जनादेश मार्केट वाच।
चिनियाँ विद्युतीय सवारीको ब्रान्ड बीवाईडीले विश्वव्यापी बजारमा टेस्लाको प्रभुत्वलाई चुनौती दिन थालेको छ । चीनको शेन्जेनमा २८ वर्षअघि बीवाईडीको यात्रा सुरु भएको थियो ।
सन् २०२३ को पहिलो त्रैमासिकमा विद्युतीय र ‘हाइब्रिड’ गरी बीवाईडीले पाँच लाख ४७ हजार ९१७ गाडी बिक्री गरेको छ । यो अवधिमा टेस्लाले चार लाख २२ हजार गाडी मात्र बिक्री गरेको छ ।
बीवाईडीको पूरा रूप बील्ड योर ड्रिम हो । टेस्लाविरुद्ध यसले चिनियाँ उपभोक्ताका लागि किफायती विद्युतीय गाडी उत्पादन गरिरहेको छ । शेन्जेनमा बीवाईडीले अहिले पूर्ण रूपमा विद्युतीय सार्वजनिक बस र ट्याक्सी समेत उत्पादन गरिरहेको छ ।
अमेरिकी अर्बपति वारेन बफेटले पनि समर्थन गरेको बीवाईडीले घरेलु बजारको सफलतापछि विश्वव्यापी रूपमा पकड जमाउन थालेको हो । २०२२ मा बीवाईडीले ५६ हजार गाडी निर्यात गरेको थियो । २०२३ को मेसम्म यसले १० हजार गाडी निर्यात गरिसकेको छ ।
अमेरिका–चीनबीच बढ्दो व्यापारिक तनावबीच बीवाईडीले अहिले अमेरिकालाई आफ्नो बजारका रूपमा लक्षित गरेको छैन । कम्पनीले हाल सिंगापुर, थाइल्यान्ड, जापान, अष्ट्रेलिया, नर्वे, जर्मनी, ब्राजिल, कोस्टारिका र मेक्सिकोलगायत देशमा गाडी बेचिरहेको छ । बीवाईडीका गाडी नेपालमा समेत उपलब्ध छन् ।
नेपालमा बीवाईडीको एटीटीओ ३ (अट्टो थ्री) गाडी तीन भेरियन्टमा उपलब्ध छ । १०० किलोवाट क्षमताको बीवाईडी एटीटीओ ३ एड्भान्स ट्रिमको प्रतिमूल्य नेपालमा ५५ लाख ९९ हजार रुपैयाँ छ । १०० किलोवाट क्षमताकै बीवाईडी एटीटीओ ३ सुपेरियर ट्रिमको मूल्य ६५ लाख ८८ हजार छ । १५० किलोवाट क्षमताको बीवाईडी एटीटीओ ३ को मूल्य ८१ लाख ९९ हजार रुपैयाँ छ ।