मौसमी प्रक्षेपणः मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमाथि, तीन दिन पानी पर्ने – Janadesh Daily | ePaper

मौसमी प्रक्षेपणः मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमाथि, तीन दिन पानी पर्ने


जनादेश वेदर वाच।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमाथि सरेको छ । यो रेखा यसअघि सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित थियो । अबका तीन दिन मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यूनचापीय रेखाको सरदर स्थान भनेको भारतको गंगानगर, इलाहाबाद र कोलकातामाथिको आकाश क्षेत्र हो ।

“हिजोसम्म मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ थियो, आजदेखि सरदर स्थानमाथि सरेको छ,” उनले भने, “न्यूनचापीय रेखा सरदर स्थानमा रहँदा मध्य भारतमा धेरै वर्षा हुन्छ ।”

सो रेखा उत्तरतर्फ सरेपछि नेपालमा धेरै पानी पर्ने उनले बताए । तर, हिजोअस्तिको तुलनामा आज देशमा धेरै पानी परेको छ । भोलि र पर्सि पनि आजकै जस्तो अवस्था रहने उनले जानकारी दिए । आज तुलनात्मक रूपमा बढी वर्षा हुनुमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायु मुख्य कारण रहेको उनले बताए । यो मनसुनभित्रकै एउटा प्रणाली भएको उनको भनाइ छ ।

“बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण अलि बढी पानी परेको हो । यो मनसुनकै एउटा प्रणाली हो,” उनले भने, “त्यसको प्रभाव बढी गण्डकी र वाग्मती प्रदेशमा परेको छ ।”

उनका अनुसार अबका तीन दिन मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने सम्भावना देखिएको छैन । सो रेखा उत्तर अर्थात् नेपालतर्फ सरेको अवस्थामा मात्र देशैभर धेरै र निरन्तर वर्षा हुने मौसमविद्को भनाइ छ ।

“अबका तीन दिनसम्म मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै रहने देखिन्छ,,” उनले भने, “आज हेर्दा त्यो स्थिति छ । हामी दैनिक अध्ययन गर्छौँ, भोलि पनि हेर्छौँ ।”

तीन दिनसम्म सो रेखा सरदर स्थान आसपास नै रहे पनि त्यसपछि विस्तारै नेपालतर्फ सर्ने सम्भावना भएको मौसमविद् प्रधानाङ्गले बताए ।

महाशाखाकै अर्का मौसमविद् विनु महर्जनले आज देशका सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको बताइन् । केही स्थानमा भारी वर्षा समेत मापन गरिएको उनले जानकारी दिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्