हरितालिका : तीजको हार्दिक शुभ कामना – Janadesh Daily | ePaper

हरितालिका : तीजको हार्दिक शुभ कामना


हरितालिका तीज जन्मनुपूर्व देखि मृत्युपश्चात् पनि आर्यसंस्कृतिमा निरन्तर आदिम कालबाटै चलिआएको पर्व हो । अझै अनन्तकालसम्म चलिरहने यसका विशेषता पाइन्छन । यो मितिदेखि चलेको र यो मितिसम्म चल्ने छ, आँकलन संभव छैन ।

हाम्रा परम्परा, संस्कार, संस्कृति रितिरिवाज पर्वहरु चल्दैै जानेछन् । मानव समाजको अस्तित्व पृथ्वीमा रहेसम्म यी सास्कृतिक पर्वहरुको उत्तिनै महत्व रहिरहनेछ । मानिस अन्य प्राणीभन्दा उत्कृष्ठ भएकैले समाज व्यवस्थित रुपमा विकसित हुन यी सास्कृतिक मुल्य मान्यताका पर्वहरुको महत्व हुन्छ । हिन्दु आर्यसस्कृतिमा मात्र हैन, अन्य धर्मालम्बीले सांस्कृतिक पर्वहरु माने जस्तै हिन्दु महिलाले तीजलाई उत्कृष्ठ पर्वको रुपमा मानिन्छ ।

यसका समयानुकुल केही परिवर्तनहरु हाम्रा हजुरआमा आमाहरुले गाउने मनाउने पद्धतिमा परिवर्तन देखिन्छ । पहिले शुद्ध भगवान शिवपार्वतीको आराधनामा निरहार व्रत बसी मनाइन्थ्यो भने अहिले खाना खाई ब्रत नबसी पनि मनाइन्छ । यसको आधारभूत मूल्यमान्यतामा परिवर्तन भएको भने पाइँदैन । शिव पार्वतीकै नाममा अहिले पनि ब्रत बस्न, भाद्र शुक्ल पक्षमा तीजकै दिनमा गरिने गर्नाले मूलचरित्र परिवर्तन भएको पाइँदैन ।

हरितालिका तीज हिन्दु धर्मालम्बीले मात्र नमनाई अन्य बौद्ध धर्मालम्वी समेत समावेश भइ मनाएको पाइन्छ । यो पर्वले भिन्न वर्ग, समुदाय, सम्प्रदाय, जात, जाति, भाषा, धर्म, संस्कृतिका समाजलाई जोड्ने भातृत्व सहिष्णुता ल्याई समाजलाई एकत्व प्रदान गर्न निक्कै महत्व रहेको पाइन्छ ।

१. धार्मिक पृष्ठभूमि:

आर्यसंस्कृतिमा महिलाहरुको धार्मिक दृष्टिकोणले पनि निक्कै ठूलो महत्व भएको पाइन्छ । हामीले राधा, सीता, काली, महाकाली, दुर्गा,लक्ष्मी, सरस्वती, भृकुटीहरुको विशेष उल्लेखनीय स्थान रहेको छ । त्यसैले जगद्धात्री, मातृत्व, स्रष्टत्वरुपा, गृहलक्ष्मी जस्ता विशेषण शब्दले सम्मानपूर्वक पुकारिन्छ ।

स्वर्गच्यूत पतिलाई पुनः स्वर्गमा प्रतिष्ठित गराउन, दीनहीन पतिकुलमा विवाहितले पनि आफ्नो शिल स्वाभाव, सौजन्य, उदारताले पति परमेश्वर, घर, स्वर्ग, धन, धान्य, सुख संवृद्धिको वर्षा गराउँछन् । हाम्रा ईश्वर पनि अर्धनारीश्वर हुन्, विवाहित महिलाको धारणा हुन्छ । कन्या केटीले पति प्राप्त सौभाग्यवती महिलाहरुको मनोइच्छा पुरा गर्ने पर्वको रुपमा मानिन्छ ।

तीज पर्व भगवती पार्वतीको व्रत हो । शिव पार्वतीको शास्त्र विधिअनुसार पार्थिव पूजन, पुराण कथा, कृतन गरी सफल दाम्पत्य जीवनको कामना गरिन्छ । त्यती मात्र होइन, नक्षत्रहरुमा चन्द्रमा, ग्रहहरुमा सूर्य, नदिहरुमा गंगा, इन्द्रीयमा मन र पुराणमा महाभारत श्रेष्ठ भए झैं व्रतहरुमा सर्वश्रेष्ठ तीजले सम्पूर्ण दुःख नाश गरी अचल सौभाग्य दिई मोक्ष प्राप्त गर्दछ ।

