बैतडीमा पहिलोपटक अडियो नागरिक बडापत्र सञ्चालनमा    – Janadesh Daily | ePaper

बैतडीमा पहिलोपटक अडियो नागरिक बडापत्र सञ्चालनमा   


बैतडी,   

बैतडीमा अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा जानकारी दिनेमा मालपोल कार्यालय पहिलो बनेको छ । मालपोत कार्यालयले अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा सोमबारदेखि जानकारी दिन थालेको छ ।

कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सबै नागरिकले थाहा पाऊन् भनेर अडियो सूचना बोर्ड सञ्चालनमा ल्याएको हो ।

कार्यालयले दिने सेवाका बारेमा अडियो सूचना बोर्डले डोटेली र नेपाली भाषामा जानकारी दिने गरेको कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले जानकारी दिनुभयो ।

कार्यालयले अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि निरक्षर सेवाग्राहीलाई पनि सजिलो भएको जिल्ला मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले जानकारी दिनुभयो । मालपोत कार्यालयले नामसारी, अंशवण्डा, रजिष्ट्रेशन, रोक्का, फुकुवालगायतका सेवा दिने गरेको छ ।

यस्तै कार्यालयले दानपत्र, हालको बकसपत्र, शेषपछिको बकसपत्र, दाखिला, खारेज, संशोधनलगायतका सेवा दिने गरेको छ । यी सबै सेवाका बारेमा अडियो नागरिक बडापत्रमार्फत जानकारी दिन थालिएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

अडियो नागरिक बडापत्रको सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला मालपोत कार्यालयका प्रमुख भट्टले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्