विपद् प्रतिकार्यमा लाग्न प्रजिअलाई मुख्यमन्त्रीको निर्देशन – Janadesh Daily | ePaper

विपद् प्रतिकार्यमा लाग्न प्रजिअलाई मुख्यमन्त्रीको निर्देशन


कर्णाली,

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को नियन्त्रण, रोकथामलगायत विपद् प्रतिकार्यका काममा सक्रियतापूर्वक लाग्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले भर्चुअल बैठकबाटै आज कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रजिअलाई निर्देशन दिँदै उहाँले पछिल्लो समय लक्षणसहितको सङ्क्रमण बढेकाले उच्च सतर्कताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“कर्णालीमा ज्येष्ठ नागरिक, दम तथा दीर्घरोगीहरुको संख्या धेरै छ”, उहाँले भन्नुभयो, “लक्षणसहितको सङ्क्रमण समुदायमा पुगेमा मृत्युदर बढ्न सक्छ ।” कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसँग अनिवार्य पिसिआर रिपोर्ट माग गर्ने निर्णय गरेको बताउँदै उहाँले निर्णयको कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन गर्नुभयो ।

उहाँले जिल्लामा कुनै पनि बेला हुने मेला, महोत्सव, भेला तथा राजनीतिक भेला, बैठक र भीडभाड हुने गतिविधि रोक्न निर्देशन दिनुभयो । जिल्ला विपद् व्यवस्थापन केन्द्र (डिसिएमसी) बैठकबाट स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रदेश सरकारले जिल्ला अस्पतालमा अक्सिजन, कम्तीमा एउटा भेन्टिलेटर र पाँचदेखि सात सघन उपचार कक्ष शय्या व्यवस्था गर्न लागेको जानकारी उहाँले दिनुभयो । मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहत तथा पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन कुनै घटना भएमा आवश्यक समन्वय गरी तत्काल रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो ।

हिमाका ५१ कोरोना सङ्क्रमित गाउँमै

कोरोना सङ्क्रमण पुष्टि भएको २० घण्टासम्म हिमा गाउँपालिका जुम्लाका ५१ सङ्क्रमितलाई आइसोलेशनमा पु¥याइएको छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आरटी पिसिआर गर्दा बिहीबार मात्रै ५१ जना हिमा गाउँपालिका र सो गाउँपालिकासँग जोडिएको कालीकोट नाग्मका पाँच व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

यद्यपि सङ«क्रमित अहिलेसम्म गाउँमै छन् । तीन दिनअघि मात्र हिमाका कोरोना पोजेटिभ देखिएका नौ सङ्क्रमितलाई भने प्रतिष्ठानको आइसोलेशन वार्डमा राखिएको छ । अहिले प्रतिष्ठान जुम्लामा १४ सङ्क्रमित राखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले अब स्थानीय तहमा बनाइएका क्वारिन्टनलाई नै आइसोलेन बनाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिञ्जा गाउँपालिकाबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएको र त्यहाँबाट पनि सङ्क्रमित देखिए जिल्लाले थेग्न नसक्ने अवस्थालाई ध्यानमा राखी स्थानीय तहमै क्वारेन्टिन बनाउन थालिएको हो ।

हिमा गाउँपालिका जुम्लाका अध्यक्ष रजबहादुर शाहीले कोभिड केन्द्रित गाडीले भ्याउन नसके अर्को गाडी बनाएर सदरमुकामको तयारी आइसोलेशनमा सङ्क्रमितलाई पठाउन तयार हुँदा पनि जिल्ला विपद् व्यवस्थापन समितिले नल्याउन भनेपछि अन्योल भएका जनाउनुभयो । “विपद् व्यवस्थापन समितिको बैठकले मासिक रु एक लाख पचास हजार उपलब्ध गराउने गरी गाडी व्यवस्थापन गरेको छ”, उहाँले भन्नुभयो, “तर एक पटकमा नौ जना अटाउने भएकाले हिमा गाउँपालिकाले अर्को गाडी गरेर प्रतिष्ठानको आइसोलेशनमा पु¥याउने तयारी गरेको थियो ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले लक्षण भएका सङ्क्रमितलाई मात्रै प्रतिष्ठान ल्याउने निर्णय भएको उहाँले बताउनुभयो । स्थानीय तहमा आइसोलेशन बनाउने निर्णय ठीकै भए पनि सङ्क्रमितलाई तत्कालको व्यवस्थापन नगरिएकामा चौतर्फी आलोचनामा भएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्