यसको ब्रत कथा सुने अश्वमेध यज्ञ गरे बराबरको फल पाइन्छ भन्ने विश्वास छ । शिवजीलाई पाउन पार्वती हावा, पात, कन्दमूल खाएर कठोर तपस्यामा रहेकीलाई नारदले विष्णुका लागि माग्दा पार्वतीका सुखहरुले हरण गरी वनान्तरमा लगेकाले हरितालिका तीज मान्दै आएको मानिन्छ । पार्वतीले भाद्र शुक्ल तृतियाको दिनमा वालुवाको शिव मूर्ति बनाएर पुज्दा शिवजी प्रकट भई पार्वतीले इच्छाएको वर प्रदान गरेकोले शिव पार्वतीले प्राप्त गरिन् ।
यसरी शिव पार्वतीको विवाहले दाम्पत्य जीवन सुखमय समवृद्ध भएकाले … …

पिता च पार्वती देवी पिता देवो महेश्वरः ।
बान्धवाः शिवभक्ताश्च स्वदेशो भुवनत्रयम् ।।

यसरी पार्वतीलाई आमा र ईश्वरेश्वर शिवलाई पिता मान्दै आएको धार्मिक प्रचलन हो । यस अर्थमा पनि हरितालिका तीजको निक्कै महिमा हुँदै आएको पाइन्छ । यसरी पर्वहरुमा हरितालिका तीजको विशेष महत्व रहिआएको छ ।

२. वैदिक शास्त्रीय मान्यता : यजुर्वेदको १८औ अध्यायको छैठौं मन्त्रको भाव छ….

यस यज्ञका कर्मफलले उत्तम कर्म, अमृततत्व आदि प्राप्त होउन । यक्षआदि विभिन्न किसिमका रोगका साथै अभाव, अनिकाल हटून् । रोग प्रतिरोधक क्षमता बढोस् र हामीमा आरोग्यता, क्षमता, आयू बढोस् । हाम्रा शत्रु मासिऊन्, हामीभित्र निर्भयता, आनन्द, सुख प्राप्त होस् ।

हामीलाई शयन, सन्धयोपासनाका लागि उचित प्रभात र उत्तम दिन धेरै उपलब्ध होऊन भन्ने मूल आशयलाई ग्रहण गरी हेर्दा हरितालिकाजस्ता पर्वमा उपवास बस्दा शरीर स्वस्थ हुने, कृतन, नाजगानले व्यायमको प्राचुर्यता हुने, सम्बन्ध जोडिने, धार्मिक आस्थाले प्राकृतिक प्रेम बढ्ने, हिंसाको अन्त्य, सामाजिक मूल्यमान्यताको विकास गरी सुसंस्कृत हुने, उच्च आर्दश चरित्रको निर्माण समेतले बताउँछ कि हाम्रो वर्णाश्रम धर्ममा श्रम गर्न सिकाउने गर्दछ ।

३. हरितालिका तीजको महत्व स् धेरै समाज शास्त्रीहरुले समाजलाई सुव्यवस्थित गर्न विभिन्न समयकालमा विभिन्न सिद्धान्तको जन्म हुदै आयो । कुनै दिन उच्च आर्दशको समाज हुँदा धार्मिक आस्थाले मात्र पनि समाज व्यवस्थित गर्न सफल भएको छ ।

वैदिककालिन समाज धर्मशास्त्रका आधारमा चलेको देखिन्छ भने पछिल्ला समयमा धर्म शास्त्रले मात्र नपुगी धर्म शास्त्रका मूल्यमान्यतालाई धार्मिक भावले कानूनको जन्म भएको पाइन्छ । मानव न्यायशास्त्र संसारको पहिलो संहिता कानून त्यसैमा आधारित थियो । वि.स.१९१० राजा सुरेन्द्रको पालाको मुलुकी ऐनले निक्कै समयसम्म शासन संचालन गर्नमा सहयोग गरेको पाइन्छ ।

वर्तमान समयमा विगतका जस्तो धार्मिक आस्था र विश्वासले समाज शासित हुन नसक्ने भएकै कारण नेपालको संविधान २०७२ को धारा ४८ले नागरिकका कर्तव्य भनी लेख्नु नै पर्ने संवैधानिक परिस्थिति निम्तायो । तैपनि हाम्रा पर्व संस्कार संस्कृतिले जति धेरै महत्व राख्दछन्, त्यति कानूनले लिन सकेको छैन ।

त्यसैले भन्ने गरिन्छ मनुस्मृतिमा ‘मूर्खभन्दा ग्रन्थ पढने श्रेष्ठ हुन्छन्, ग्रन्थ पढ्नेभन्दा पढेका कुरालाई धारण गर्ने श्रेष्ठ हुन्छन्, धारण गर्ने भन्दा ज्ञानी श्रेष्ठ हुन्छन् र ज्ञानीहरुमा पनि निष्काम कर्म गर्ने श्रेष्ठ हुन्छन्’ भनिएजस्तै हाम्रो हरितालिका तीजको समाजमा आफ्नै मौलिक महत्व भएको हुँदा आजको हरितालिका तीजमा संसारभरिका सबै दिदीबहिनीलाई जोड्न सफल रहोस् मेरो पनि तीजको हार्दिक शुभकामना !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्