
तर, लीले आफ्नो मृत्युभन्दा एक वर्षअघि २०१४ मा प्रकाशित अन्तार्वार्ताहरुको शृंखलामा के निष्कर्ष निकाले भने उनको त्यो आशा पूरा हुने छैन। भारतमा गहिरो जरा गाडेको तथा योग्यताको दुश्मन बनेको जात व्यवस्था, भारतको विशाल कर्मचारीतन्त्र र मुलुकका धेरै वटा जातीय र धार्मिक समूहरुको प्रतिस्पर्धी दाबीहरुलाई सम्बोधन गर्न सम्भ्रान्तहरुले देखाएको अनिच्छाका कारण उनी सो निष्कर्षमा पुगेका थिए। भारत ‘राम्रो भविष्य भएको मुलुक’ भन्दा ज्यादा कहिल्यै नबन्ने र उसको त्यो भविष्य कहिल्यै वर्तमान नबन्ने उनको निष्कर्ष थियो।
त्यसैले एक दशकअघि जब मैले उनलाई भारत अर्को चीन बन्ला त भनेर सोधेँ, उनले सिधै जवाफ दिएः ‘एकै सासमा भारत र चीनको कुरा नगर्नुस्।’
लीले यस्तो फैसला गरेपछि पनि भारत नयाँ नेताको नेतृत्वमा एउटा महत्वाकांक्षी पूर्वाधार तथा विकास एजेन्डामा अघि बढेको छ। र, यो देशले उल्लेखनीय आर्थिक वृद्धि गर्न सक्ने देखाएको छ। यसपटक अलग नतिजा आउला भनेर हामी आशावादी त हुन सक्छौँ, तर लीले भारतको पक्षमा दाउ लगाउँथे भन्नेमा मलाई शंका छ।
फरेन पोलिसी डटकमबाट। लेखक ग्राहम एलिसन हार्वर्ड केनेडी स्कुलका प्राध्यापक हुन्।