नेकपा अध्यक्षद्वयलाई भेटेर देउवाले तीन विषयमा गम्भीर ध्यानाकर्षण गराए – Janadesh Daily | ePaper

नेकपा अध्यक्षद्वयलाई भेटेर देउवाले तीन विषयमा गम्भीर ध्यानाकर्षण गराए


जनादेश, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लिदि पहिरोमा परी ज्यान जानुका साथै कयौं बेपत्ता भएको घटनामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभापति देउवाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । बैठकमा संवैधानिक निकायहरुमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठकको विषय लगायतबारे छलफल भएको थियो ।

संवैधानिक परिषद्को सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग कांग्रेस नेता रमेश लेखक सहभागी थिए भने नेकपाबाट दुई अध्यक्षसँगै पूर्व सभामुख सुवास नेम्वाङ सहभागी थिए । सभापति देउवाले भेटघाटको शुरुमै ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जसअनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पहिरोबारे गाउँबासीले १० दिनअघिदेखि नै गुहार माग्दा पनि उनीहरुलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नदिनु अत्यन्तै दुःखद भएको देउवाको भनाइ छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भन्दै देउवाले प्रश्न गरेका थिए ।

यस्तै दशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको तर सरकारको भूमिका सन्तोषजनक नदेखिएको देउवाले जनाएका छन् । त्यसै गरी कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको र संक्रमण तीब्र गतिमा बढेको भन्दै देउवाले बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार असफल रहेको बताए । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार गम्भीर हुनुपर्नेमा देउवाको जोड थियो ।

यसैगरी त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेको, निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पूर्वाग्रह बढी देखिएको, प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका कतिपय विद्यार्थीलाई थुनामा राखिएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्