बामाको, माली:
मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।
सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उहाँले राजीनामा दिनु भएको सामाचार सार्वजनिक भएको हो ।
उहाँले मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताउनु भएको अल जजिराद्वारा प्रेषित समाचारमा उल्लेख छ ।
“आज सेनाले हस्तक्षेपको आवश्यकता रहेको निर्णय गरेछ, त्यसपछि मैले आफू शक्तिमा रहनका लागि रक्तपातपूर्ण अवस्था रोज्ने कि शक्तिमा नभए पनि शान्ति रोज्ने भन्ने विकल्प आयो, मैले शान्तिपूर्ण बाटो रोजेको छु,” उहाँले भन्नुभएको छ ।
उहाँको वक्तव्यलाई उद्धृत गर्दै राष्ट्रिय टेलिभिजनले केयटाले पद त्यागको घोषणा गर्दै सरकार र संसद् पनि भङ्ग गरेको समाचार प्रसारण गरेको छ ।
केयटा दोस्रो कार्यकालका लागि सन् २०१८ मा चुनावबाट मालीको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । रासस/एएनआई