जनादेश वाच।
सरकारले संशोधन विना बजेट पास गर्ने तयारी गरेको छ । आज बस्ने प्रतिनिधि सभा बैठकले बजेट पास गर्ने सम्भावित कार्यसूची छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरु माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत भएपछि बजेट पास गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।
के होला सत्तारुढ दलको असन्तुष्टि
बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरू विभाजित छन् । कांग्रेस र माओवादीले बजेट पास गराउन सांसदहरूलाई ह्वीप जारी गरेका छन् । सत्ता साझेदार अन्य दलहरूले भने के गर्ने भन्ने निर्णय गरिसकेका छैनन् । बजेटमा एकीकृत समाजवादीको चर्को असन्तुष्टि छ । जसपा पनि विधान अधिवेशनमा व्यस्त छ । उसले पनि प्रस्ट धारणा ल्याइसकेको छैन । बजेट पारित हुन सामान्य बहुमत भए पुग्छ । १३८ सांसदको समर्थन भए बजेट पारित हुन्छ । सरकारसँग कांग्रेसका ८७, माओवादीका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपा, नागरिक उन्मुक्ति पार्टीका ४–४ जनमोर्चाका एक सांसद छन् ।
यही अवस्थामा बजेट पास हुन नदिने बताएको एकीकृत समाजवादीले बजेटको विपक्षमा मत हाले पनि पक्षमा १३८ मत पुग्ने अवस्था छ । त्यसका लागि जसपा, जनमत, लोसपा लगायतका दलहरूले मत दिनुपर्छ । एमालेका ७९, रास्वपाको २१, राप्रपाको १४ नेमकिपा १ लागयतका सांसदहरू बजेटको विपक्षमा हुनेछन् । ‘जनताको हितमा नभएको बजेटको पारित गर्ने पक्षमा हामी छैनौँ । हामी प्रतिपक्षी दल हौँ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छौँ,’ रास्वपा सचेतक सन्तोष परियारले भने ।
बुधबार साढे १० बजे संसदीय दलको बैठक बस्ने छ । बजेटमा असन्तुलन भएको र त्यसलाई सन्तुलन गराउने कुरा प्रधानमन्त्री र अर्थमन्त्रीबाट प्रतिबद्धता आउनुपर्ने उसको माग छ अर्थमन्त्रीले संसदमा बजेट परिवर्तन गर्छु भन्ने बोलीको रेकर्ड राखे बजेटको पक्षमा भोट हाल्ने नत्र नहाल्ने एकीकृत समाजवादीको तयारी छ । ‘बजेट निर्माण ठीक ढंगले हुँदै आएको छैन । अर्थमन्त्रीले बजेट बनाउँछन् उनी जमिनदार, राजा, महाराजा जस्तो छन् । उनले जे भन्यो त्यही कुरा हो भनेजस्तो भयो,’ एकीकृत समाजवादीका संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले भने, ‘निर्वाचित सांसदले आफ्नौ क्षेत्रको नेतृत्व गर्ने गरी विकास बजेटमा छलफल हुनुपर्छ । जनताले भोट दिएर के का लागि जिताए ? विकास निर्माणकाको पनि ऊ एक प्रतिनिधि हो । बजेट बनाउने प्रणालीमा परिवर्तन नगरेसम्म भोट हालेर काम छैन । बजेट परिवर्तन गर्छु भनेर अर्थमन्त्रीले संसदमा रेकर्ड हुनेगरी बोले भने पक्षमा भोट हालिन्छ नत्र हालिदैन ।’
सांसदले विकास परियोजनालाई बजेट पार्न निवेदन दिएर मन्त्रालय धाउनुपर्ने अवस्था रहेको उनले बताए । ‘बजेट निर्माणमा सांसद र मन्त्री बराबर हुन् । यो परिपाटीको अन्त्य हुनुपर्छ,’ पाण्डेले भने । बजेट पारित गर्न के गर्ने भन्ने निर्णयमा जसपा पनि पुगेको छैन । उसले पनि बुधबार बिहान मात्र निर्ण गर्नेछ । तर ऊ बजेट पारित गर्न सकरात्मक छ । ‘हामी सकरात्मक छौँ । बुधबार बिहान निर्णय लिन्छौँ,’ जसपा प्रमुख सचेतक प्रदीप यादवले भने । अर्थमन्त्री डा. प्रकाशशण महत भने बजेट संसोधन नहुने र पास हुनेमा ढुक्क छन् । मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधिभित्र रहेर पास हुने बताए ।
‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन । थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । हाम्रो सम्भावित स्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो । अहिले आएको बजेट पुर्याउन पनि धेरै मेहनत गर्नुपर्छ । आवश्यकताअनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो’, उनले भने, ‘तर उहाँहरूले थोरै साधन स्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु । उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ । विधिभित्र रहेर काम गर्नेछौँ ।’